• हालै गिरफ्तार भएर रिहा हुनुभएको छ, के भन्नुहुन्छ ?

फागुन १ गते महान् जनयुद्ध दिवसको २५ औँ उत्सव मनाउन हामी सुन्धारामा जम्मा हुँदै थियौँ । पार्टी र जबससहितको संयुक्त कार्यक्रम थियो । सुन्धारमा भेला हुने र जनयुद्ध दिवसको २५ औँ उत्सवमा नेपालको परिवर्तनको आन्दोलनहरुमा महान् सहिदहरुलाई श्रद्धाञ्जली दिने, बेपत्ता योद्धाहरुको स्मरण गर्ने, घाइते योद्धालाई सम्मान गर्ने र सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरुमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम थियो ।

उक्त कार्यक्रममा सहभागी हुँदै गर्दा हिजो जनयुद्धको नेतृत्व गरेका र आज आत्मसमर्पण गरेर दलाल संसदीय व्यवस्थाको मसिहा बन्न पुगेका केपी–पिके सरकारको निर्देशनमा मलगायत दर्जनौँ कमरेडहरुलाई गिरफ्तार गरिएको थियो ।

०      अखिल (क्रान्तिकारी) माथि अघोषित प्रतिबन्ध लगाइएको छ, के भन्नु हुन्छ ?

हाम्रो संगठनमाथि अघोषित प्रतिबन्ध लगाउने कार्य अनैतिक र कायरतापूर्ण कार्य हो । आजको व्यवस्थामा सत्तासीनहरुले के बुझ्नु पर्दछ भने विगतको महान् जनयुद्ध, जनआन्दोलनलगायतका थुप्रै मुक्ति आन्दोलनहरुमा अखिल (क्रान्तिकारी) ले बलिदानीपूर्ण भूमिका निर्वाह गरेको  छ । तर, आजका नैतिकता गुमाएका शासकहरु हिजोका पञ्चेहरुभन्दा तल गिरेर हामीमाथि अघोषित प्रतिबन्ध थोपरिरहेका छन् । यो कार्य अत्यन्तै घीनलाग्दो हर्कत हो ।

हामीले शान्तिपूर्ण रुपमा विद्यार्थीका शैक्षिक एजेण्डामा संघर्ष गरिरहेका छौँ । नेपालमा शिक्षा क्षेत्रमा भएको डरलाग्दो निजीकरण, व्यापारीकरण र माफियाकरणको विरोध गरिरहेका छौँ । अहिलेको पुँजीवादी कानुनले पनि हामीले गरिराखेको कामलाई लिएर प्रतिबन्ध गर्नुपर्ने कुराको कल्पनासमेत गरेका छैनौँ ।

त्यसकारण शान्तिपूर्ण आवजहरुमाथि प्रतिबन्ध गर्नु सौद्धान्तिक दृष्टिले घोर अवसरवादी, दक्षिणपन्थी फासीवाद हो भने व्यवहारिक दृष्टिले लज्जास्पद र घीनलागदो कार्य हो । तर, हामीलाई प्रतिबन्धको कुनै प्रवाह छैन, हामी हाम्रो काम गरिनै रहेका छौँ, आमयुवा विद्यार्थीहरुको आवाज बोलिनै रहेका छौँ, हामी हाम्रो कर्तव्यबाट कत्ति पनि हतोत्साहित र निराश छैनौँ, त्यसैले यो अघोषित प्रतिबन्ध डेट एक्स्पाएर भएको औषधिजस्तो भएको छ र यो प्रतिबन्ध पानीको फोकाझैँ निस्काम हुँदै गएको छ ।

०      आगामी दिनमा अखिल (क्रान्तिकारी) कसरी अगाडि बढ्छ, भावी कार्यक्रमहरु के छ ?

हाम्रो कुरा प्रस्टै छ कि हामी नेपालको शिक्षालाई राष्ट्र र जनताको आवश्यकताहरुको सम्बोधन गर्न सक्ने सबल र सक्षम शिक्षाको व्यवस्थाका लागि संघर्ष गरिरहेका छौँ । खासगरी नेपालको शिक्षामा निकै ठूलो समस्या छ, यसको सार र रुपमा धमिरा लागेको छ । सारलाई हामी शिक्षाको सैद्धान्तिक पक्ष भन्न सक्छौँ भने रुपलाई यसको व्यवहारिक पक्ष ।

सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले अहिलेको शिक्षा अपाङ्ग भएको छ । शिक्षाका लक्ष्य, उद्देश्य, एकिन नहुनु, शिक्षा किन दिने, कस्तो शिक्षा दिने, कसलाई र कसरी दिनेलगायतका महत्वपूर्ण सैद्धान्तिक सवालमा हाम्रो शिक्षा एकदमै अस्पष्ट छ । त्यसैगरी, व्यवहारिकरुपमा महँगो, विभेदपूर्ण पहुँचको अभाव, शैक्षिक बेरोजगारीको अवस्था, शिक्षामा निजीकरण, व्यापारीकरण आदि समस्या दिनको घामझैँ छर्लङ्ग छ । यसरी सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले भ्रष्टीकरणमा परेको शिक्षालाई सही ढङ्गले व्यवस्थापन गर्नका लागि हाम्रो सम्पूर्ण आगामी कामहरुलाई केन्द्रित गर्नेछौँ ।

०      शिक्षा क्षेत्रमा दलालीकरण, निजीकरण, व्यापारीकरण बढिरहेको छ, यस विषयमा के सोच्नुभएको छ ?

