अनखबर
असार ९ काठमाण्डौं । फेरी लकडाउन हुन्छ रे , सरकारले कडा गर्दैछ रे , यो चिन्ता अहिले आम मानिसमा शुरु भएको छ । यसै सन्दर्भमा सरकारले भने मोडालिटी फेरेर प्रभावित क्षेत्रहरुको मुल्याकंनका आधारमा लकडाउन कडा पार्ने तर सबै तिर शुरुमा जस्तो लकडाउन कडा नपार्ने नीति लिएको छ ।

नेपालमा ११ चैत्रदेखि कडा रुपमा लागू गरिएको लकडाउन जेष्ठ ३२ गते सम्म पटक पटक अवधि थपरेर लागू गरिएको थियो । तर असार १ पछि भने हिडडुल र सवारी , बजार पसल खोलेर लकडाउन खुकुलो बनाईएको थियो ।
बजार–पसल, बैंक तथा वित्तिय संस्था, उद्योगधन्दा, विकास निर्माणका काम चलिरहेका छन् ।

यही मौकामा उपत्यका बाहिरबाट उपत्यका भित्रने क्रम पनि तीव्र भएको छ । भिडभाडमा महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्नेसहित विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड पालना गरेको पनि देखिँदैन । यही अवस्थाबीच सरकारले महामारी अनियन्त्रित रुपमा फैलन सक्ने आंकलनसहित पुनः लकडाउनको तयारी गरेको छ ।
तर अबको लकडाउन देशभर एकै प्रकारको भन्दा पनि प्रभावित, कम प्रभावित र न्युन प्रभावित क्षेत्रहरुका आधारमा हुन सक्ने बताईएको छ ।

अबको लकडाउन सापेक्ष रुपमा अति प्रभावित क्षेत्रमा कडा र कम प्रभावित क्षेत्रमा केही खुकुलो पार्ने गरी मोडालिटिका साथ हुन सक्ने राष्ट्रिय संकट व्यवस्थापन केन्द्र ( सिसिएमसी) का एक सदस्यले बताए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पहिला जस्तो सोलोडोलो लकडाउन नहुने बताएका छन् ।
महामारी अथिप्रभावित क्षेत्रमा सीसीएमसी र संघीय सरकारसँग समेत समन्वय गरेर सम्बन्धित प्रदेश वा स्थानीय तहले निश्चित समयका लागि लकडाउन गर्न सक्नेछन् । अहिले रसुवा बाहेक देशका ७६ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । उपत्यका भित्र छिर्ने र बाहिर जानेहरुको भीड उत्तिकै छ भने मानिसहरुको भीडभाड पनि उत्तिकै बाक्लो छ ।

यसअघि केन्द्र सरकारले लकडाउन घोषणा गरेकामा अब प्रदेश सरकारलाई जिम्मेवार बनाउने र सम्बन्धित जिल्ला वा पालिकालाई सिल गर्ने जिम्मा प्रदेश सरकारलाई सुम्पेको छ । गत ४ असारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)को बैठकले कोरोनाको संक्रमण फैलँदै गएमा सम्बन्धित जिल्ला वा पालिका सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हो । सिसिएमसी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रदेशले त्यसरी जिल्ला वा पालिका सिल गराउँदा सिसिएमीलाई जानकारी गराएर गराउन सक्नेछ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ भने २३ जनाको मृत्यु भईसकेको छ । साथै २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् ।