भरत बम ‘रणवीर’-

२०७६ असोज २५/२६ गते विश्वका शक्तिशाली चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेर मूलतः चिनियाँ सन्दर्भ, वस्तुतः विश्वराजनितीमा तरङ्ग ल्याउने अभिव्यक्ति दिए । १९ औँ शताब्दीमा युरोपलाई तर्साइरहेको ‘कम्युनिस्ट भूत’ ले २१ औँ शताब्दीमा पनि अमेरिका र युरोपलाई ‘महाभूत’ बनेर तर्साइरहेको बुझ्न सकिन्छ ।

तर नेपालमा भने नयाँ आशा र हर्ष नै बढाइदिएको छ किनभने नेपालमा पनि बहुमत जनता चीनको जस्तै विकास र अनुशासित कम्युनिस्ट पार्टी होस् भन्ने चाहना राख्छन् । यहाँ एउटा सानो लेखमा कम्युनिस्टका समग्र पक्षमा लेख्न सम्भव छैन, बरु अब प्रश्न छ– के नेपालमा चीनको जस्तै विकास गर्ने कम्युनिस्ट पार्टी हुन्छ त ? त्यसैले सरकारी कम्युनिस्ट पार्टीको नाम र कामबारे सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ ।

नामको पछिल्लो सन्दर्भ

देशका ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माके) मिलेर एउटै पार्टी बन्नु राम्रो कुरा हो । यसलाई जनताले उत्साहित भएर सकारात्मक ढङ्गले लिएका थिए जो स्वाभाविक थियो । तर २०७४ सालको चुनावी तालमेल र सहकार्यले प्राप्त सफलतापछि अविच्छिन्न शक्तिशाली शासक बन्ने महत्वाकाङ्क्षासहित २०७५ को सुरुमै पार्टी एकता गरिएको थियो ।

त्यो एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखियो तर यहाँ बिर्सन नहुने कुरा के छ भने त्योभन्दा २ वर्षअगाडि नै विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी बनिसकेको थियो । सम्भवतः यही क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई निषेध गर्ने र कम्युनिस्ट प्रिय जनताको भोट लिन कम्युनिस्ट नामको दुरूपयोग गर्ने कुत्सित मनसायले सरकारी पार्टीले पनि आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राखेको हो ।

तर कानुनी तथा वैधानिक समस्याका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्न गएको हो । यसलाई दोहोरो नेकपा, सरकारी नेकपा भनेर अथवा डबल नेकपा भनेर चलनचल्तीमा ल्याइँदैछ जो धेरै समय चल्ने देखिँदैन । साथै आजभन्दा १७/१८ वर्षअगाडि एक हुम्लाबासीको भविष्यवाणी सही सावित भएर प्रचण्डको पतन भएपछि यो सरकारी पार्टी बनेको हो ।

नेपालीमा एउटा उखान प्रचलित छ ‘जसको सिङ छैन उसको नाम तिखे ।’ यसको अर्थ हो नाम र काम मिल्नुपर्छ तर मिलेको हुँदैन अनि खासमा नामभन्दा काम मुख्य हो । विगतमा नेकपा एमाले मात्र एमालेका रूपमा स्थापित हुँदै गएको थियो । एमाले भए संस्थामा सजिलै जागिर पाइन्छ भनिन्थ्यो । यसरी कम्युनिस्टको अर्थ हराउँदै एक संसदीय पुँजीवादी पार्टीका रूपमा विकास भएको थियो भने तत्कालीन नेकपा माके छोटोमा माओवादीका रूपमा चिनिन्थ्यो ।

शान्तिप्रक्रियामा प्रवेशसँगै उसले पनि साँचो कम्युनिस्ट अर्थ गुमाउँदै दोस्रो एमाले बन्ने दौडमा सफलता पायो । परिणामतः पार्टी एकता भएर डबल नेकपा बन्यो । हामी सबैलाई थाहा छ, वास्तवमा ‘कम्युनिस्ट’ शब्द ल्याटिन भाषाको ‘कम्युन’ बाट बनेको हो । यसको अर्थ साझा वा सामूहिक भन्ने हुन्छ ।

