अनखबर
२४ मंसिर २०७६,
कञ्चनपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सेती-महाकाली ब्यूरोले एक अपिल जारी गरेको छ।
क्रान्तिकारीका केन्द्रिय नेता तथा सेती-महाकाली ब्यूरोका इन्चार्ज वीरेन्द्र शाहले अपिल जारी गर्दै राष्ट्रियता निकै संकटमा परेको र शैक्षिक क्षेत्र झन आक्रान्त बनेको भन्दै सबै शिक्षक, बिद्यार्थी, अभिभावक तथा न्यायप्रेमी जनता संघर्षमा उत्रिन आग्रह गर्नुभएको छ ।
आधारभूत अधिकार समेत जनताले अनुभुति गर्न नपाएको भन्दै उहाँले एक पटक अभियानमा जुट्न सबैमा आव्हान समेत गर्नुभएको छ । अपिलमा भनिएको छ,’देशको राष्ट्रिय स्वाधीनता खतरामा छ, मानवअधिकारका सम्पूर्ण मुल्यमान्यताहरुको हरण भएको छ, नागरिकको मौलिकहक लुटिएको छ, देशका शिक्षालयहरु आधुनिक दास र विदेशीहरुका लागि कामदार जन्माउने उद्योगका रुपमा परिणत भएका छ्न। यो परिवेशमा हामी विद्यार्थी हुनुको नाताले देशको शिक्षा दुरासयपुर्ण अवस्था, आमजनमासको पीडा र राष्ट्रिय स्वाधीनताको विषयमा बुझ्न, बोल्न र संघर्षमा जुट्न हाम्रो पहिलो कर्तव्य हुन आएको छ।’
आदरणीय शिक्षक, प्राध्यापक, विद्यार्थीमित्रहरू र न्यायप्रेमी जनसमुदाय,
देश यतिबेला एकदमै संकटपूर्ण अवस्थाबाट अगाडी बढिरहेको छ। सत्ता र सरकारमा बसेकाहरुले जस्तोसुकै गणतन्त्र, लोकतन्त्र, संविधान, शान्ति, स्थायित्व, स्थिरता र सुशासनका कुरा गरेपनी अथवा सुखी नेपाली र समृद्ध नेपालको कर्णप्रिय नारा दिएपनि त्यसको ठिक उल्टो जनता दुखी नेपाली र देश कंगाल नेपालको रुपमा परिणत भएको छ। देशको राष्ट्रिय स्वाधिनता खतरामा छ, मानवअधिकारका सम्पूर्ण मुल्यमान्यताहरुको हरण भएको छ, नागरिकको मौलिकहक लुटिएको छ, देशका शिक्षालयहरु आधुनिक दास र विदेशीहरुका लागि कामदार जन्माउने उद्योगका रुपमा परिणत भएका छ्न्। यो परिवेशमा हामी विद्यार्थी हुनुको नाताले देशको शिक्षा दुरासयपूर्ण अवस्था, आमजनमासको पीडा र राष्ट्रिय स्वाधीनताको विषयमा बुझ्न, बोल्न र संघर्षमा जुट्न हाम्रो पहिलो कर्तव्य हुन आएको छ।
आदरणीय विद्यार्थी साथीहरू,
देशमा शिक्षाको अवस्था हेर्ने हो भने सरकारी शिक्षा एकदमै धरासयी बनेको छ। निजि विद्यालयहरु फस्टाएका छ्न र शिक्षाको व्यापारीकरण भएको छ। देशको शैक्षिक अवस्था हेर्नेभो भने वार्षिक ९६.९% बालबालिका विद्यालय भर्ना हुन्छ्न, नि.मा. वि. पुग्दा ८०.९% विद्यार्थी भर्ना हुन्छ्न, मा.वि. मा पुग्दा ५९.८% विद्यार्थी भर्ना हुन्छन, उ.मा.वि. मा ( पुरानो संरचना अनुसार) पुग्दा १८.२% र उच्च शिक्षामा पुग्दा १४.१०% विद्यार्थी भर्ना हुन पुग्छ्न यस्तो विशाल अन्तरले शिक्षाको डरलाग्दो र विकराल अवस्था छ र राज्यले विचमा हराउने विद्यार्थीको खोजी गर्दैन जो देशको भविष्य सङ्ग जोडिएको विषय छ। देशमा २९ हजार ३५ समुदायमा आधारित विद्यालय छ्न, ६ हजार ५५६ संस्थागत विद्यालय छ्न (२०७४को तथ्यांक) , ११ वटा विश्व विद्यालय र तिनका आङ्गिक र संबंधन प्राप्त क्याम्पसहरुको संख्या १ हजार ४ सय ८ छ तर तिनी औपचारिक शिक्षाका लागि उभिएका भवनहरु जस्तै छ्न।
