भरत बम ‘रणवीर’-

अहिलेको नेपालको कूटनीतिक क्षेत्रमा चर्चित शब्द ‘रणनीति’ लाई एकैछिन राष्ट्रिय राजनीतिसँग जोडेर हेरौँ । अमेरिका र चीनसँगको सम्बन्धबाट सरकारी र विद्रोही कम्युनिस्ट सम्बन्धसँग जोडेर विश्लेषण गरौँ । नेकपाको वली सरकारले अर्को नेकपामाथि ‘चेनी डक्ट्रिन’ को नयाँ रणनीति अवलम्बन गर्दै ‘प्रतिबन्ध’ लगायो । प्रतिबन्धपछि ‘एकीकृत जनक्रान्ति’ को नयाँ रणनीति अघि सारेको नेकपाको स्थिति के छ ? यी नयाँ रणननीतिक टक्करका व्यावहारिक परिणाम केकस्ता हुन् ? को कति प्रभावकारी बनेको छ ? एकले अर्कालाई कमजोर बनाएको दाबी र प्रतिदाबी हुन् । यी नयाँ रणनीतिक टक्करले देशको भविष्य कसरी निर्धारण गर्ला ? यिनै विषयमा सङ्क्षिप्त चर्चा गरौँ ।

चेनी डक्ट्रिन

‘चेनी डक्ट्रिन’ सन् २००३ को इराक युद्धताकाका अमेरिकी उपराष्ट्रपति रिचार्ड चेनी (डिक चेनी) सँग सम्बन्धित छ जसले समग्र अमेरिकी साम्राज्यवादी रणनीतिलाई व्यक्त गर्दछ । यो वार अफ च्वाइस (युद्धको रोजाइ) को नीति हो । तत्कालीन इराकसँग विनाशकारी हतियार रहेको भन्दै उसमाथि जबर्जस्ती युद्ध थोपरिएको थियो । यो बिनाप्रमाण, अनुमान र अमेरिका स्वयम्को योजनामा आधारित छ र यसले सानो जोखिमलाई देखाएर युद्धको औचित्यहीनता एवम् सम्भावित युद्धप्रभावबाट जनताको ध्यान मोडिदिन्छ । नेपालमा खपु (खड्गप्रसाद र पुष्पकमल दाहाल) सरकारले पनि त्यही ‘चेनी डक्ट्रिन’ पच्छ्याउँदै नेकपामाथि प्रतिबन्ध लगाएको हो । यसरी सरकार आफैँ युद्धको रोजाइ (वार अफ च्वाइस) तिर गएको छ । एकातिर विप्लव नेतृत्वको नेकपाले युद्ध गर्न भनेको छैन, बरु एकीकृत जनक्रान्तिद्वारा अधुरो नेपाली क्रान्ति पूरा गर्ने भनेको छ भने अर्कोतिर एनसेलमाथिको कारबाही पनि स्पष्ट छ जसको निशाना मानिस थिएनन्, गल्तीले केही व्यक्तिको ज्यान गयो । जहाँसम्म अत्याधुनिक हतियार बरामदको प्रश्न छ, ती बेवारिसे हुन् जो पार्टीको आधिकारिक स्वीकारोक्तिबिना जबर्जस्ती भिराइएको छ । नेकपा आफू शान्तिप्रक्रियामै रहेको र शान्तिप्रक्रियाको समीक्षाको माग गरिरहेको छ । तर उसको मागलाई बेवास्ता गर्दै ‘मरता तो क्या नही करता’ को स्थितिमा पु¥याउँदैछ । अहिलेको सानो जोखिमलाई बढाइचढाइ गरेर युद्धको औचित्यहीनता एवम् सम्भावित दुष्प्रभाव र परिणामबाट जनताको ध्यान मोड्न प्रयासरत छ सरकार । चेनी डक्ट्रिनको अमेरिकामै समीक्षा भैरहेको छ जसको कारण अमेरिका सङ्कटमा फस्दै गएको सन्दर्भमा त्यसको हाम्रो आन्तरिक राजनीतिमा प्रयोगले केकस्तो अवस्था आउला, गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ ।

