अनखबर
साढे तीन वर्षअगाडि एमाले अध्यक्ष केपी ओली भन्दै थिए, ‘नेपाली काँग्रेसबाट अन्तिम प्रधानमन्त्री देउवा नै हो ।’ गत निर्वाचनमा प्रचार प्रसारका क्रममा गोरखामा आयोजित चुनावी सभामा ओलीले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री भएको दाबी गरेका थिए । अब वाम गठबन्धनको बहुमत आउने र काँग्रेसले कहिल्यै सरकारको नेतृत्व गर्न नपाउने ओलीको दाबी थियो । काँग्रेस सभापति देउवाले उति बेलै ओलीको भाषणलाई ठट्टा गरेर उडाएका थिए । देउवाले ज्योतिषीले आफूलाई सात चोटि प्रधानमन्त्री हुने भविष्यवाणी गरेको भन्दै ओलीलाई जवाफ फर्काएका थिए । ‘ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधानमन्त्री बन्ने हो ।’
तत्कालीन चुनावपछि देउवाको अनुमान फेल खायो । काँग्रेसले अप्रत्याशित हार ब्यहोर्यो । जनताले बाम गठबन्धनलाई दुई तिहाइ करिब बहुमत दिए । एमाले–माओवादी सरकार बन्यो । उनीहरूले एकता पनि गरे । तर, राजनीतिक सोचेझैँ रैनछ । साढे तीन वर्षपछि अवस्था ठिक उल्टिएको छ । सत्तामा भएकाहरू सडक९प्रतिपक्षीलाई सडकको दल मानिन्छ०मा र सडकमा भएकाहरू सत्तामा पुगेका छन् ।

साढे तीन वर्षमा कोल्टे फेरेको राजनीति

खासमा आलोपालो प्रधानमन्त्रीको सहमति गरेर ओली–दाहालले एकता गरेको साढे दुई वर्षपछि खुल्यो । सहमति खुलेसँगै तत्कालीन नेकपामा कचकच सुरु भयो । अन्ततः न नेकपा रह्यो न ओली नेतृत्वको सरकार । सत्ताको साँचो काँग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुग्यो । जसलाई ओलीले गत चुनावमा ओलीले काँग्रेसको अन्तिम प्रधानमन्त्री दाबी गरेका थिए । अर्को कुरा देउवाको ज्योतिषी भविष्यवाणी पनि मिल्यो । नभन्दै उनी पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अदालतको परमादेशमार्फत प्रधानमन्त्री बनेका देउवाको पहिलो चुनौती विश्वासको मत लिनु थियो ।

तर, उनले सोचेभन्दा फरक, सहजै विश्वासको मत लिएका छन् । ६१ जना मात्र सांसद रहेको काँग्रेसका सभापति देउवाले प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभामा १ सय ६५ सांसदको समर्थन प्राप्त गरेका छन् । देउवाले माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका छन् । देउवाको विपक्षमा उभिने निर्णय गरेको एमालेको केपी शर्मा ओली समूहकै केही सांसदले पनि देउवालाई मत दिए । ओली सरकारमा सहभागी जसपाको महन्थ पक्षले पनि विश्वासको मत दियो । उनी पुनः प्रतिनिधि सभाको बाँकी अवधिका लागि शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

‘भुईँको टिप्न खोज्दा गोजीको खस्यो !’

आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भनेपछि नेपाली राजनीतिक तातिएको थियो । बिहानसम्म एमालेको नेपाल पक्षले विश्वासको मत नदिँदा देउवा सरकार जोगिनेमा शङ्का थियो । तर, जब जब समय घर्किँदै गयो राजनीतिक घटनाक्रमले कोल्टे फेर्दै गयो । सुरुमा एमाले सांसद भीम रावलले राजीनामा दिए । देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार बन्नुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकाले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको उनको दाबी थियो ।

उनले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिनु उचित ठाने । उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम् प्रतिशोधी र षड्यन्त्रकारी चरित्र देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ’, उनले भनेका थिए । तर, उनले यसअघि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा हस्ताक्षर बुझाउँदा चरम अनैतिक राजनीति देखेनन् । जसमा उनको पनि हस्ताक्षर थियो । हुन त अदालतमा हस्ताक्षर बुझाएका एमालेको नेपाल समूहका अरू केही पनि विश्वास मत दिएनन् । सर्वोच्च गएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट र झपट रावलले आइतबार मतदानमा भाग लिएनन् । झलनाथ खनाल उपचारका लागि दिल्लीमा भएकाले मत दिन पाएनन् । योगेश भट्टराई, गोकर्ण विष्ट र गणेश पहाडी पनि आइतबार संसद्मा उपस्थित भएनन् ।

गत निर्वाचनमा देश बाममय बनेको थियो । दुवै ९एमाले–माओवादी० एक अर्काको प्रशंसा गर्दैमा मख्ख पर्थे । मिठा मिठा नारा बाँडे । आश्वासन दिए । कम्युनिस्टको भुलभुलैयामा जनता पनि परे । तर, एउटा जहाजका दुई पाइलटले जनमतको कदर गर्न सकेनन् । एकले अर्कोलाई सिद्ध्याउन नेकपा हुँदै अन्तरसंघर्ष गरे । पार्टी विभाजन भयो । त्यसपछि एमालेमा अन्तर कलह सुरु भयो । ओली सत्ता र शक्तिका लागि जस्तोसुकै कदम चाल्न तयार भए । दुई पटक त प्रतिनिधि सभा नै विघटन गरे । अन्तिमसम्म सत्तामा रहन उनलाई राष्ट्रपतिले पनि भरपुर सहयोग गरिन् । तर, सोधेझैँ भएन । अन्ततः ओलीले सत्ता त गुमाए गुमाए । आफ्नो हुँदा खादाको पार्टी पनि विभाजनको सँघारमा छ । नेपाली जनजिब्रोमा एउटा उखान छ, ‘भुईँको टिप्न खोज्दा गोजीको खस्यो’ ! ओलीसँग पनि अहिले न सत्ता रह्यो न सिङ्गो एमाले ! -केटिएमबाट