नेपाल प्रकृतिको एक अनुपम उदाहरण हो । प्राकृतिक सुन्दरतामा नेपालक विश्वकै धनी मुलुक हो । भौगोलिक विशेषताका आधारमा नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । भौगोलिक विविधता जस्तै यहाँको सामाजिक ,सांस्कृतिक र धार्मिक पक्षमा पनि विविधता रहेको छ । जे–जस्तो विविधता रहेतापनि अनेकतामा एकता जस्तै हामी सूत्रबद्ध भएर एउटै मालामा उनिएर बसेका छौँ ।

कुनै पनि वस्तुमा निहित सौन्दर्यलाई शब्दभित्र बाँधेर व्यक्त गर्न खोज्दा लेखाइ उत्कृष्ट बन्न नसक्ला तर त्यसलाई अनुभूत गर्दा भने अझ बढी सौन्दर्य थपिने कुरामा कुनै शंका नहोला । प्रकृतिको न्यानो काखमा अवस्थित मेरो गाउँको आज पाना पल्टाउदै जाँदा एकातर्फ यहाँ झल्किने प्राकृतिक,सांस्कृतिक,धार्मिक, ऐतिहासिक र सामाजिक पक्षहरुको सौन्दर्य जो कोहीलाई पनि पूर्ण सन्तुष्टि दिने क्षमता बोकेका छन भने अर्को तर्फ अतीतका स्मृति चित्रहरुले पुनर्ताजगी समेत प्रदान गर्नेछन् ।

जुनसुकै दृष्टिकोणबाट नियाल्दा पनि मेरो गाउँ सिङ्गो नेपालको प्रतिनिधित्व गर्ने गाउँ हो भनेर भन्दा कुनै अत्युक्ति नहुने कुरामा म विश्वस्त छु । चारैतिर पहाडले ढाकिएको, सर्वत्र हरियाली छाएको रमणीय गाउँ हो मेरो गाउँ जहाँ अनेकौ प्राकृतिक छटाको रसास्वादन गर्न सकिन्छ र । हरियो वन नेपालको धन’को प्रतिबिम्व हो मेरो गाउँ । जलस्रोतकै धनी देशको नमुना हो मेरो गाउँ । मन्दिरै मन्दिरको देश प्रतिबिम्वित हुने ठाउँ पनि हो मेरो गाउँ । यति मात्र कहाँ हो र, विविधतामा एकताको पाठ सिकाउने ठाउँ पनि हो मेरो गाउँ । हजारौं वर्षदेखि यहीँको माटोमा जन्मेर यहीँका पाखापखेरा र धुलो माटोमा खेल्दै रमाउँदै जीवनको अनन्तकालसम्म अन्तिम सास फेरेका सबैले यहाँको यो सुन्दरतालाई स्पर्श गर्दै आएका छन् । यहाँ बहने हावाँसँग चिरपरिचित छन् । प्रत्येक बिहान उदाउने सूर्यसँग र बेलुका अस्ताउने घामसँग पनि अगाध माया प्रेम गाँस्तै आएका छन्।

पश्चिम्त्तोरको दिशामा जिल्लाकै प्रख्यात तीनकन्या अकलादेवी मन्दिर छन्, जहाँ टाढा–टाढाबाट दर्शनार्थीहरु आफुले चिताएको फल प्राप्त गर्न सकिने धार्मिक विश्वासका आशामा भेटी चढाउन आउने बच्चादेखि वृद्धसम्मका व्यक्तिहरुको घुइँचो नै हुन्छ । यो ठाउँमा विभिन्न किसिमका चाडपर्वमा पूजाआजा गर्नको लागि मानिसहरुको भीड लाग्दछ । तीनकन्या देवीको आशीर्वादले आफुले आँटेका काम सिद्ध हुने धार्मिक विश्वास रहदै आएको छ भने देवीको आशीर्वादले सानो ठुलो केही न केही फल प्राप्त हुने मन्दिरका बारेमा जानकारहरु बताउछन् । जे होस यस मन्दिरमा विभिन्न आशा लिएर आउनुहुने