असफल सरकार

२०७५ फागुनमा सरकारले नेकपामाथि प्रतिबन्ध लगाउँदा चैतभित्र नियन्त्रण गरिसक्ने भनेको भए पनि नियन्त्रण गर्न असफल भएको छ । यो नियन्त्रण भइहाल्ने र गर्न सकिने विषय पनि होइन । केही महत्वपूर्ण नेता–कार्यकर्ताको गिरफ्तारीलाई देखाएर सरकार आफू सफल भएको देखाउन खोजे पनि समग्र रूपमा असफलतातिर गइरहेको छ । पहिलो, सीके राउतसँग सहकार्य र नेकपामाथि प्रतिबन्धको राजनीतिक औचित्य पुष्टि गर्न सकेको छैन, बरु युद्धप्रिय साबित भई जनताबाट अलग्गिन पुगेको छ । दोस्रो, युद्धप्रिय नयाँ रणनीतिको केन्द्रीय सुनियोजित योजना र कमान्डमा कार्यान्वयन कुमार पौडेलमाथिको कारबाही थियो जो आत्मघाती, प्रत्युत्पादक साबित भयो । तेस्रो, नेकपासँग वार्ताको सरकारी नीति केवल युद्धको वातावरण बनाउने चाल हो भन्ने सत्य पुष्टि हुँदैछ । यसले जनताको दिलदिमागमा गहिरो नकारात्मक प्रभाव पारेको छ । यो जुनसुकै बेला जन–असन्तुष्टिसहित विस्फोट हुने स्थिति बन्दैछ । चौथो, देश र जनताको जीवनको सामान्य समस्या पनि सम्बोधन गर्न सरकार असफल भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ‘गरिब नेपाल, दुःखी नेपाली’ को नारामा परिणत भएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान हुनुको सट्टा एकपछि अर्को जटिल बन्दै सङ्कटउन्मुख बन्दैछन् । यी हात्तीमुखी समस्याको मुखमा ‘सरकार पुनर्गठन’ जिरा पनि होइन, जिरो बनेको छ । त्यसैले समस्याबाट मुक्त हुने सजिलो उपाय सरकारले युद्ध रोज्न पुगेको छ जसका कारण उसको विनाश अनिवार्य छ ।

सरकारी रणनीतिका केही विशेषताबारे विचार गरौँ । पहिलो, समस्या अनेक समाधान एक भन्ने छ । यो एक बल हो । बल सरकार, सत्ता र पुँजीमा छ । त्यो प्राप्ति र रक्षाका लागि आवश्यक छ । त्यो गर्नु नै सत्य हो भन्ने मान्यता राख्छ । दोस्रो, आफ्नो असल शक्ति केन्द्रित गर र विरोधीमाथि अकस्मात् तीव्र हमला गर भन्ने रहेको छ । अरिङ्गालका रूपमा यही विशेषताको प्रतीकात्मक अभव्यक्ति हो । यसरी पहिलो, राजनीतिक र दोस्रो फौजी विशेषता जोड्दा अधिनायकवादी, सर्वसत्तावादी र सामाजिक फासिवादी विशेषता स्पष्ट हुन्छ । तेस्रो, ‘डाइभर्ट एन्ड रुल’, ‘डिभाइड एन्ड रुल’ को विशेषता नै हो जहाँ एनसेलको भ्रष्टाचारविरोधी सङ्घर्षमा कथित हिंसा भड्किने खतरा मात्र देख्दैन, सरकार युद्ध सुरु भैसकेको भन्छ । कहिले गीतमाथि प्रतिबन्ध त कहिले कलाकारको गिरफ्तारी गर्छ । कहिले कथित राष्ट्रवाद त कहिले आफ्नै पार्टीको अन्तरविरोध उचाल्छ । सरकार कहिले रेलयात्रसँगै हेग पुग्छ । कहिले पानीजहाजसँगै भेनेजुयला पुग्छ अनि भन्छ सतर्क होऊँ, विप्लव आइसक्यो, हानिसक्यो, युद्ध गर्दैछ । यसरी जनताले प्याज किन्न नसकेर खान छोडेकोमा, दैनिक बिदेसिने १५ सय युवाको लाम र भित्रिने युवाहरूको लासमा, १२ वर्षमा २२ हजार निर्दोष जनताले सडक दुर्घटनामा ज्यान गुमाएकोमा, वाइडबडीदेखि स्थानीय डोजराध्यक्षका भ्रष्टाचारका काण्डैकाण्डमा ध्यान केन्द्रित गर्दैन र गर्न दिँदैन । चौथो, अन्तिमलाई सुरुआत मान्नु हो । समस्या समाधानको अन्तिम विधि युद्धलाई समस्या उठानमै थोपरिदिनु हो । पाँचौँ ‘दसपटक नाप, एकपटक काट’ भन्ने विशेषता देखिन्छ । एकिन गरेर कारबाही गर्ने र कारबाही नेतृत्वमा गर्ने, लम्पट अर्धसर्वहारा जो पैसाका लागि जे पनि गर्न तयार छन्, तिनीहरूलाई परिचालन गर्न, समग्र सुरक्षा फौजीबाट छनोट गरेर विशेष शक्ति निर्माण गरी कारबाहीमा उतार्ने गरिरहेछ । यही नीतिअन्तर्गत नेता–कार्यकर्ताको गिरफ्तारी गरिरहेछ ।

