अनखबर
संखुवासभा, २५ मंसिर ।
संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

गएराती गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिनुभयो।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको हुनसक्ने मेयर सुब्बाको अाशंका छ। आगलागी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटर समेत जलाएको छ।

आगजनीको घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीका ५० र १५ जना सशस्त्र प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामा जानकारी दिनुभयो । यो मात्रै खोटाङमा दुई वटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको थियो ।