अनखबर / पौष २३

गुल्मीको छत्रकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप ऐम्बुलेन्स वापतको खर्च रकम दिने भएको छ ।

गाउँपालिकाको सातौँ वार्षिक साधारण सभाले गाउँपालिकाका वडामा रहेका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई नगद रु २ हजार र अन्य सूचीकृत स्वास्थ्य संस्था तथा बाहिर लैजानुपर्ने अवस्था आएमा ऐम्बुलेन्स खर्च बापत ३ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।

गाँउपालिकाका सबै सुत्केरी तथा गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने परिपाटीको अन्त्य गर्ने र आमा र शिशुको स्वास्थ्य स्वस्थ राख्ने उद्देश्यले कार्यक्रम तय गरिएको बताइएको छ । साथै उहाँले साउनदेखि हालसम्म नै स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई उक्त रकम दिने की अब सुत्केरी हुने महिलालाई मात्रै दिने भन्ने बारेमा छलफल भईरहेको बताउनुभयो । पालिका भित्रका प्रत्येक वडामा बर्थिङ् सेन्टर रहेकोले सुरक्षित रुपमा सुत्केरी हुन पनि आग्रह गर्नुभयो ।

त्यस्तै सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत गाउँपालिकाले अण्डा र क्याल्सियम ट्याब्लेट पनि वितरण गर्दै आईरहेको छ । बच्चा र आमाको पोषण व्यवस्थापनमा सहयोग होस् भन्ने उद्धेश्यले उक्त सामाग्री वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताउनुभयो ।

गाउँपालिकाले तोकेको मापदण्डअनुसार गर्भवती तथा सुत्केरी महिलाले परीक्षणका चरणहरू पार गर्नुपर्ने र पालिकाको स्थायीवासी तथा बच्चाको जन्मदर्ता भए सेवा प्रदान गरिने अध्यक्ष पन्तको भनाई छ ।