अझ खासमा कम्युनिस्टको पूर्ण अर्थ हो ‘शोषणमा आधारित विद्यमान असमान राज्य/समाजको क्रान्तिद्वारा अन्त्य गरी समान राज्य/समाजको स्थापना गर्ने र त्यसको निरन्तरतामा समर्पित रही राज्यकै अन्त्य गर्ने’ भन्ने हो । यो अर्थ र मान्यताबाट सरकारी कम्युनिस्ट पार्टीलाई हेर्दा यो नाम मात्रको कम्युनिस्ट पार्टी हो । अझ स्पष्ट भन्ने हो भने कम्युनिस्ट नामको दुरुपयोग गरी बदनाम गरिँदैछ र ट्रेड मार्कका रूपमा मात्र प्रयोग गरिँदैछ जस्तो ‘चे’ को फोटोलाई प्रयोग गरिएको छ किनकि यिनीहरूले आफूलाई शोषणमूलक असमान राज्यको अन्त्य गर्न होइन, त्यसको रक्षा गर्न समर्पित गरेका छन् । यिनी ‘सिङ नभएका तिखे’ हुन् र भन्दैछन्– संसार परिवर्तनशील छ । सिङ नभएर के भयो ? सिङ भएकालाई हराइसक्यो । फेरि पनि यस्तै रहस्यमय पराक्रमद्वारा समाजमा चामत्कारिक परिवर्तन ल्याउने भ्रामक आश्वासन बाँडिरहेका छन् । यसरी सरकारी कम्युनिस्ट पार्टी रूप र सारको अन्तरविरोधको विरोधाभासमा नराम्ररी फस्दै गएको छ । तत्कालै कम्युनिस्ट नाम हटाइहाल्ने मनस्थितिमा छैन ।

अझ सी जिनपिङको भ्रमणपछि थप गौरवान्वित भएको छ तर काम कम्युनिस्टको छैन किनकि सारमा ऊ कम्युनिस्ट होइन । यो सार र रूपको विज्ञानको नियमविपरीत छ । वैज्ञानिक नियम ठीक ढङ्गले लागू नभएर कुनै वस्तु हुन्छ भने त्यो विकृत हुन्छ यद्यपि त्यही विकृत वस्तुलाई आदर्शीकरण गरेर पूजा गर्ने पनि समाज छ ।

जस्तो दुईमुखे गाईको पूजा गरिन्छ तर २१ औँ शताब्दीमा यो कत्तिको सम्भव होला ? आजको सत्तासीन राजनीतिक शक्ति सामन्तवादी, पुँजीवादी र समाजवादी वैज्ञानिक नियमको स्वाभाविक उत्पादन होइन, यो विकासको नाममा अघि आएको विकृत रूप हो । यो संशोधनवाद र अवसरवादको पनि विकृत रूप सामाजिक दलाल पुँजीवाद हो । जे भए पनि आगामी पहिचान र स्थान निर्धारण हुनेछ अवश्य पनि समयले बताउनेछ । उसको सर्वोत्कृष्ट पहिचानसहित उत्थान हुन्छ वा विकृत भई पतन ?

कामको पछिल्लो सन्दर्भ

सर्वप्रथम प्रधानमन्त्रीको गुनासो सम्बोधन गर्दै पार्टी एकता, चीनसँगको सम्बन्ध विकास, कानुनी राज्यको प्रत्याभूति र सपनाको परिकल्पना आदि राम्रा काम अगाडि सार्दै सुन्ने क्षमता गुमाउँदै गएको सरकारलाई केही कुरा सुनाऊँ र प्रतिक्रिया बुझौँ । हे सरकारी कम्युनिस्ट हो ! एकपटक विगत हेर्ने कष्ट गरिदेऊ, तिमीहरूलाई यहाँसम्म पुर्याउने ती सोझा, इमानदार किसान, मजदुर, गरिब जनता कहाँ छन् ? कस्तो अवस्थामा छन् ? ती युवा जसको बलमा यो उपलब्धि भयो ती कहाँ, के गरिरहेका छन् ? कस्तो जीवन बाँचिरहेका छन् ? अनि क्रान्तिका सहिद, घाइते–अपाङ्गका परिवारहरू, सेल्टर दिनेहरू, रुट गाइडरहरू, मृतक सेना र प्रहरीका आफन्तहरू, बेपत्ता परिवारहरू कस्तो महसुस गरिरहेका छन् ?