भक्तजनहरु खाली हात फर्कन नपर्ने रहेको छ । त्यस्तै गरी नेपालको सुन्दर नगरी एवं प्रख्यात नगर वालिङ नगरपालिका जो आफैमा एक सफल स्मार्ट सिटीको रुपमा स्थापित हुन तीव्र गतिमा अगाडि बढिरहेको छ त्यही नगरको शिरमा रहेको गह्रौसुर देवीको मन्दिर पनि मेरै गाउँको पूर्वमा पर्दछ । त्यहाँ विभिन्न किसिमका मेला पर्वमा हजारौँको संख्यामा दर्शनार्थीहरु जाने गरेका छन् । विशेष गरी हिन्दूहरुको महानपर्व बडादशैको सप्तमी, अष्टमी र नवमीमा मन्दिरमा आफुले चिताएको कुरा पूरा भएपछि बलि चढाउन जाने र मन्दिरको पूजाआजा दर्शन गर्न जाने दर्शनार्थी भीडलाई छिचोलेर मन्दिरभित्र प्रवेश गर्नलाई जो कोहीलाई पनि हम्मेहम्मे पर्दछ । देवीसँग मागेको फल प्राप्त भएपछि बलि चढाउने यो मन्दिरको पुरानो परम्परा हो भने धेरै टाढाबाट आफुले चिताएको काम सिद्ध हुने आशामा मानिसहरु दर्शन एवम् पूजाआजा गर्न आउने धार्मिक सम्पदा पनि हो । शान्त एवम् सुन्दर मनमोहक रमणीय प्राकृतिक वातावरणको काखमा रहेको मन्दिरबाट नियाल्दा देखिने वरिपरीको दृश्यलगायत डाँडाकाँडा,नदीनाला,भीरपाखा,वनबुटैयाहरुको दृश्य अत्यन्तै मनमोहक देखिन्छ । त्यस्तै शान्त एवम् सुन्दर रमणीय प्राकृतिक वातावरणको काखमा मेरो गाउँको पश्चिममा अवस्थित केदारनाथ मन्दिरको तल भालुपानीको वनका वृक्षहरु आँधिखोलामा प्रतिविम्वित भएको दृश्यले सधै नै मन्दिरकै अनुहारमा झन चमकता थपिदै गएको भान हुन्छ । कलकल बग्ने मुलको चिसो पानी र वनमा रहेका चराचुरुङ्गीहरुको चिरविर स्वरले भावनामा डुब्ने सबैलाई प्रफुल्लित बनाउँछ । केदारनाथ मन्दिरको धार्मिक महत्व पनि उत्तिकै रहेको छ । मन्दिरमा जानका लागि ग्रामीण सडक रहेको छ । कष्टकर यात्राका बावजुत पनि दर्शनार्थी आफुले चिताएको फल प्राप्त भएको वा हुने आशामा दर्शनकालागि यहाँ आउने गरेका छन्। यस मन्दिरमा टाढा-टाढाबाट वर्षको कम्तीमा एक पटक केदारनाथ भगवानको लागि दर्शन एव दुप र धँयर दिनको लागि जाने परम्परा जीवित रहेको छ । यस मन्दिरमा धुपधार दिएमा घरमा कहिल्यै पनि दुधको संकट नहुने र पशुचौपाया पनि राम्रो रहने धार्मिक विश्वास रहेको छ । यस क्षेत्रका मानिसहरु विशेषगरी पुस महिनाको समयमा यस मन्दिरमा जाने गर्दछन्। मन्दिरको पारिपट्टि चिउरीको गल्लो भिर रहेको छ , तलबाट आँधीखोला बगेको छ भने माथि सिद्धार्थ राजमार्ग रहेको छ । सोही ठाउँबाट नियाल्दा केदारनाथ मन्दिर आर्कषक देखिन्छ । मन्दिरको पृष्ठभूमिलाई राखेर खिचिएका तस्विरले धेरैका फेसबुकका वाल रङ्गिएका छन् । मन्दिरको विशिष्ट महत्व रहँदा रहँदै पनि मन्दिरसम्म पुग्नका लागि सहज सडक