गोपाल किराती ।

सन् १९१७ मा सोभियत संघ स्थापना भयो, जसको नेतृत्व बोल्सेविक पार्टीका लेनिन–स्टालिनले गरेका थिए । त्यसको ठीक चार बर्षमा, १९२१ मा भारतीय कम्युनिष्ट पार्टी स्थापना भयो । यद्यपि १९२६ मा मात्र भारतका विभिन्न कम्युनिष्ट समूहहरु एकीकृत भएको मानिन्छ । बेलायती उपनिवेशवाद बिरुद्ध भारतमा कम्युनिष्ट पार्टीले स्वभाविक तथा अपरिहार्य रुपमा राष्ट्रिय स्वाधीनताको आन्दोलन लड्नु पर्दथ्यो । दोश्रो विश्व युद्धसंगै भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को नेतृत्वले गंभीर गल्ती गर्यो । एडोल्फ हिटलरको जर्मन साम्राज्यवादी आक्रमण विरुद्ध सोभियत संघका राष्ट्रपति स्टालिन र वेलायती प्रधानमन्त्री चर्चिलबीच संयुक्त मोर्चा बन्यो । जुन समय जोसेफ स्टालिन तेश्रो कम्युनिष्ट अन्तर्राष्ट्रियका प्रमुख पनि थिए । भाकपा केन्द्रीय समितिले भन्यो–‘स्टालिन हाम्रो विश्वनेता हो, विश्वनेता स्टालिनको मित्र भाकपाको पनि मित्र हुन्छ ।’

जव भाकपाले बेलायती प्रधानमन्त्री चर्चिललाई ‘मित्र’ बताउन पुग्यो, तब भारतीय पुँजीपतिवर्गले भाकपालाई ‘बेलायतको दलाल’ करार गरे । भारत कब्जा गर्ने बेलायतलाई मित्र बताउने कम्युनिष्टहरु भारतीय स्वतन्त्रताको पक्षमा छैनन् भनेर जनसाधरण भम्रित भए । गल्ती त्यहाँ भएको थियो कि स्टालिन सोभियत सत्तामा थिए र उनले सत्ताको नीति लिनु पर्दथ्यो । तर भाकपा सडकमा थियो, उसले सडकको नीति लिनु पर्दथ्यो । अर्थात सोभियत सत्तामा रहेको स्टालिनको कार्यनीतिलाई भाकपाले पनि कार्यनीति मान्यो, जबकि भाकपाले भारतीय स्वतन्त्रताको आन्दोलनलाई कार्यनीति मान्नु पर्दथ्यो । केहिपछि राज्यसत्ता खोस्ने तहमा उठेको तेलङ्गना किसान आन्दोलन रोक्न स्टालिनले आग्रह गरे । विश्वनेताको आग्रहमा भाकपाले घुँडा टेक्यो र तेलङ्गानास्थित भारतीय वर्गसंघर्ष स्थगित गर्यो । जनसाधारणको दृष्टिमा भकपा झन विवादित बन्दै गयो ।

भनिरहनु पर्दैन, त्यहि गलत इतिहासको बोझले लामो समय भारतीय कम्युनिष्ट आन्दोलन थिचियो । त्यसबीच स्वतन्त्र भारतको संविधानसभामा भाकपाले दोश्रो स्थान हासिल गर्यो । परन्तु उसले अपेक्षित प्रखरता प्रदर्शन गर्न सकेन । स्वतन्त्र भारतको राज्यसत्ता दलाल तथा नोकरशाही पुँजीपतिवर्गको कठपुतली बन्न पुग्यो ।

सन् सत्तरीको दशकमा उदाएका क्रान्तिकारी नक्षेत्र चारु मजुमदारको उपस्थिति भारतीय कम्युनिष्ट आन्दोलनमा जवर्जस्त रह्यो । पूर्वी नेपालको सीमानास्थित नक्सलबारीबाट चारु मजुमदारले सशस्त्र जनयुद्ध उद्घोष गरे । नक्सलबारीलाई केन्द्र बनाएर उद्घोष गरिएको माओवादी आन्दोलन भारतब्यापी रुपमा घनीभूत बन्यो र दश प्रदेशहरुमा फैलियो । नेपालमा ०२८ को झापा बिद्रोह चारु मजुमदारकै प्रभाव थियो ।