त्यो बुद्धिजिवी मध्यम वर्ग जसले सकारात्मक परिवर्तनको आशासहित सहयोग गर्यो, के त्यो वर्ग सन्तुष्ट छ ? गाउँगाउँमा बैङ्क र बजार विस्तार गरेर के गर्ने ? जनतासँग गाडी र प्लेन चढ्ने, औषधी गर्ने र अध्ययन गर्ने अवस्था छैन भने ? हो बैङ्कले त्यत्तिकै पैसा दिँदैन, साहूले सामान पनि त्यत्तिकै दिँदैनन् ।

यो गन्थन किन गरियो भने विगतमा यिनै गरिब र निमुखा जनताको मुक्तिको कुरा गरिएको थियो जुन कारणले जनता कम्युनिस्ट मन पराउने भए तर अब एकछिन सरकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको जीवन हेरौँ । यहाँ त क्रान्ति नै भएको छ । केही नेता–कार्यकर्ता एकाएक रोडबाट महलमा, रोडपतिबाट करोडपतिमा फड्को मारेका छन् । विकृत (दलाल) नवधनाढ्य वर्गको विकास भएको छ । पार्टीमा त्यो हावी छ । यो कसरी सम्भव भयो ? प्रश्नै गर्न पाइँदैन, तुरुन्तै शासकले ‘सरकारी काम नदेख्ने’, ‘खुल्ला मुखमा माक्स देख्ने’, ‘च्याँखे थाप्ने’, ‘आतङ्क मच्चाउने’ भन्दै विरोधीको कित्तामा धकेलेर प्रतिबन्धै लगाइदिन्छ । हो, यो काम प्रभावकारी रूपमा भैरहेको छ ।

अब सरकारी कम्युनिस्ट पार्टीमा हाबी बिनाश्रम र स्रोत पुँजीपति बनेको त्यो विकृत नवधनाढ्य दलाल पुँजीपतिवर्गबारे चर्चा गरौँ । यसले राजनीतिलाई निस्वार्थ देश र जनताको सेवा गर्ने माध्यम होइन, बिनालगानी थोरै श्रमले छिट्टै फस्टाउने व्यवसाय बनाउँछ । यसले वास्तविक कम्युनिस्ट मूल्य, मान्यता र निष्ठाका इमानदार नेता–कार्यकर्तालाई अक्षम करार गर्दै घृणापूर्वक दुत्कार्ने गर्छ । हुन पनि पार्टीलाई यो उचाइमा पु¥याउन उसैको निर्णायक भूमिका छ । आफ्नो तन, मन, धन समर्पण गरेको छ । यसमा हजारौँ गुणा फाइदा छ । त्यसका लागि भ्रष्टाचार, कमिसन, कालो धनको चलखेल र वैधानिक लूट अनिवार्य हुन्छ जो बेरोकटोक भैरहेको छ । यसबारे घनश्याम भुसाल र युवराज ज्ञवालीले पनि चिन्ता व्यक्त गरेका छन् तर यसलाई अहिलेको मूल नेतृत्वले नियन्त्रण गर्ने त कल्पनै नगरौँ, नैतिक रूपले बोल्ने हिम्मत गर्दैनन् किनकि ऊ स्वयम् त्यही वर्गभित्र पर्दछ । यो वर्गलाई चलायो भने उसको सत्ता नै धरापमा पर्नेछ । अविच्छिन्न शासक बन्ने सपना तुहिनेछ । बरु यसलाई खुसी पार्नु नै उत्तम हुनेछ । त्यसैले नेतृत्वले अहिले आर्थिक क्रान्ति, विकास र समृद्धिको नारा दिएको छ । त्यसका निम्ति जसरी हुन्छ पैसा जम्मा गर्ने (लगानीमैत्री) नीति लिएको छ । चाहे त्यो कर वृद्धि गरेर होस्, चाहे विश्व शक्तिकेन्द्रको चाकडी होस् अनि देशका युवाको विश्वमा व्यापार गरेर होस्, चाहे जनतालाई चुसेर होस् वा मातृभूमिकै बिक्रीवितरण गरेर होस् सरकार र पार्टीलाई लगानी (पैसा) चाहिएको छ पैसा आवश्यक छ । रेल र पानीजहाज असम्भव छैन जहाँ जोखिमरहित फाइदा छ । आज नेपाली अर्थतन्त्रको नेतृत्व दलाल पुँजीवादीहरूले गरिरहेका छन् । यो विश्व साम्राज्यवादी वित्तीय तथा निगम पुँजीवादसँग सम्बन्धित छ । यसरी दलाल पुँजी र विश्व निगम पुँजीको प्रयोगबाट हाम्रो देशका जनताको विकास र समृद्धि गर्ने कुरा सरकारी कम्युनिस्ट पार्टीको रूप र सारजस्तै विरोधाभासपूर्ण छ । यो वैज्ञानिक नियमसम्मत छैन । परिणामतः नयाँ विकृत वस्तु ‘सामाजिक फासिवाद’ जन्मिँदैछ । यसले देशको अस्तित्व खतरामा पार्दैछ । तर शासकवर्ग यसलाई बेवास्ता गर्दै जहिले पनि जनअसन्तुष्टिले जनविद्रोहको सम्भावना खुला राख्ने तथ्यलाई ध्यान दिँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्ति रोक्न एकसुरले दमन गर्ने बाटोमा अग्रसर छ । कुमार पौडेललगायत एक दर्जन मानिसको हत्या गरेको छ भने सयौँ नेता–कार्यकर्तालाई जेलमा कोचेको छ । कम्युनिस्ट रूपलाई पनि विकृत पार्दै बदनाम गरी ध्वस्त पारेर साम्राज्यवादी रणनीति कार्यान्वयन गरिरहेको छ । सच्चा क्रान्तिकारी कम्युनिस्ट र परिवर्तनशील जनताविरुद्ध दलाल पुँजीवादी अधिनायकत्व प्रयोग भएको छ । सामाजिक फासिवादको अभ्यास गरिँदैछ जसलाई सरकारविरोधीले कम्युनिस्ट अधिनायकवाद र फासिवादका रूपमा बदनाम र भन्डाफोर गर्ने गरेका छन् ।