तपाईंले उल्लेख गर्नुभएको कुरा शिक्षा क्षेत्रका कहालीलाग्दो समस्या छन् । शिक्षाजस्तो सामाजिक र जनसेवाको क्षेत्रमा व्यापारीहरुको हालिमुहाली हुनु अत्यन्त दुःखद् कुरा हो । शिक्षा क्षेत्रमा यस्ता सम्पूर्ण खराबीहरुको मूल स्रोत भनेको अहिलेको दलालहरुको सत्ता नै हो ।

अहिलेका शासकहरु नै यस्ता काममा लागेका छन् । शिक्षाका व्यापारीहरु राज्यको नीति, निर्माण तहमा पुगेका छन् र तिनले राज्यका सम्पूर्ण नीति निर्माणको तहलाई नै ह्याक गरेका छन् र आफ्नो व्यापानुकुलित निर्णय गराइरहेका छन् । अहिलेका शासकहरु कतिसम्म अनैतिक र अनुदार छन् भने संविधानमा शिक्षालाई निःशुल्क र अनिवार्य मौलिक हकको रुपमा लेखेका छन् तर हास्यास्पद रुपमा तिनै शासकहरुको प्रत्यक्ष वा परोक्ष संलग्तामा शिक्षामा निजीकरण र व्यापारीकरण बढिरहेको छ ।

संविधान, भाषण र बोलिचालीमा अब समाजवाद ल्याउँछौँ भन्ने तर शिक्षालगायत सम्पूर्ण क्षेत्रलाई कुनै व्यापारी वा घरानालाई सुम्पँदै जाने अहिलेका शासकहरुको लज्जास्पद कार्य हो । त्यसकारण शिक्षालाई समाजवादी बनाउन, राष्ट्र र गरिब किसान जनताको दिनदैनिकी आवश्यकताको परिपूर्तिलाई शिक्षासँग जोड्न हामीले निरन्तर संघर्ष गर्नुपर्दछ र गरिरहेका पनि छौँ ।

०      स्ववियुको निर्वाचन स्थगित भएको छ, यसमा संगठनको धारणा के छ ?

यो अत्यन्तै दुःखद् कुरा हो । अहिले विश्वविद्यालय राजनीतिक भागवण्डाको शिकार भएको छ । विश्वविद्यालयहरु अस्तव्यस्त छन् । स्वविु विद्यार्थीहरुको साझा संस्था हो तर यो स्ववियु विद्यार्थीप्रिय छैन । सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले स्ववियुको पुनर्संरचना आवश्यक छ । पुरानै ढर्राको स्ववियु निर्वाचनको कुनै अर्थ पनि छैन । त्यसैले हामीले स्ववियुको सैद्धान्तिक र व्यवहारिक पुनर्संरचनाको वा पुनर्गठनको माग गरेका छौँ ।

अहिलेको स्ववियु पञ्चायतकालीनभन्दा पनि पश्चगामी भएको छ । पञ्चायतकालमा राजनीतिको अगुवाई गरेको स्ववियु अहिले राजनीतिबाट होइन भ्रष्टहरु उत्पादन गर्ने थलोझैँ बनाइएको छ । भ्रष्टाचार गर्न सिक्ने र सिकाउने पाठशालाझैँ भएको छ, स्ववियु । स्ववियुका नेताहरु संगठनको नीतिमाभन्दा कमाउधन्दामा बढी लागे, त्यसैले स्ववियुको विषयमा व्यक्तिभन्दा पनि प्रणालीमा जोड दिनुपर्दछ । त्यसकारण नयाँ परिभाषासहित तत्काल स्ववियु निर्वाचन हुनुपर्दछ ।

०      अन्त्यमा, १३ दिनको हिरासत बसाइपछि रिहा भएर आउनुभएको छ, केही भन्नु छ कि ?

२५ औँ महान् जनयुद्ध दिवस मनाउने क्रममा गिरफ्तार भए र १३ औँ दिनपछि रिहा भएँ । म र अन्य कोही पनि विद्यार्थीका नेता, कार्यकर्ता साथीहरुलाई गिरफ्तार गरेर भूmठा मुद्दामा फसाउने प्रपञ्च सरकारले गर्दै आएको छ र सरकार असफल हुँदै आएको पनि छ । विचार र आस्थाको आधारमा गिरफ्तार गरी यातना दिनु, भूmठा मुद्दामा फसाउन खोज्नु भनेको सरकार शान्तिपूर्ण आवाजसँग कतिसम्म डराएको छ भन्ने देखाएको छ ।

सरकारले आफ्नै भ्रष्ट र अनैतिक कार्यहरुलाई ढाकछोप गर्न यस्ता हर्कत गर्ने गरेको छ, त्यो बन्द गरिनुपर्दछ । हाम्रो संगठनका सैयौँ नेता, कार्यकर्तालाई थुनिएको छ, म उहाँ साथीहरुको तत्काल रिहाइको जोडदार माग गर्दछु । म, हाम्रो संगठनका कोषाध्यक्ष कमरेड नरेन्द्र, प्रकाशलगायतका कमरेडहरुको रिहाइको पहल गर्ने नेपाल बार तथा कानुन व्यवसायीहरु, अधिकारकर्मी, कार्यकर्ता, शुभचिन्तक, जनता सबैमा धन्यवाद दिन चाहन्छु ।-क्षेप्यास्त्र साप्ताहिकवाट