अनखबर
श्रीमानको मृत्युपछि मात्रै राजनीतिक वृत्तमा प्रवेश गरेकी विमला वली खत्री यतिबेला लुम्बिनी प्रदेशमा मात्रै नभई देशैभर चर्चाको पात्र बनिरहेकी छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य विमला वली यतिबेला ‘टक अफ दि टाउन’ बनेकी छन् । आफूलाई मुख्यमन्त्रीकै निवासमा पाँच दिनसम्म बन्धक अवस्थामा राखिएको अपत्यारिलो दावीसँगै उनको बारेमा चासो बढेको छ ।
पश्चिम दाङको दंगिसरण गाउँपालिका(६ घर भएकी वली २०७६ साल मंसिरमा भएको उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ ९ख० बाट जितेर प्रदेशसभामा आएकी हुन् । श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनलाई पार्टीले उपनिर्वाचनमा टिकट दिएको थियो ।
विमलाका श्रीमान उत्तरकुमार मुख्यमन्त्री शंकर पोखरेलका विश्वासपात्र मानिन्थे । सो क्षेत्रमा पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका उनको निधनले ठूलो क्षति पुगेको पोखरेलले बताउने गरेका छन् । उत्तरको निधनपछि पोखरेलकै जोडबलमा उनकी पत्नी विमलालाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको थियो ।
२०६६ सालदेखि राजनीतिमा जोडिएको बताउने गरे पनि विमलाको राजनीतिक पृष्ठभूमि खासै भेटिँदैन । श्रीमान सक्रिय राजनीतिमा लागेकाले आफूले यतापट्टि धेरै ध्यान नदिएको र राजनीतिका विषयमा धेरै ज्ञान नभएको उनले बताउने गरेकी छन् । ०४१ सालमा बाँकेमा जन्मेकी ३७ वर्षीया विमलाको औपचारिक अध्ययन एसएलसी मात्रै हो ।

बिमलाले उपचुनाव लड्दा नेकपा एमाले र माओवादी पार्टी एकता भएर नेकपा बनिसकेको थियो । उनले नेकपाको चुनाव चिन्ह सूर्य लिएर लडेकी थिइन् । जब सर्वोच्च अदालतले गत वर्ष नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्यूँताइदियो, त्यसपछि बिमलाको ढुलमुल सुरु भयो । यसबीचमा उनको राजनीतिक अनुभवहीनता र अपरिपक्वता नराम्ररी छचल्किएको छ ।

कहिले एमाले, कहिले माओवादी

सर्वोच्चको गत फागुन २३ को सर्वोच्चको फैसलापछि बिमला एमालेमै थिइन् । तर, जब लुम्बिनीमा सत्ता राजनीतिले उग्ररुप लियो, अनि बिमला दुई पार्टीको तानातानमा परिन् ।

सत्तारुढ एमालेलाई दिएको समर्थन माओवादीले फिर्ता लिएसँगै गत बैशाख ६ गते विपक्षी गठबन्धनले पहिलोपटक मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए । त्यसपछि संसदको जोडघटाउ शुरु भयो । विमलाको एक भोट पनि दुवै पक्षका लागि महत्वपूर्ण हुन गयो ।

सर्वोच्चको फैसलापछि गत संसदीय चुनाव र प्रदेशसभा चुनावमा एमाले र माओवादीबाट चुनाव लडेकाहरु आ(आफ्नो पार्टीमा फर्किए । किनकी ती चुनाव हुँदाताका नेकपा बनिसकेको थिएन । तर, नेकपाको एकतापछि भएको उपनिर्वाचनबाट जितेर आएकाहरुबारे अन्योल उत्पन्न भयो । यसरी जित्नेहरुले आफैं पार्टी रोज्न पाउनुपर्ने एकथरि तर्क थियो भने जुन पार्टीको चुनाव चिह्नबाट जितेको छ त्यसमै फर्किनुपर्ने अर्कोथरि तर्क थियो ।

