शिव डुम्रे/ बुटवल
गुल्मीका मोहन खड्का कुनै बेला रिक्सा चलाउथे, रिक्साबाटै लड्दा खुट्टा भाचिँयो, उपचार गर्ने पैसासमेत नभएपछि उनको सडकमा बास हुन थाल्यो, विगत ६ महिनादेखी उनी बुटवलको मुटुमा रहेको प्रदेश सभा भवन जाने बाटोको एक घरको पेटीमा शरण लिएर बस्न थालेका छन् । यसरी बस्नेहरुमा उनीसँगै उनीजस्तै ४ परिवारहरु छन् । खड्का बस्ने र सुत्ने सडकको छेउबाट सयौं कर्मचारी, सुरक्षाकर्मीको बीचमा सयौं जनप्रतिनिधीहरु हिडिरहेका हुन्छन् । प्रदेश सभा अगाडी प्रदेशका सांसदहरुलाई लाज लाग्छ उनीहरुलाई बोलाउन पनी । उनीहरु दैनिक यसरी कुदिरहँन्छन मानौ ति सडकमा सुत्ने मानिस नै होईनन् । सामान्य ज्याला मजदुरी गर्दै जीविका चलाउँदै आएका उनीहरुलाई खाने, बस्ने ठाउँ त परै जाओस ओढ्ने ओछ्याउने समेत छैन, फर्ममा इटाको सिरानी लगाएर बर्काे ओढेर सुत्छन् ।
बडो गज्जबको कुरा ठिक १ बर्ष अघी अर्थात २०७६ पुष ५ गते बुटवल उपमहानगरपालिकाले ठूलो तामझामका साथ सडक मानव मुक्त सहर घोषणा गरेको थियो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रयासमा सडक मानव मुक्त घोषणा गरिएको थियो । बुटवलमा सडकमा रहेका मानवहरुको उद्दार गर्ने भन्दै मानव सेवा आश्रम बुटवल उपमहानगर र सामाजिक विकास मन्त्रालयको पूर्ण सहयोगमा चलिरहेको छ तर व्यक्तीले चलाएको एउटा आश्रममा लाखौं करोडौं खर्चेर पनी व्यवस्थापनको विषयमा भने कुनै चासो र चिन्ता जिम्मेवार निकायहरुले दिदैनन् । सामाजिक विकासमन्त्री सुदर्शन बराल हिड्ने बाटो यहि हो जहाँ दैनिक दजर्नभन्दा धेरै मानसिहरु सडकमा सुतिरहेका हुन्छन्, कहिलेकाही एकजनाको उद्दार गरेर फोटो खिच्दै सामाजिक संजाल भर्न मन पराउने सामाजिक मन्त्रीलाई यि तस्वीरहरु कस्ले देखाईदिने ? यि त केही प्रतिनीधि घटना हुन बुटवलका सडक र गल्लीहरुमा अंगभंग भएका, विभिन्न कारणले मानसिक सन्तुलन गुमाएका र गरिबीकै कारण सडकमा रात काट्नेहरुको सँख्या कमी छैन, यिनीहरुकै नाममा लाखौं पैसा मन्त्रालयबाट निकासा हुन्छ, सयौं डोनेसन र भाडा सहित कर्मचारीसमेत खटाएर काम गरिएको छ, जो एउटा व्यक्तीले एनजीओको रुपमा चलाईरहेको छ । यति धेरै खर्च गरेर सरकारले समेत व्यवस्थापन गर्न सक्ने एउटा आश्रम निर्माण गर्न सकिन्थ्यो तर भाडा र व्यवस्थापन खर्च नियमित भएपनि सडकमा रात काट्नेहरुका जिन्दगीमा भने धेरै परिवर्तन आएको छैन ।
सहयोगापेक्षी सडक मानवमुक्त सहर बुटवल उपमहानगरपालिका भनेर लेखिएका बोर्डकै मुनीपट्टी मानिसले सडकमा रात काटिरहँदा उपमहानगरपालिका भने सुचना विहिन भएर बसिरहेको छ । सामाजिक विकास मन्त्री बरालले रुपन्देहीलाई मागेर खान नपाईने क्षेत्र बनाईरहँदा दैनिकजसो मागेर जिविका चलाउनेहरुको संख्या पनी उत्तिकै छ । उनीहरुकै नाममा लाखौं खर्च गर्ने मन्त्रालय र नगरपालिकालाई हेक्का होस, प्रदेश सरकारको बोर्डलाई समेत लाज लाग्दो हो यो दृश्य देखेर, तर मन्त्रीज्युको गाडीभने कालो सिसा लगाएको छ ।
सडक मानवमुक्त सहर बनाउनु निकै राम्रो काम हो तर आजपनि मानिसहरु सडकमै दैनिकी गुजारिरहनुपरेको छ, कोरोना महामारीको चपेटामा काम नपाउँदा भोको शरीर चिसो भुईसँग खेल्नुपरेको छ । मानवमुक्त गराएको भन्दै सिद्धबाबाका मन्दिरमा गएर बुढाबुढीहरुलाई उठाएर ल्याउने मानव सेवा आश्रमको नजर किन यिनीहरुमा पर्दैन ? मन्त्री ज्यू र मेयर ज्यूको आँखा राष्ट्रिय राजनीतितिर मात्रै परेको भए त अर्कै कुरा आफ्नो प्रदेश र नगरतर्फ पनि फर्किने हो भने चाहीँ यति सामान्य कुरामा ख्याल राख्नुपर्ने हो । मोहन खड्काजस्ता दर्जनौ सडक मानवहरु यतिबेला उद्दारको अपेक्षामा छन्, सत्ता र जिम्मेवार निकायमा बसेका मानिसहरुको चेत खुलोस ।