अनखबर
फागुन १, बुटवल । माओवादी जनयुद्ध घोषणा भएको २३ बर्ष पुरा भएको छ । २०५२ फागुन १ अर्थात् फेब्रुवरी १२, १९९६ नेपालको इतिहासमा सदैव स्मरणीय दिन हुनेछ । उक्त दिन नेपालका बहुसंख्यक गरिब जनताको मुक्तिका लागि तत्कालीन नेकपा (माओवादी)ले महान जनयुद्धको घोषणा गरेको थियो । माओवादीले “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अगाडी बढौं !” भन्ने नारासहित नेपाली जनतालाई अपील गरेको थियो ।
नेपाली इतिहासमा जनस्तरबाट राज्यसत्ता कब्जा गर्ने गरी जनमुक्ति सेना निर्माण गरेर एक दशकभन्दा लामो समयसम्म फौजी संघर्ष गरेको यो पहिलो घटना थियो । दश बर्षको महान जनयुद्धको अवधिमा जनताले आफ्नै सेना बनायो, जनसत्ता निर्माण ग¥यो, क्रान्ति सम्भव छ भनेर दुनियाँलाई देखाइदियो । हजारौं महान सहिदहरुले बलिदान गरे, हजारौंकै संख्यामा वेपत्ता भए, घाइते भए, कष्टपूर्ण जेलनेल र यातना भोगे ।
विश्व कम्युनिष्ट आन्दोलनमा खु्रश्चोभी संशोधनवादको हावाहुरी चलिरहेको बेला नेपालको महान जनयुद्धले संसारभरिका क्रान्तिकारी जनतामा नयाँ उत्साह र तरङ्ग ल्याइदियो । संसारभरिका उत्पीडित न्यायप्रेमी जनतामा नयाँ आशा जगायो । सोभियत संघको पतनसंगै साम्राज्यवादले जसरी ‘समाजवाद मृत्यु’को घोषणा ग¥यो, त्यसैगरी नेकपा माओवादीले नेपालबाट विश्व साम्राज्यवादका विरुद्ध क्रान्तिको झण्डा उठायो ।  नेपालमा माओवादी जनयुद्ध शक्तिशाली हुँदै गएपछि भारत, अमेरिका, बेलायत लगायतका साम्राज्यवादी शासकहरु खनिए । भारतीय शासकवर्ग र अमेरिकाले माओवादीलाई आतंककारी घोषणा ग¥यो । महान जनयुद्धको कत्लेआम गर्न युद्ध सामग्रीहरुको व्यापार ग¥यो । संसारभरका साम्राज्यवादी शक्तिहरु लाग्दा पनि माओवादी जनयुद्धलाई तह लगाउन सकेन । नेपालको प्रतिगामी संसदीय सत्तालाई विदेशी साम्राज्यवादी शक्तिहरुले ठूलो पैमानामा आर्थिक तथा सैन्य सहयोग गरेपनि माओवादी जनयुद्ध झनै देशभर सल्कियो ।
माओवादी जनयुद्ध समग्रमा क्रान्ति थियो । माओवादी जनयुद्ध शासकवर्गको शोषण उत्पीडनबाट थिचिएका गरिब नेपाली जनताको मुक्तिको महान सपना थियो । यद्यपी शान्ति सम्झौतासंगै जनयुद्धले उठाएका मुद्दाहरु सम्झौतामा टुङ्ग्याइयो । बलिदानले निर्माण भएको महान जनयुद्धको इतिहासमाथि प्रचण्ड–बाबुरामले सम्झौताको नाममा प्रतिक्रान्तिको बुलडोजर लगाए । जनमुक्ति सेना, जनअदालत, जनसत्ताहरु भङ्ग गरिए । क्यान्टोनमेनमा रहेका जनमुक्ति सेनाहरुको चेक खोसेर रुँदै घर फर्काइए ।
महान जनयुद्ध आफैमा वर्गसंघर्ष थियो । वर्गसंघर्षको माध्यमद्धारा गरिब नेपाली जनताको पक्षमा वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्नु थियो । नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लैंगिक समस्या समाधान गर्ने महान यात्रा थियो । नेपाली गरिब जनताले आप्mनो सत्ता आफै निर्माण गर्ने संकल्प थियो ।