चारु मजुमदारका पिता स्थानीय जमिन्दार एवं भारतीय स्वतन्त्र सेनानी थिए । दार्जीलिङ जिल्लाको सिलगढी, सन् १९१८ मा मजुमदारको जन्म भयो । पिताको जोडमा उनले केहि समय बंगलादेशमा उच्च शिक्षा अध्ययन गरे । तर भारतीय किसानको दर्दनाक जीवनदशाले उनलाई तुरुन्त भारत फर्कायो । सन् १९४२ मा मजुमदारले जलपाईगढी किसान संगठन स्थापना गरे । सन् १९४६ मा त्रिभागा आन्दोलन चलाए । १९६० मा पश्चिम बंगालका विभिन्नि कम्युनिष्ट समूहबीच एकता कार्यमा सफल भए । सन् १९६७ मा सशस्त्र जनसेना गठन गरी किसान–मजदुरका वर्गदुश्मन विरुद्ध ब्यापक कारवाही शुरु गरे । सन् १९६९ मा भाकपा (माले) स्थापना गरी महासचिव बने । सन् १९७१ मा प्रहरीद्वारा गिरफ्तार भए र १९७२ मा कारागारमै चारु मजुमदारको निर्मम हत्या गरियो ।

निर्वाचनमा उम्मेदवार हुदा राष्ट्रिय स्वतन्त्रताको प्रश्नलाई गौण बनाएको भन्ने चारु मजुमदारमाथि टिप्पणी छ । सिलगढीमा सांसद उम्मेदवार हुदा उनले भने रे–‘चीनको अध्यक्ष माओ भारतको पनि अध्यक्ष हो, चीन–भारतबीच सीमाना युद्धमा चीनले जित्नु पर्छ ।’ भनिन्छ, भारतीय कम्युनिष्ट आन्दोलनमा हावी संशोधनवादलाई बज्रप्रहार गर्न ती नारा अवश्य कामयावी बने । किनकि निर्वाचन उनका लागि एउटा प्रचार मञ्च मात्र थियो । तर जनसाधारणलाई भड्काउन फेरी पनि पुँजीपतिवर्गले हतियार फेला पारे । जे होस, भारतब्यापी सशस्त्र वर्गसंघर्षको उठान र साहसिक वलिदान चारु मजुमदारका प्रधान पक्ष हुन भने, कमजोरीहरु गौण महत्वका छन । भाकपा (माओवादी) चारु मजुमदारलाई भारतीय जनयुद्धको संस्थापक मान्छ र हालै त्यसले भारतीय जनयुद्धको पचासौं वार्षिक उत्सव मनायो, सन् १९६७–२०१७ को गौरवमय इतिहासको सम्मानमा ।
× × ×

सन् १९७७ देखि २००० सम्म भारतस्थित पश्चिम बङ्गालको मुख्यमन्त्री रहेका ज्योती बशुलाई त्यहाँका संशोधनवादी र पुँजीवादीहरुले मार्क्सवादी विचारक, सिद्धान्तकार तथा राजनेताको पगरी गुथाएका छन् । ज्योती बशु कलकत्तास्थित सन् १९१४ मा पुँजीपति परिवारमा जन्मेका हुन । सन् १९४४ मा वङ्गाल रेल मजदुर संगठनबाट उनले राजनीति सुरु गरे । वङ्गालको बारानगर निर्वाचन क्षेत्रबाट बशुले सन् १९५२ देखि लगातार उमेद्वारी दिए । १९७२ देखि बशु मुख्यमन्त्री बन्ने प्रयासमा लागे । घोर संशोधनवादी गुट भाकपा (माक्र्सवादी)को नामबाट १९७७ मा बशु मुख्यमन्त्री बने । सन् २००० देखि २०१० सम्म मुख्यमन्त्रीमा बशुकै कथित माक्र्सवादी गुटका बुद्धदेव भट्टाचार्य मुख्यमन्त्री भए । त्यही साल २०१० मा ज्योती बशुको मृत्यु भयो ।