नभएका कारणले पनि कतिपय मानिसले दुख पाएका छन् । भविष्यमा सिद्धार्थ राजमार्गसँगै मन्दिरलाई जोड्न सकियो भने लाखौँको सङख्यामा आन्तरिक एवम् बाह्य पर्यटकहरु धार्मिक कारणले मात्र नभएर प्राकृतिक सौन्दर्यको चरम आनन्द प्राप्त गर्नको लागि देशकै एक उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन्। यदि यस्तो भएमा यस क्षेत्रको विकास सँगसँगै यहाँका मानिसहरुको जीवनस्तर उकास्न पनि टेवा पुग्नेछ भने धार्मिक एव पर्यटकीय हव समेत बन्नेछ ।

प्राकृतिक सुन्दराताकै वरदान एव प्याराग्लाइडिङ विश्वमै परिचत मानिने स्वरेक मैदान मेरो गाउँको उत्तरतर्फ पर्दछ,त्यहाँको सुन्दरतालाई नजिकबाट नियाल्ने कुनै जीवात्मा पनि लठ्ठ नपर्ला भन्न सकिँदैन । यहाँ प्याराग्लाइडिङ गर्नका लागि विश्वका अधिकांश देशबाट पर्यटक आउने स्थानका रुपमा परिचित रहेको छ । वालिङ बजारबाट नजिकै अग्लो ठाउँमा रहेको मैदानको सिरिसिर बहने हावासँगैको तलको फाँटको दृश्यले सबैको मन जितेको छ । विशेषगरी राष्ट्रिय एव अन्तर्राष्ट्रिय रुपमै प्याराग्लाइडिङको लागि उत्कृष्ट स्थलको रुपमा प्रसिद्धि कमाएको उक्त ठाउँमा हावामा सयर गर्दै प्रकृतिमा भएको सुगन्ध लिदै डुबुल्की मार्ने पर्यटकहरुको आगमनले त्यहाँको दृश्यमा झन बढी सुन्दरता र कलात्मकता थपेको छ । विकासले फड्को मार्दै जाँदा अझ धेरै सुन्दरतामा सजावट थपिने प्रसस्त सम्भावना रहेको छ । समग्र स्याङजा जिल्लाकै धरोहरको रुपमा रहेको अकलादेवी, गहौँसुर , केदारनाथ र स्वरेक मैदानको फेँदमा र आफ्नो कुनै गन्तव्य नै तय नगरे जस्तै गरेर निरन्तर रुपमा छङछङ गर्दै बग्ने आँधीखोलाको सुन्दर दृश्यले पनि मेरो गाउँको सुन्दरतामा सुनमा सुगन्ध थपेको छ।

मेरो गाउँ जलश्रोतमा पनि धनी छ । यहाँ सानाठुला पानीका खोल्सा, खोला, छहराहरु मात्र नभएर हिमालको कोखबाट उत्पत्ति भएका आँधीखोला र धार्मिक एवं पर्यटकीय र सिचाइको दृष्टिकोणले समेत प्रचुर सम्भावना बोकेको कालीगण्डकीले पनि नेपालमा मात्रै ख्याति कमाउने नभई यहाँको सुन्दरतामा श्रृङगार थप्ने काम गरेका छन्। यसले नेपालमै धेरै जलविद्युत उत्पादनमा सहयोग पुगेको छ जसका कारण उज्यालो नेपाल बन्न सफल भएको छ । त्यस्तै आँधीखोलामा पनि जलविद्युत आयोजना सञ्चालन गरेर नेपाललाई जलविद्युतको क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि सहयोग पुगेको छ । त्यस्तैगरी यस क्षेत्रमा जल यातायात सञ्चालन गरेर आन्तरिक एव बाह्य पर्यटक भित्राउन सकिने र यहाँका मानिसहरुको आर्थिक उपार्जनका प्रसस्त सम्भावनाहरु रहेका छन्। यो क्षेत्र विविध सम्भावना र अवसरहरुको