वर्तमान सरकारले जे भने पनि जे गरे पनि पुरानो संसदीय राज्यसत्ताको सङ्कट हल भैसकको छैन, बरु कुनै बेला यही समग्र सत्ताको अन्त्यलाई मुख्य उद्देश्य बनाएका शक्ति नै आज सङ्कट हल गर्ने भूमिकामा छन् । वस्तुतः सत्ताको हैन, शासकको मात्र तीव्र परिवर्तन भएको छ । क्रमशः सत्ता सङ्कट र सरकार असफलताको वास्तविकता अगाडि आउँदैछ । अन्ततः देश र जनताको मुक्तिको विचारलाई बन्दुकले निषेध गर्न पूर्णतः असफल हुँदैछ र हुनेछ ।

एकीकृत जनक्रान्ति

पार्टी पुनर्गठनको दिन मङ्सिर ८ मा ‘छिन्नभिन्न चन्द समूह’ कार्यदिशामै अन्योल भनेर कान्तिपुर र अन्नपूर्णले समाचार छापे । यसले नेकपा कमजोर बनेको, त्यसको कारण उसको कार्यदिशा रहेको सरकारी धारणा स्पष्ट पार्छ तर नेपाका महासचिव विप्लवको विचारमा एकीकृत जनक्रान्ति आफ्नो नयाँ विशेषतासहित वैज्ञानिकता पुष्टि गर्दै सफलतातिर अगाडि बढिरहेको छ । सफलताका केही मानक हेरौँ : पहिलो, तथाकथित नयाँ व्यवस्थाको पुरानो सार तथा खोक्रोपन र सत्ताधारी कम्युनिस्टको नक्कलीपनलाई छिट्टै उदिङ्ग्याउन नेकपा सफल छ किनकि यो स्वतःस्फूर्त हुने कुरा होइन र भएको छैन । दोस्रो, नेकपाले युद्धका विरुद्ध क्रान्ति र शान्तिका पक्षमा रहेको सन्देश दिँदै मध्यम वर्ग, देशभक्त शक्ति, सहर, क्रान्तिकारी अन्तर्राष्ट्रिय जनसमुदायलाई आफूतिर आकर्षित र केन्द्रित गर्दै समग्र जनतासँग एकाकार भइरहनु सक्नु । तेस्रो, राज्यसत्ताको प्रणालीगत सङ्कटलाई स्पष्ट पार्दै विकल्पका रूपमा नयाँ वैज्ञानिक समाजवादी प्रणाली अगाडि सार्नु र जनतामा बढ्दै गएको निराशा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्दै उज्यालो भविष्यप्रति आशावादी बनाई त्यसको प्राप्तिका लागि आवश्यक ऊर्जा थप्नु । चौथो, बमलाई सामान्यीकरण गर्दै जनताबाट अनुमोदन गराउन सफल हुनु । यद्यपि यसको नकारात्मक पक्ष अस्ति भर्खरसम्म बम पड्काउनेहरू नै सरकारमा हुनु पनि हो । यसले क्रान्तिलाई सहज र सरल बनाएको छ । आजको समाजको चेतनास्तर र विकासको नयाँ विशेषताले यो सम्भव भएको हो । भ्रष्टाचारका अखडा, बहुराष्ट्रिय कम्पनीहरू, बेरोजगार उत्पादनका कारखानाजस्तै राज्य, तिनै बेरोजगार विवश मानिसको व्यापार गर्ने दलाल राजनीतिमाथि बम पड्काउँदा जनताहरू सहजै पचाउन सक्छन् र खुसी नै हुन्छन् । दलाल र भ्रष्ट राजनीति भने भयानक शैलीले बर्बराउँदै बमआतङ्क ठान्छ तर जनतालाई खास छुँदैन । पाँचौँ, आफ्नो शक्तिलाई शुद्धीकरण र सुदृढीकरण गर्दै देशव्यापी परिचालनद्वारा प्रतिरोध क्षमताको विकास गर्न सफल हुनु हो । कार्यकर्ता बमसँगै पड्किन र केन्द्रीय नेता तल्लो समितिमा झर्न तयार छन् । जेलको कठिन मोर्चा सहज पचाउनाले यही सत्यको पुष्टि गरेको छ । क्रान्तिका केही आगामी अभिभारा छन् जस्तो पहिलो आफ्नो विचार र कार्यदिशाको बुझाइमा स्पष्टता र एकरूपता कायम गर्दै निरन्तर परिष्कृत र विकास गर्न जरुरी छ । दोस्रो, जनताबाट नअलग्गिन, क्रान्तिलाई अरू सरल र सहज बनाई राजनीतिक विचारको प्रभावलाई सङ्गठनमा बदल्न अनि जनताको जीवनका जल्दाबल्दा समस्यालाई लिएर सङ्घर्ष गर्दै लोकप्रिय बन्न, त्यसका लागि शिक्षा, स्वास्थ्य, भ्रष्टाचार, बेरोजगारी, महँगीजस्ता समस्या उठान गरी रणनीतिको बलिदानीबेगर ससाना सफलता हात पार्नु । पछिल्लो मेडिकल शिक्षामा भएको सङ्घर्ष एक उदाहरण हुन सक्छ । सच्चा देशभक्त, वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक, गणतन्त्रवादी र कम्युनिस्ट शक्तिहरूको बृहत् संयुक्त मोर्चा बनाउन पहलकदमी लिन जरुरी छ । तेस्रो, आफ्नो शक्ति खासगरी नेतृत्वको रक्षा गर्दै प्रतिरोध क्षमताको गुणात्मक रूपले विकास गर्न । चौथो, क्रान्तिको अन्तर्राष्ट्रिय आयामलाई विशेष महत्वका साथ उठाएर अगाडि बढाउन र पाँचौँ, सूचना, सञ्चार र प्रचारलाई व्यवस्थित गर्ने हो । विशेषतः हरेक नेतृत्वले विरोधीले गर्ने गलत प्रचार र आफ्नाले दिने गलत सूचनाबाट सतर्क बन्न आवश्यक छ । विद्रोही नेकपाले सत्ताको सङ्कटलाई क्रान्तिमा बदली वैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रा पार गर्ने सङ्कल्प गर्दै समर्पित हुनुपर्छ ।