कथित नयाँ संविधान र सत्ताको पहिलो चुनावपछि बनेको कम्युनिस्ट पार्टीको सरकारको कामकारबाही हेर्दा र पार्टीमा हाबी त्यो दलाल पुँजीपति वर्गका नेता–कार्यकर्ताको जीवन–व्यवहार अवलोकन गर्दा कर्णालीमा जन्मेर विकास भएको नेपाली भाषाको अन्तर्राष्ट्रियकरण हुँदै फेरि कर्णाली भाषामा विकृत भई पतन हुने देखिन्छ । सरकारी कम्युनिस्ट पार्टी र सरकार आफ्नै कर्मले आजको विश्वराजनीतिमा चर्चित ‘बे्रक्जिट’ शब्दलाई पच्छ्याउँदै अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) होइन, नेकरकाका रूपमा विकृति भई पतन हुने देखिन्छ । नेपाल र करका मिलेर ‘नेकरका’ बनेको हो । कर्णालीमा करकाको अर्थ बेहिसाबले वा बेसुरले खाने भन्ने हुन्छ । यसरी नेकरकाको अर्थ भयो बेहिसाबले वा बेसुरले नेपाल खाने जो आज भैरहेको छ । नेपाली अर्थतन्त्रको नेतृत्वमा गरिरहेको र सरकारी कम्युनिस्ट पार्टीमा हाबी हुँदै गएको यो नवधनाढ्य दलाल पुँजीपति वर्गले राज्यशक्तिको माध्यमबाट बेहिसाब/बेसुरले नेपाल खाँदै गएको छ । विकास र समृद्धिको आकर्षक नारा दिएर समग्र देश र जनताको होइन, आफ्नो मात्र समृद्धि गरिरहेको छ जसबाट अर्को चुनावमा पनि विजय सुनिश्चित गर्न सकियोस् अर्थात् जितका लागि वैधानिक लूट अनिवार्य छ । यो प्रक्रियामा कानुनी राज्य अवरोध हुन सक्छ । द्वन्द्वको सिर्जना र फासिवादको अभ्यास आवश्यक पर्छ । त्यसैको पूर्वतयारीका रूपमा नै आज कानुनी राज्य कायम भएको भ्रम दिन खोजिँदैछ । जब त्यो नवधनाढ्य दलाल पुँजीपतिवर्गको स्वार्थमा धक्का लाग्नेछ तब उसको माक्र्सको शब्दमा ‘निजी स्वार्थका राक्षसी रूपहरू’ सतहमा आउनेछन् र विध्वंस मच्चाउनेछन् । यसले सरकारी पार्टीमा झगडाको रूप लिएर केही परिवर्तन पनि हुन सक्छ तर यो वर्गको नेपाल खाने चरित्रमा कुनै परिवर्तन हुनेछैन ।