कम्युनिष्ट आन्दोलनमा देखा पर्ने संशोधनवाद वस्तुतः पुँजीवाद हो । पुँजीवादी आवरणमा जनताले विश्वास नगर्ने हुँदा श्रमिक जनतालाई भ्रमित पारेर लुट्न पुँजीवादीहरु कम्युनिष्ट पार्टी र माक्र्सवादको मखुण्डो भिर्छन् । संशोधनवादीहरु यसरी हरियो घाँसमा लुकेका हरिया सर्प हुन् । सार्वभौम सच्चाई हो कि संशोधनवादीको चिहानमा मात्र क्रान्तिकारीको जीवन हुन्छ, त्यस्तै क्रान्तिकारीको चिहानमा संशोधवादीको जीवन । भारतस्थित कम्युनिष्ट आन्दोलनमा चारु मजुमदार क्रान्तिकारी नक्षेत्र हुन् । उनको मृत्यु वस्तुतः हत्यामा ज्योती बशुको जीवन फैलियो । सन् १९४२ देखि मजुमदार सशस्त्र किसान आन्दोलन उठाउन डटेका छन् भने १९५२ देखि बशु सांसद बन्न लागिपरेका छन् । १९७२ मा मजुमदारको हत्या हुन्छ भने त्यहि सालदेखि ज्योती बशु मुख्यमन्त्रीको तयारी गर्छन् ।

प्रस्तुत समकालीन घटनाक्रमले चारु मजुमदारको वैचारिक–राजनीतिक तथा भौतिक हत्याका लागि ज्योती बशु पूरै जिम्मेवार छन् । ज्योती बशु तत्कालीन भाकपा (माले) का नेता कार्यकर्ता तथा क्रान्तिकारी जनताको हत्या अभियानका एक अपराधी हुन् । माक्र्सवादी उच्च बौद्धिक कानु सन्याललाई आत्महत्या गर्न विवस तुल्याउने बशु नै हुन् । चारु मजुमदारले दैनिक रुपमा एउटा औषधी सेवन गर्नु पथ्र्यो । गिरफ्तारीपछि चारु मजुमदारलाई उक्त औषधी बन्द गर्न ज्योती बशुले नै सर्वप्रथम प्रहरी अधिकारीलाई दवाव दिएका थिए, भनिन्छ परिणाम, चरम यातनामाथि औषधी अभावका कारण चारु मजुमदारको हत्या भयो । यसरी क्रान्तिकारी चारु मजुमदारको रगत पिएर प्रतिक्रान्तिकारी ज्योती बशुले संसदवादी मुख्यमन्त्रीको कुर्सी हत्याए । यही हो ज्योती बशुपथ, जसको चारित्रिक विशेषता क्रान्तिकारी जनतामाथि सैनिक दमन बर्साउँदै प्रतिक्रान्तिकारी संसदवादमा पतन हुन्छ ।

दार्जिलिङस्थित गोर्खाल्याण्ड आन्दोलनको पनि ज्योती बशु सत्रु नै भए । माक्र्सवादको आवरणमा भारतीय वर्गसंघर्ष र गोर्खाल्याण्ड आन्दोलन दवाउने महारथी ज्योती बशु जब पतन हुँदै गए, सन् २०११ देखि भारतीय कांग्रेसबाट विभाजित घाँस कांग्रेसले बंगालको मुख्यमन्त्री पद कब्जा गर्यो । घाँस कांग्रेस सरकारले कलकत्ताका सार्वजनिक भवनहरुको रातो रङ्ग हटाएर हरियो पोत्ने अभियान चलायो । कम्युनिष्टसँग विवाह गर्ने युवा–युवती कसैलाई नोकरी नदिने घोषणा गर्यो । त्रिपुरास्थित लेनिनका शालिकहरु नरेन्द्र मोदीको भाजपाले भत्काए । कलकत्तास्थित माक्र्स–लेनिनका शालिकहरु घाँस कांग्रेसले ढाल्न सक्छन् । चारु मजुमदारको वर्गसंघर्ष र वलिदानको मुल्य हडपेका ज्योती बशुको कथित कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकार सर्वत्र पतन भयो । क्रान्तिकारी मजुमदारको रगत पिएर क्षणिक कुर्सी हत्याउने बाहेक तिनले जनतालाई के दिए ? नेपालमा यो प्रश्नको जवाफ छेपारे प्रवृत्तिको संसदवादी नेकपाले दिनुपर्छ ।