सिटिईभिटी बाट मान्यता प्राप्त झन्डै १५० भन्दा माथी डिप्लोमा स्तरका र त्यस्तै टिएसएलसी स्तरका २७२ संस्थाहरु छ्न जसबाट प्राथमिक तहको सीप विकास गरेका जनशक्ति समेत कहिकतै रोजगारी पाउन सकेका छैनन र आत्मनिर्भर पनि बन्न सकेका छैनन। ती शिक्षालयहरु बाट आउँदो पुस्ताकाको भविष्य निर्माण, सक्षम, सबल, आत्मनिर्भर नागरिक बनाउन सकिएको छैन मात्रै औपचारिक शिक्षा प्रदान गरेर केही थान कागजका खोस्टाहरु प्रदान गरिएको छ। देशमा झन्डै १०० को हाराहारीमा विदेशी विश्वविद्यालय बाट संबंधन प्राप्त क्याम्पसहरु र भारतको सिबिएसई बाट संचालित १४ विद्यालय छ्न जो नेपालले जारी गरेको निर्देशिका उलंघन गरेर उल्टै राज्यलाई चुनौती दिन्छ्न र आफ्नै मनलाग्दो पाठयक्रम पढाउछ्न्।
त्यस्तै वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको संख्या पनि बढ्दै गैरहेको छ जसले नेपालको शिक्षा माथी नै प्रश्न खडा गरेको छ। पछिल्लो तथ्यांक हेर्ने हो भने ०७५/०७६ सालमा मात्रै वैदेशिक अध्ययनका लागी ९० हजार विद्यार्थी बाहिरिएका छ्न जसमध्ये ६० हजार अन्य देशहरु तिर र ३० हजार छिमेकी मुलुक भारतमा गएका छ्न।
भारत छोडेर वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरु बाट मात्रै पछिल्लो ६ वर्षमा १ खर्व ६५ अर्व रकम बाहिरिएको छ हालाकी विद्यार्थीहरु बाट आउने रेमिट्यान्सको कुरा आफ्नो ठाँउमा छ किनकि विद्यार्थीले पठाएको रेमिट्यान्स बाट देश चलाउने कुरा लज्जास्पद नै हो। यसरी सरदर हेर्दा आउँदा दिनहरुमा भारत लगायत अन्य देशहरुमा शैक्षिक अध्ययनका लागी जाने विद्यार्थीको संख्या वार्षिक १ लाख पुग्ने देखिन्छ। अर्को तर्फ शिक्षामा भ्रष्टाचार, घुस र कमिशनको कुरा गर्ने हो भने शिक्षा मन्त्रालय देखि मातहतमा रहेका सबै शिक्षा सङ्ग जोडीएका सबै कार्यलयहरुमा व्यापक छ।
त्यस्तै सबै जसो सामुदायिक विद्यालयहरुमा भ्रष्टाचारले छोएको छ त्यहाँ हुने भौतिक निर्माण देखि अन्य कामहरुमा व्यापक भ्रष्टाचार छ, विश्वविद्यालय क्षेत्रमा झनै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ कर्मचारी भर्ना देखि शैक्षिक कार्यक्रम,पुर्वाधार निर्माण,संबंधन वितरणमा दलाली र कमिशनको खेल छ। यो देशको डरलाग्दो शैक्षिक अवस्थाको चित्र हो।
आज देशमा मजदुर ,किसान र आम सर्वसाधारण नागरिकका छोराछोरीहरुले गुणस्तरीय र प्रावधिक शिक्षा बाट बन्चित हुनु परेको छ। विद्यार्थीको पढ्ने चाहना हुदाहुदै पनि आर्थिक अभावले पढाई बाट वन्चित हुँदै विदेशका गल्लिहरुमा बाध्यकारी जीवन विताउनु परिरहेको छ। कानुनतः माध्यमिक तह सम्मको शिक्षा निशुल्क र मौलिकहक अन्तर्गत राखिएको छ, आपाङ्गता भएकाहरु, विपन्न वर्ग, आदिवासी, दलित, जनजाति विद्यार्थीहरु लाई उच्च शिक्षा पनि निशुल्क र विशेष छात्रवृत्तिको व्यवस्था गरि पढाईने उल्लेख गरिएतापनी कागजको खोस्टोमा मात्रै सिमित भएको छ।
सरकारी विद्यालयहरुमा समेत विद्यार्थीहरुले शुल्क तिर्नु परिरहेको छ। सरकारी विश्वविद्यालयहरु समेत चर्को शुल्क लगाईएको छ, प्राविधिक शिक्षा आम सर्वसाधारण नागरिक पहुँच बाट धेरै टाढा पुगेको छ। शिक्षामा भएको दलालिकरण, माफियाकरण, निजीकरण र विकृतिविसङ्गतीहरु रोक्नुको सट्टा राज्य गैरजिम्मेवार बन्दै लाचार बनेको छ। राज्यतहमा भएकाहरु उल्टै शिक्षाको व्यपारव्यसाय बढाउनमा, कमिशन खान र दलाली गर्नमा कुदिरहेका छ्न। यो खालको पीडा हामी विद्यार्थीहरुले भोग्नु परिरहेको छ।