आफैंले उपनिर्वाचनमा टिकट दिलाएको हुँदा विमला एमालेमै रहनेमा मुख्यमन्त्री पोखरेल ढुक्क थिए । एमालेले उनलाई आफ्नो पार्टीको सांसदको रुपमा गणना गरिरह्यो । तर, विमलाले भने अस्वभाविक खेलकुद गरिन् । यो बीचमा उनले चारपटक एमाले र माओवादीमा यता र उता गरेकी छन् ।

उनी शुरुमा एमालेको संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि भाग लिइन् । तर मुख्यमन्त्री पोखरेविरुद्ध अविश्वास प्रस्तावको तयारी भएसँगै उनले पत्रकार सम्मेलनमार्फत माओवादी पार्टी रोजेको घोषणा गरिन् । तर, एमालेले भने उनलाई कानूनी हिसाबले आफ्नै दलको सांसदका रुपमा मान्दै र गन्दै आयो ।

सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी गठबन्धनतिर लागेको भन्दै एमालेले उनीसँग स्पष्टीकरण लियो । उनले एमालेसँग आफ्नो कुनै साइनो नभएको र आफू माओवादी भइसकेको जवाफ दिइन् ।

तर गत साउन १५ गते गृहजिल्ला दाङ पुगेकी विमला एकाएक सम्पर्कबिहीन भएको सूचना माओवादी केन्द्रले बाहिर ल्यायो र सरकारले अपहरण गरेको आरोप लगायो । तर दुई दिनअघि विमलाले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै फर्केको घोषणा गरिन् ।

आज फेरि आफू माओवादीमै रहेको बताएर उनले अर्को ट्वीस्ट ल्याएकी छन् । माओवादी संसदीय दल कार्यालयमा सार्वजनिक हुँदै उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबरजस्ति विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको दावी गरेकी छन् ।

विमलाको आरोप र एमालेको प्रतिवाद

विमलाले आफू माओवादीमै रहेको घोषणा गर्ने क्रममा मुख्यमन्त्रीसमेत विवादमा मुछिने गरी गम्भीर आरोप लगाएकी छन् । यद्यपि, उनका अभिव्यक्ति विश्वसनीय छैनन् ।

आफूलाई अपहरण शैलीमा जवरजस्ती उठाएर दाङबाट बुटबल ल्याइएको बिमलाले दावी गरेकी छन् । आफू नेपालगञ्ज जाने भनेर हिँडेको तर एमाले प्रमुख सचेतकले गाडीमा हालेर मुख्यमन्त्रीको निवासमा पुर्‍याएको उनको भनाइ छ ।

तर, एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल भने यसरी एउटा सांसदलाई जबरजस्ती उठाउन सम्भव नै नहुने बताउँछन् । बिमला आफैंले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि आफूले पुर्‍याइदिएको उनको दावी छ । ढकालका अनुसार गाडीमा बिमला मात्रै नभएर उनको दिदी र भिनाजुका भाइ पनि सँगै आएका थिए ।

यदि विमलालाई जबरजस्ती घरबाट उठाएर ल्याइएको भए परिवारले यो कुरा किन बाहिर ल्याएनन् भन्न् प्रश्न उठ्छ । आफू लुगाफाटा र सरसामान बोकेरै मुख्यमन्त्री निवासमा आएको बिमला स्वयमले बताएकी छन् । त्यसैले उनी योजनावद्ध तरिकाले नै आएको स्पष्ट देखिन्छ ।

त्यसो मुख्यमन्त्रीको निवासमा ५ दिनसम्म एक महिला सांसदलाई किन राखियो भन्ने प्रश्न पनि उठेको छ । प्रमुख सचेतक ढकालले भने होटलमा बस्न आग्रह गर्दा बिमला स्वयमले मुख्यमन्त्री पोखरेल अभिभावकजस्तो भएकाले निवासमै सहज हुने बताएको उल्लेख गरेका छन् । एक्लैलाई अप्ठेरो होला भनेर अर्की नेतृलाई पनि सँगै राखेको उनको भनाइ छ ।

यसबीचमा विमलालाई फकाउन मुख्यमन्त्री र एमालेले हरसम्भव प्रयास गरेको देखिन्छ । दाङदेखि बुटबलसम्म प्रमुख सचेतकले आफ्नै गाडीमा हालेर ल्याउनु र पाँच दिनसम्म मुख्यमन्त्रीको निवासमा वास दिनुलाई सांसद तानातानको स्वभाविक परिदृष्य भनेर पन्छाउन मिल्ने देखिँदैन ।