बशुपथका बुख्याँचाहरु

वर्गसंघर्षको अन्तर्विरोध कस्तो रोचक छ भने क्रान्तिकारी माक्र्सवादीले संशोधनवादीलाई कम्युनिष्ट मान्दैनन् र ती किमार्थ कम्युनिष्ट होइनन् पनि । तर साम्राज्यवादी–पुँजीवादीले भने ‘कम्युनिष्ट’ नाम राखेपछि जोसुकैलाई अर्थात संशोधनवादीलाई पनि खास कम्युनिष्ट ठान्दारहेछन् । मदन भण्डारीको अगुवाइमा एमाले गुटले माओ विचारधारा र नौलो जनवादी क्रान्ति परित्याग गर्यो र नेपाली कांग्रेसको ‘बहुदलीय प्रजातन्त्र’लाई ‘बहुदलीय जनवाद’ नाम दिएर नेपाली कम्युनिष्ट आन्दोलनको विसर्जन उद्योग चलायो । परन्तु साम्राज्यवाद तथा विस्तारवादले मदन भण्डारी र जीवराज आश्रितलाई दासढुङ्गामा खसालेरै छाडे । ऐतिहासिक तथ्य के हो भने नेकपा (माओवादी)को नेतृत्वमा सशस्त्र जनयुद्ध उद्घोष नभएको तथा महान् जनयुद्धमा जनताको अपार सहभागिता नरहेको भए जमानामै एमाले गुटका संशोधनवादीहरु समाप्त गरिने थिए ।

एमाले गुटका निम्ति उग्र आतंककारी देखिने माओवादी खरो उत्रेपछि साम्राज्यवादी तथा विस्तारवादीहरु नेपाली जनतालाई ठग्न कम्युनिष्टको नाममा एमालेलाई भारी छुट दिन पुगे । संघर्षले मात्र वस्तुको रक्षा र विकास गर्ने विज्ञान सामु माओवादी आन्दोलनको तागतमा मात्र एमाले गुट त्यसरी सुरक्षित रहन पुग्यो । एमाले गुटका क्रियाकलाप तथा समग्र घटनाक्रमले यो तथ्य प्रमाणित गर्छ ।

झापा विद्रोहको समयमा एमाले गुटले चारु मजुमदारको सतप्रतिशत अन्धनक्कल गर्यो । मजुमदारको आठ दस्तावेज र पूर्व मालेका दस्तावेज दाँजेर हेर्यो भने ती दुईमा ‘भारत’ र ‘नेपाल’ नाम बाहेक पार्टी नाम, रणनीति तथा कार्यनीतिमा कुनै अन्तर देखिँदैन । सुरुमा मजुमदारको पार्टीको नाम ‘कोअर्डिनेशन केन्द्र’ थियो, झापाली गुटको पनि पार्टी नाम ‘कोअर्डिनेशन केन्द्र’ नै । त्यसपछि मजुमदारले भाकपा (माले) बनाए, एमाले गुटले पनि नेकपा (माले) नाम राख्यो । चारु मजुमदारको फौजी कार्यनीति ‘वान मेन, वान स्क्वायड, वान एरिया, वान एक्सन’ थियो, एमाले गुट पनि त्यसै भन्न पुग्यो । अन्धनक्कलको हद नाघेको थियो ।