खानी हो भन्दा पनि फरक पर्दैन । १४४ मेघावाट जलविद्युत आयोजना सञ्चालन भैसकेको कालीगण्डकी नदीले पनि पर्यटकीय दृष्टिले मात्र नभएर धार्मिक कोणबाट पनि त्यतिकै महत्व बोकेको छ । हिन्दू धर्मालम्बीहरुको एकादशी तिथिमा यस नदीमा हजारौँ भक्तजनहरु स्नान गर्न जाने गर्दछन् । हिन्दू धर्मशास्त्र अनुसार मानिसको मृत्युपछि अन्तिम संस्कार कालीगण्डकी नदीको तटमा गरेमा सोझै मोक्ष प्राप्त गर्न सकिने किंवदन्ती पनि छ । विश्वमा विरलै पाइने उत्तरवाहिनी नदी कालीगण्डकी नेपालमै शालिग्रामका लागि समेत प्रख्यात छ ।

नेपाल कृषिप्रधान देश हो । मेरो गाँउमा अधिकांश व्यक्तिहरु कृषि पेसामा आबद्ध छन्। धान, गहुँ,मकै, कोदो यहाँका प्रमुख कृषिबाली हुन्। यहाँ परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्न नसकिएता पनि फाट्टफुट्ट कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने भावनाको विकास हुन थालेको पाइन्छ । बाख्रा
पालन, बङगुर पालन, कुखुरा पालन, मौरी पालन, माछापालन, जस्ता व्यवसाय सञ्चालन गर्ने कार्यले क्रमिक रुपमा तिव्रता पाउन थालेका छन् । व्यावसायिक कृर्षि प्रणालीलाई उजागर गर्न वास्तविक कृषक पहिचान गरी स्थानीय निकायबाट टनेल वितरण गर्ने, सुन्तला,कागतीका विरुवाहरु वितरण गर्ने कार्यको थालनी पनि भैसकेको छ । आधुनिक कृर्षि प्रणलाीलाई अवलम्वन गरी कृर्षिमा आत्मनिर्भर बन्न सकिने सम्भावनाहरु प्रचुर मात्रामा देखिन्छ मेरो गाउँमा ।

“नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो” भनेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझै मेरो गाउँमा पनि विविध जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । ब्राहमण, क्षेत्री, गुरुङ , मगर आदि जातका मानिसहरुको बाहुल्यता रहेको मेरो गाउँमा मानिसहरु एक आपसमा बन्धुत्वको भावना उत्प्रेरित भई मिलेर बस्दै आएका छन् । हरेक सुख दुखमा हातेमालो गर्दै खेल्दै, रमाउँदै एवम मेलापात जाँदा अर्मपर्म गर्ने र गाउँघरमा रहँदा पनि एक आपसमा मिलेर बस्दै आएका छन् । लोकसंस्कृतिको क्षेत्रमा पनि मेरो गाउँ उत्तिकै अब्बल मानिएको छ । विशेषगरी हिन्दू धर्मालम्बीहरुको बसोबास रहेको मेरो गाउँमा हिन्दूधर्मालम्बीहरुले मनाउने विभिन्न चाडवाडमा परम्परागत तरिकाले रमाइलो गर्ने गरिन्छ । जस्तै कृष्ण जन्माष्टमीमा लाखे नाच नाचिन्छ भने नारीहरुको महान पर्व तीजमा पुरानो शैलीमा मादल बजाएर आफ्नै लय स्वरमा तीज गीतमा नाचेको दृश्यले मनमा तीज कहिले आउला भनेर काउकुती जगाउँछ । त्यस्तै हिन्दूहरुको महान चाड दशैँमा पुराण सुन्ने र भजनकिर्तन गरिन्छ। विभिन्न शक्तिपिठहरुमा बली चढाइन्छ , विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना
गरिन्छ , पिङ खेलिन्छ । दशैको बारेमा कल्पना गर्दा समेत मन रमाएर आउने गर्दछ । गाउँको विचमा ठुलो मन्दिर छ जहाँ दशैको समयमा दुर्गा भगवतीको पूजाआजा गरिन्छ ,गाउँभरिका मानिसहरु जम्मा हुने गर्दछन्। गाउँको वरिपरी खेतैखेतले भरिएको छ । दशैको समयमा धान पाक्न थालेको दृश्य मनमा सम्झदा पनि आनन्द महसुस हुन्छ । दशैँको बारेमा लेख्दालेख्दै म पनि काल्पनिक संसारमा रमाइसकेको हुन्छु ।त्यस्तै हिन्दुहरुको दोस्रो महान पर्व तिहारमा देउसी भैलो पनि परम्परागत शैलीमा मादल ,खैजडी र मजुरा बोकेर आफ्नै लयमा खेल्दाको मज्जा कुन स्वर्गमा होला र ! माघे सक्रान्ति लगायत अन्य विविध सांस्कृतिक कार्यक्रमहरुमा मादल, बाँसुरी बजाएर लोकभाकामा गीत गाउने र नाच्ने गरिन्छ ।

विविध प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले अति नै महत्व बोकेको मेरो गाउँमा यहाँको सुन्दरतासँग रम्न र रमाउन संस्कृतिसँगै आनन्द लिनको लागि घुम्नैपर्ने गन्तव्यको रुपमा स्थापित भएको छ सुन्दर अनि रमणीय मेरो गाउँ । अहिले कोरोना भाइरसको महामारीमा छट्पटिएको अवस्थामा सबै मिलेर महामारीलाई जित्नुपर्छ । पार लगाउनुपर्छ । कोरोना भाइरसका कारण आर्थिक उपार्जनका लागि सहर पसेका दाजुभाइ, अध्ययनरत विद्यार्थीहरुमा असर गरेको छ । धेरैको रोजगारी गुमेको छ । त्यस्ता मानिसहरुलाई मिलेर सहयोग गर्नुपर्छ । सकिन्छ भने आफ्नै गाउँमा आर्थिक उपार्जनका क्रियाकलाप गर्न प्रोत्साहान गर्नुपर्छ । यसमा स्थानीय निकायले पनि सहयोग गर्नुपर्छ । अवस्था सुधारिए पछि महामारीको कारणले गाउँ फर्कन विवश हुनुभएका दाजुभाइहरु सँगसँगै अकलादेवीे मन्दिर, गह्रौँसुर एवम् सेतीवेणी, स्वरेक मैदान लगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रमा भ्रमण गरौँला । आँधीखोलामा सँगै पौडी खेलौँला । हँसिलो मुहारको वरदान पाउनु भएका नमलाल डुम्रे दाजुको चिउरीको कटेजमा बसेर मेरो गाउँको सुन्दर दृश्यावलोकन गर्दै आँधीखोलाको चीसो पानीको माछाको मीठो स्वादमा हराउँला । उहाँसँगै बसेर नारन काकासँग रमाउँदै विविध समसामयिक विषयमा बहस गरौँला । अर्को दिन फेरि दाजु खेमप्रसाद पाठकको घरमा गएर काठे घारको मौरीको मह काढेर सँगै खाउँला । त्यसपछि केही महिनापछि हिउँद लाग्छ । हिउँदका पारिला घाममा खुल्ला चौरमा बसेर स्याङ्जाको रसिलो र मीठो सुन्तला पेट भरिने गरी खाऔँला । आखिर यस्तै सुखदुखको संगम नै त हो हाम्रो जीवन !
(लेखक:श्री सरस्वती मा.वि.का शिक्षक हुन ।)