अन्त्यमा, नामअनुसार काम र कामअनुसार नाम हुनु विज्ञानको सङ्गति हो किनभने कुनै पनि अन्य वस्तुभन्दा भिन्न विशिष्ट पहिचानको अभिव्यक्ति नामबाट नै हुन्छ । सारअनुरूप रूप हुनुपर्छ अर्थात् वस्तु जे हो त्यही रूपमा पहिचान दिने नाम हुनुपर्छ फेरि पनि वस्तुको सार, गुण र काम नै मुख्य हो । यसरी हेर्दा सरकारी कम्युनिस्ट पार्टी नाम मात्रको कम्युनिस्ट पार्टी हो । खासमा यो नेकरकाको पहिचान बनाउँदै गएको छ । त्यसका लागि कम्युनिस्ट नामलाई मात्र ट्रेडमार्कका रूपमा प्रयोग गरिरहेको छ जसबाट नेपालमा धेरै नाफा/फाइदा भएको छ र चिनियाँ अनुभव लागू गर्दा घाटा हुनेछ ।

त्यसैले सी जिनपिङको अनुभवलाई एक कानले सुनेर अर्कोबाट उडाइनेछ अनि जनताको आशा र अपेक्षामा तुसारापात हुनेछ । जुन दिन यो यथार्थ जनताले बुझ्नेछन्, नक्कली कम्युनिस्ट चिन्नेछन् र जनआन्दोलनबाट त्यो दिन नयाँ क्रान्ति अगाडि आउनेछ जुनसुकै रूपको लुटतन्त्र वा दमनतन्त्र ध्वस्त हुनेछ । देश, समाज र जनता नयाँ व्यवस्थातिर अगाडि बढ्नेछन् र त्यो व्यवस्था वैज्ञानिक समाजवाद हुनेछ ।

फुटनोट

 महाभूतबारे

चीनले साँच्चै कम्युनिस्ट महाभूतको प्रतिनिधित्व गरेको छ कि छैन विशलेषण हुन सक्ला, त्यो अर्कै विषय हो तर शासकहरू चैैनको निद्रा सुत्न सकेका छैनन् । जो आफूलाई मात्र समुन्नत र सर्वोत्कृष्ट ठान्छन् । वास्तवमा माओले भनेझैँ ‘कि विश्वयुद्धले विश्वक्रान्ति जन्माउँछ कि त विश्वक्रान्तिले विश्वयुद्ध रोक्दै र विश्व नयाँ व्यवस्थातिर प्रवेश गर्छ । त्यो व्यवस्था वैज्ञानिक समाजवाद हुनेछ ।

 वैधानिक समस्याबारे

ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएकाले सरकारी कम्युनिस्ट पार्टीले कोष्टमा नेकपा राखेर दर्ता भयो । विद्यमान नेपाली राजनीतिले त्यो कोष्टको नेकपालाई नेकप्कामा रूपान्तरण गर्ने स्थिति छ ।

 हुम्ली जनताको के भविष्यवाणी थियो भने २०५९ सालतिर तत्कालीन नेकपा (माआवादी) को एक श्रद्धाञ्जलीसभामा बोल्ने एक जनताले भनेका थिए– नेप्का (हुम्लाको एक गाउँ) का माओवादीका ठूला नेतालाई श्रद्धाञ्जली छ । उनको यो अञ्जान भविष्यवाणी प्रचण्ड पतनले साकार बनायो ।

 करकाबारे

पश्चिमतिर यस्तो भनिन्छ ‘करका करका कति सक्छस् करका’ लाटोले कद्दु (फर्सी) करकाएजस्तै के खान्छस् ? यसको अर्थ बेहिसाब र बेसुरले खाने भन्ने हुन्छ । आज कम्युनिस्ट सरकारको भ्रष्टाचार गर्ने, पैसा कमाउने शैली त्यही करकाइको छ यसले समाजवाद होइन, भोगविलासवादको विकास हुन्छ । -रातोखबर