जब चारु मजुमदारको हत्या भयो र भारतीय सशस्त्र जनयुद्ध पराजयतर्फ धकेलियो, एमाले गुट १८० डिग्री मोडिएर ज्योती बशुको त्यस्तै अन्धनक्कल गर्न पुग्यो । अर्थात् एमाले गुट चरम संसदवादी बन्न पुग्यो । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुहको महान जनयुद्धलाई एमाले गुट यसरी आतंककारी करार गर्दै माओवादी नेता कार्यकर्ताको हत्या श्रृंखला निर्माणमा लाग्यो । वस्तुतः एमाले गुट ज्योती बशु पथगामी बन्यो । कम्युनिष्ट आन्दोलनमा निम्न पुँजीवादी उग्र वाम प्रवृत्ति उग्र दक्षिणपन्थमा विसर्जन हुन्छ भन्ने विश्लेषण एमाले गुटको हकमा एक जीवित प्रमाण बन्यो ।

जसरी ज्योती बशु गोर्खाल्याण्ड आन्दोलन दबाउन सम्पूर्ण शक्तिसाथ उत्रेका थिए, नेपालमा एमाले गुट त्यहि रुपमा उत्पीडित समुदायको राष्ट्रिय पहिचान आन्दोलन दबाउन अग्रसर छ । अतः भारतमा प्रतिक्रियावादी र संशोधनवादीको गठबन्धनद्वारा जसरी क्रान्तिकारी कम्युनिष्ट दवाउने अपराध भयो, अन्ततः संशोधनवादीको पनि त्यहीँ चिहान बन्यो । ठीक त्यसरी नै नेपालमा एमालेकृत नवप्रतिक्रियावादी नेकपाको चिहान खनिदैछ । माओवादी शक्तिहरु जुट्ने र जनसमर्थन लिने आन्दोलन प्रक्रियामा केही समय ताण्डव मच्याउन अवश्य पाउलान्, परन्तु पश्चिम वंगालमा भन्दा नेपालमा बशुपथका बुख्याँचाहरुको अवशान विशेष अवश्यम्भावी छ ।
एमाले गुटको क्रान्तिकारी रुपान्तरण भएर त्यसमा प्रचण्डहरुको एकता भएको किमार्थ होइन । बरु प्रचण्डहरुको संसदवादी विसर्जनको मूल्यमा एमालेतर्फ विलय भएको तथ्य ब्याख्या गरिरहनु पर्दैन । ६० र ४० को उमेदवार अनुपात तथा संगठनात्मक कार्यविभाजनले नै सिद्ध गर्छ कि प्रचण्डहरु एमालेमा विलय भएका हुन् । तत्काल त एमालेकृत संसदवादी नेकपा ढाडिएको स्थितिमा होला, परन्तु निकट भविष्यमै वेलुन झैँ पड्किने कुरामा सन्देह छैन ।

सर्वहारावर्गका अन्तर्राष्ट्रिय गुरु माओ त्सेतुङले भनेका छन्–‘रणनीतिक दृष्टिले साम्राज्यवाद कागजी बाघ हो । कार्यनीतिक दृष्टिले भने साँच्चिकै मान्छेको रगत पिउने हिंस्रक बाघ हो ।’ हो, साम्राज्यवाद तथा विस्तारवादको दलाल संसदवादी नेकपा नामको संशोधनवादी–गोर्खाली अन्धराष्ट्रवादी गुट रणनीतिक दृष्टिले केवल कागजी बाघ हो । कार्यनीतिक रुपमा भने चारु मजुमदार लगायत क्रान्तिकारीहरुको रगत पिउने हिंस्रक जनावर हो । त्यसलाई खोरमा थुन्न त्यसको छेपारे प्रवृत्ति उजागर गर्दै त्यस विरुद्ध भण्डाफोर अभियान निर्णायक तुल्याउनु पर्छ । ती नेपालमा ज्योती बशुका केवल बुख्याँचाहरु हुन् । ज्योती बशु नै सकिए भने बुख्याँचाको के कुरा ! महान जनयुद्धको जगमा महान जनविद्रोहको सशक्त तयारी एवं ज्योती बशुपथका बुख्याँचाहरुलाई डढेलो लगाउने दृढताले वैज्ञानिक समाजवाद स्थापना गर्छ र समाजवादी गणतन्त्र नेपालबाट नयाँ विश्व उदाउँछ । साभार-communistkhabar.com