आदरणीय विद्यार्थी साथिहरु, यी सबै समस्याहरुको समाधान हामिले एकमात्र बाटो संघर्ष लाई देखेका छौ र तपाईहरुको सामिप्यतामा आगाडी बढ्न चाहन्छौ। हाम्रो गौरवशाली सङ्गठन अखिल(क्रान्तिकारी) का महान सहिदहरु र सङ्गठनका केन्द्रिय सदस्य प्रज्वल शाहीले कोरेको बलिदानीको नयाँ ईतिहास सहित विद्यार्थी हकाधिकारका लागी निरन्तर संघर्षको बाटोमा अगाडी बढीरहेको छौ।
समान शिक्षा, शिक्षामा सबैको पहुँच, नागरिकलाई शिक्षा दिने सम्पुर्ण जिम्मेवारी व्यवहारतह राज्यको होस र तत्पश्चात रोजगारीको ग्यारेन्टी समेत राज्यले गरोस भन्ने हाम्रो माग सहित वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको संघर्ष जारी रहेको छ । राज्यबाट बेखबर, अनदेखा र नसुने जस्तै बेवास्ता गरिएको छ। जायज माग गर्दा उल्टै हामी माथी दमन, धरकपकड, गिरफ्तारी र प्रतिबन्ध लगाईएको छ त्यतिमात्रै होईन कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्दै राष्ट्रियताको संघर्षमा सहभागी हुँदा समेत हाम्रो सङ्गठनका विद्यार्थी नेताहरू लाई झुठ्ठा मुद्दा लगाई फसाउने घृणित काम राज्य र यसको प्रशासन बाट भैरहेको छ। हाम्रो स्वतन्त्रता पुर्वक पढ्न, लेख्न, बोल्न र हिडडुल गर्न पाउने हाम्रो मौलिकहक खोसिएको छ।
यो परिस्थितिको सामना गर्दै हामी सङ्गठन निर्माण र संघर्षमा अगाडी बढेका छौ र सम्पुर्ण न्यायप्रेमी विद्यार्थी साथिहरुमा सङ्गठन निर्माण र संघर्षको यो अभियानमा पाईला अगाडी बढाउन र संगठित हुन आह्वान गर्दछौं। नेपालका सम्पुर्ण उत्पीडित जाती, वर्ग र समुदायका छोराछोरीहरुले सहजै पढन लेख्न नपाउन्जेल सम्म, माध्यमिक तह सम्म देशैभरी समान पाठयक्रम लागू नहुन्जेल सम्म, राज्यको सेवासुविधा भोगचलन गर्नेहरुका छोराछोरी सरकारी विद्यालयमा नपढुन्जेल सम्म, वैज्ञानिक समाजवादी शिक्षा लागू नहुन्जेल सम्म, देश बेच्ने र जनता लुटिखाने दलाल पुँजीवादी सत्ता धरासयी नहुन्जेल सम्म, हामी हाम्रो न्याय, समानता र स्वतन्त्रताको लडाइँ लडिरहने छौ र यो संघर्षमा सहभागीताका लागि सम्पुर्ण विद्यार्थी मित्रहरुमा हार्दिक अपिल गर्दछौं।
नाराहरु :
* निजि शिक्षा – राष्ट्रियकरण गरौं !
* सामुदायिक शिक्षा – गुणस्तरीय बनाऔं !
* दलाल पुँजीवादी शिक्षा प्रणाली – खारेज गरौं ।
* समान शिक्षा – लागू गरौं !
* वैज्ञानिक समाजवादी शिक्षा – लागू गरौं !
* विश्वविद्यालयमा राजनीतिक भागबन्डा – अन्त्य गर !
* असमान शिक्षा – खारेज गर !
* चिकित्सा शिक्षामा मापदण्ड विपरीत चर्को शुल्क असुली – बन्द गर !
* सहिद/बेपत्ता परिवारका छोराछोरीहरु लाई निशुल्क उच्च शिक्षाको – ग्यारेण्टी गर !
* महान सहिद प्रज्वल शाही – अमर रहुन !
* विर सहिदहरु – लाल सलाम !
* अखिल ( क्रान्तिकारी ) – जिन्दावाद !
क्रान्तिकारी अभिवादन सहित !
अखिल ( क्रान्तिकारी )
सेतिमहाकाली क्षेत्रीय समन्वय समिति