सामन्ती राजतन्त्रको जुठोपुरो खाएर आएका संसदीय दलहरु कांग्रेस–एमाले लगायत अभिजात वर्गमा हुर्केकाहरुले माओवादी जनयुद्धलाई नेपालको कालो इतिहासको रुपमा चित्रित गर्न खोजे र अहिले पनि खोजिरहेका छन् । उनीहरु महान जनयुद्धले समाजका तल्लो निम्छरा वर्गको शीर ठाडो बनाएर हिडेको प्रति आक्रोशित थिए । राज्यको सम्पत्तिमाथि ब्रम्हलुट मच्चाउँदै आएको कुलिन वर्गको सपना माओवादी जनयुद्धले चकनाचुर बनाइदियो । तर बिडम्बना ! हजारौं योद्धाहरुको रगतले निर्माण भएको महान जनयुद्धको गौरवमय इतिहासलाई प्रचण्ड–बाबुरामले चुट्कीमा कुर्सीसंग बेचे । महान सहिद, घाइते तथा वेपत्ता योद्धाहरुका सपनालाई ध्वस्त पारे र सिंगो माओवादी आन्दोलनलाई संसदवादमा विसर्जन गर्न दुस्प्रयत्न गरे ।
आज माओवादी आन्दोलनको २३ बर्षसम्म आइपुग्दा क्रान्तिकारीहरुले गम्भीरतापूर्वक समीक्षा गर्नु आवश्यक छ । महान जनयुद्धको गौरवमय गाथालाई संसदीय भासमा विर्सजन गराएका साम्राज्यवादका दलाल तथा दक्षिणपन्थी संशोधनवाद प्रवृत्ति विरुद्ध कठोर वैचारिक संघर्ष चलाउँदै फेरि क्रान्तिलाई नयाँ शिरावाट अगाडी बढाउन सम्भव छ कि छैन ? क्रान्तिकारीहरु यतिखेर ठूलो अग्निपरिक्षामा उभिएका छन् ।
आज गाउँ र शहरबीचको अन्तरसम्वन्ध, मुख्यतः सूचना प्रविधि र यातायातले गाउँमा ल्याएको परिवर्तन, पछिल्लो समयमा दलाल पुँजीवादले ल्याएको विकृतिका कारण करिब ७० लाख युवाहरुको विदेश पलायन, गाउँमा युवाहरुको शून्य उपस्थिति लगायतका भूयथार्थले पनि अहिले हामीले दीर्घकालीन जनयुद्ध भनेर मात्र पुग्नेवाला छैन । नेपाली समाजमा आएको ठूलो परिवर्तनलाई हामी आँखा चिम्लेर अस्वीकार गर्न सक्दैनौ ।
नेपाली समाजका देखिएका पछिल्ला अन्तरविरोधहरुमा आएको कयौं परिवर्तनलाई पकडेर नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको छ । यसले दलाल प्रतिक्रियावादी र माओवादी आन्दोलनमा देखा परेको अवसरवादका विरुद्ध एकैचोटी जेहाद छेडेको छ । यो क्रान्ति नेपाली वर्गसंघर्षको नितान्त नौलो मोडल हो । फेरि संसारमा पूर्ण र अकाट्य भन्ने चिज केही पनि हुदैन । माक्र्सवाद समेत पूर्ण छैन भनेर कमरेड लेनिनदेखि माओसम्मका नेताहरुले भनेको कुरा हो । एकीकृत जनक्रान्तिको मोडल पनि पछिल्लो नेपालको सन्दर्भमा विकसित भएको नितान्त नयाँ विचार हो । यसको प्रयोग र विकसित हुँदै गर्दा सार्वभौम सिद्धान्तको रुपमा विकास गर्न सकिने कुरालाई नर्कान सकिदैन ।
यहाँ विशेष स्मरणीय कुरा के छ भने महान जनयुद्धमा झण्डै १७ हजार नेपालीको सहादत भएको छ र हजारौंको संख्यामा घाईते बेपत्ता भएका छन् । महान जनयुद्धको सिंगो प्रक्रियामा नेपाली जनताका वीर वीरङ्गनाहरुको उच्च त्याग, वीरता र बलिदानको अद्धितीय किर्तिमान कायम भएको छ । ति महान योद्धाहरुका सपनाहरु अझैसम्म विपनामा बदलिएका छैनन् र नेपाली जनताको जनवादी व्यवस्था निर्माण भइसकेको छैन । ति महान सपनाहरु पुरा गर्न प्रतिवद्ध हुनु जनयुद्ध दिवस मनाउनुको अर्थ हो ।