अन्त्यमा आजको नेपालमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी दुवै इतिहासका शिक्षासहित नयाँ रणनीति लिएर सङ्घर्षरत छन् । यो स्थितिमा हामीसँग तीन विकल्प छन् : पहिलो, देशलाई शान्तिक्षेत्र स्विजरल्यान्डजस्तै बनाउने, दोस्रो, क्रान्तिताकाको क्युबाजस्तो बन्ने र तेस्रो, युद्धक्षेत्र इतिहासको क्रिमिया, हालको सिरियाजस्तै बन्ने । पहिलो विकल्पका लागि एकातिर अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल बन्दै गएको छ भने राष्ट्रिय रूपमा सम्पूर्ण जागरुक नेपाली जनताको बृहत् जुझारु एकता कायम गर्नसक्ने सही विचार र नेतृत्वको अभाव छ । त्यसैले यो असम्भव छ, बरु वर्तमान सरकार युद्धको रोजाइसहित क्रान्तिकारी जनतालाई निःशस्त्र पार्दै सिरिया बनाउने दिशामा अग्रसर छ । त्यसैले हाम्रा लागि दोस्रो विकल्प क्रान्तिकारी नेपाल बनाउन सही हुन सक्छ किनभने कुनै पनि ठूलाठूला उपलब्धिको प्राप्ति जोखिमपुर्ण उथलपुथलकारी प्रक्रियाबाट अघि बढेर मात्र हुनसक्छ । विद्यमान सरकारी र विद्रोही नेकपाको धारणा, दाबी र प्रतिदाबी हेर्दा देश यही उथलपुथलकारी अभियानको पूर्वसन्ध्यामा रहेको सहज अनुमान गर्न सकिन्छ । जब जनता सही विचार र नेतृत्वसहित मुक्तिका लागि उठ्छन् तब ‘चेनी डक्ट्रिन’ मात्र होइन, शासक वर्गका कुनै डक्ट्रिनले काम गर्नेछैन र क्रान्ति एक वास्तविकता बन्दछ । एक्काईसौँ शताब्दीको क्रान्ति नयाँ रणनीतिसहित मात्र सफल हुनेछ । -रातोखबर