यद्यपि, बिमलाले दावी गरेजस्तो उनलाई बन्दी झैं राखिएको र दवावमा पारेर जबरजस्ति विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको पनि पत्याइहाल्ने आधार छैन । उनले आफुसँग भएको मोबाइल खोसिएको बताएकी छैनन् । यदि बन्धककै रुपमा राखिएको थियो भने बाहिर फोन गरेर सूचना किन दिइनन् भन्ने स्वतः प्रश्न उठ्छ ।

आफूलाई अपहरण शैलीमा उठाएर मुख्यमन्त्री निवासमा बन्धक बनाइएको गम्भीर आरोप लगाए पनि उनले कानूनी प्रक्रियामा भने नजाने बताएकी छन् । यसले पनि उनको दावीमा आशंका गर्ने ठाउँ रहन्छ ।

सरकार ढाल्न निर्णायक बिमला

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अहिले तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावमा छलफलका लागि संसद अधिवेशनसमेत आह्वान भइसकेको अवस्थामा दुवै पक्ष आ(आफ्नो रणनीतिमा छन् ।

पछिल्लोपटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि विपक्षी गठवन्धनका लागि अनुकलता मिलेको छ । विपक्षी गठबन्धन जसरी पनि बहुमत पुर्याउने योजनामा छ । यस्तो दाउपेचका बीच बिमलाको एक भोटले पनि फरक पार्न सक्छ ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये ४१ सांसद बहुमतका लागि आवश्यक पर्दछ । सरकारमा सहभागी जसपा महन्थ ठाकुरका ३ सांसद कारबाहीमा परेपछि सत्तारुढ दलमा ३८ जना मात्र सांसद रहेका छन् । विपक्षी गठबन्धनमा बिमलासहित ठ्याक्कै ४१ छन् । उनी एमालेतिर आइन् भने गठवन्धनको बहुमत गुम्छ । त्यसैले सरकारले बिमलालाई गठवन्धनबाट आफूतिर तान्ने हरसम्भव कोशिष गरेको हो ।

प्रदेशसभाको यही गणितले गर्दा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनासाथ बिमला चर्चामा आउँछिन् । तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले तीनपटक दल फेरेकी छन् । पछिल्लोपटक माओवादी रोज्नुमा उनलाई कुनै आकर्षक प्रस्ताव गरिएको हुनसक्ने अनुमान छ । अन्यथा आस्थाको हिसाबले उनको पार्टी एमाले नै हो ।

यता, आफैले चुनावमा टिकट दिलाएर राजनीतिको भर्याङ चढाएको व्यक्तिले धोका दिँदा मुख्यमन्त्री पोखरेल तनावमा परेका छन् । प्रदेश सभामा उनकै गृहजिल्लाबाट जितेका अमर डाँगीले पहिलो अविश्वासको प्रस्तावकै बेला राजीनामा दिएर एमाले छाडेका थिए । यस्तै, कपिलवस्तुका दीर्घनारायण पाण्डेले संसदबाट राजीनामा दिएर पार्टी परित्याग गरेकाले पनि उनलाई घाटा लागेको छ । अहिले उनले विमलाबाट धोका पाएका छन् ।

केन्द्रको पार्टी राजनीतिमा चतुर देखिएका पोखरेल आफ्नो मुख्यमन्त्री कार्यकाल पूरा गर्न नपाउने अवस्थामा पुगेका छन् । अब उनको सरकार जोगिन निकै कठिन देखिएको छ । सरकारमा सहभागी जसपाका ३ सांसदको मुद्दा किनारा नलागे पोखरेलको सरकार २७ गते सरकारपछि नरहने खतरा छ । यद्यपि राजनीति भनेको सम्भावनाहरुको खेल हो । एक जना मात्रै विपक्षी गठबन्धनको सांसदलाई प्रभावमा पार्न सके सरकार जोगिन पनि सक्छ । (नेपाल प्रेस)