अस्पतालको गेटभित्र छिर्नासाथ सरकारी अस्पतालमा किन आएछु जस्तो लाग्ने साविकको लुम्बिनी अञ्चल अस्पताल अहिले सफा, सुग्गर र स्वास्थ्य सेवामा समेत अब्बल अस्पतालको रुपमा परिवर्तन हुन लागेको छ । अझ कोरोनाको नियन्त्रणको लागी अस्पतालको भूमिका निकै सकरात्मक रह्यो, यसमा मुख्य भूमिका निर्वाहा गरेका थिए अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्राई र मेडिकल सुपरिटेण्ड डा. राजेन्द्र खनाल तर उनै खनालमाथी लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको आँखा परेको छ । कोरोना महामारीको तेस्रो लहर फैलिने त्रास बढिरहेका बेला लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने प्रादेशिक अस्पतालको नेतृत्व परिवर्तनमा लागेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा। राजेन्द्र खनाललाई हटाएर डा। इन्द्र ढकाललाई प्रमुख बनाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले मन्त्रिपरिषदमा लगेका छन्।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई सेवाप्रति प्रतिबद्ध बनाउँदै बिग्रिँदै गएको अस्पताल प्रशासनमा सुधार भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार नै किन अस्पतालको नेतृत्व परिवर्तनमा लागेको हो।
रेडियोलोजिष्ट डा.खनालकै नेतृत्वमा अस्पतालको इमर्जेन्सी तथा आइसियूको व्यवस्थापन तथा रेडियोलोजी विभागको स्तरबृद्धि भइसकेको छ।
तर, अस्पतालका करोडौंका भौतिक संरचना निर्माण हुने क्रममा रहेकोले कमिसनका लागि डाक्टर खनालसँग स्वार्थ नमिलेका कारण विभागीय मन्त्री तथा सम्बन्धित अधिकारीहरू लागेको स्रोतको दाबी छ।
सामाजिक सञ्जालमा डा.खनाल कोभिडको दोस्रो लहरले सबैतिर आक्रान्त पारिरहेका बेला अस्पतालमा आवश्यक उपकरण तथा अक्सिजन व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरिरहन्थे।
डा. खनालले अस्पतालमा देखिएको समस्या तथा बिरामीहरूको अवस्था सामाजिक सञ्जालमा लेखेपछि स्वास्थ्य मन्त्री श्रेष्ठ र स्वास्थ्य सचिव विकास देवकोटा उनीसँग रुष्ट थिए। उनलाई सर्वसाधारणमा त्रास फैलाएको आरोप समेत लाग्ने गरेको थियो।
डा. खनाललाई हटाएर मेसु प्रस्ताव गरिएका डाक्टर ढकाल निजी अस्पतालका सञ्चालक समेत हुन्।
हाडजोर्नी विशेषज्ञ डा। ढकाल बुटवलमा सञ्चालित साझा अस्पतालका सञ्चालक हुन्।
लेखक ऋषि आजाद निजी अस्पताल सञ्चालकलाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख बनाए अस्पताल लथालिङ्ग हुने भएकोले सरकारले उक्त कार्य रोक्नुपर्ने बताउँछन्। डा. खनाललाई हटाएर ढकाललाई प्रमुख बनाउन स्वास्थ्य मन्त्री श्रेष्ठ र एमालेका केही सांसदहरूले नै मुख्यमन्त्री शंकर पोखरेललाई दबाब दिइरहेको बुझिएको छ। मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषदले डा। खनाललाई हटाएर ढकाललाई प्रमुख बनाउने निर्णय गरिनसके पनि अप्रत्यक्ष रुपमा डा। खनाललाई बाटो खाली गरिदिन दबा दिइएको स्रोतको दाबी छ।
डा। खनाल पहिलोपटक २०७२ सालमा लुम्बिनी अञ्चल अस्पतालको प्रमुख बनेका थिए। त्यतिबेला आफूभन्दा माथिल्लो तहका डा। विकास देवकोटा सरुवा भएर आएपछि मेसुबाट बिदा भएका थिए।
पछिल्लो पटक २०७६ साल मंसिरमा तत्कालिन मेसु डा। कृष्ण खनालको अवकाशपछि उनी अस्पतालको प्रमुख बनेका थिए।
पहिलोपटक अस्पतालको मेसुबाट बिदा भएपछि उनी कान्ती बाल अस्पताल पुगेका डा। खनाललाई पूर्वअर्थमन्त्री तथा एमालेका उपमहासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलले नै बुटवल फर्काएका थिए। तर, अहिले भने आफैंले रोजेर ल्याएको व्यक्तिलाई हटाउन विभागीय मन्त्री र आफ्नै पार्टीका सांसदहरूको दबाब मुख्यमन्त्री पोखरेललाई परेको छ।

डा। खनालले सरकारले अस्पतालको नेतृत्व परिवर्तन गर्न खोजेको भन्ने हल्ला सुने पनि किन आफूलाई हटाउन खोजियो भन्ने बुझ्न नसकेको बताए। ‘मेरो व्यक्तिगत स्वभाव र शैली फरक छ, त्यसैमा हामी प्राविधिक मान्छे काम र त्यसको नतिजामा बढी ध्यान दिन्छौं, राजनीतिक जालझेल र तिक्डम बुझ्न नसक्नु मेरो कमजोरी होला,’ उनले भने।

प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालको नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको र सोही अनुसार नेतृत्वको मूल्यांकन र विश्लेषणको आधारमा नेतृत्व परिवर्तन गर्न लागिएको बताए। ‘लुम्बिनी प्रादेशिक अस्पतालको मात्र होइन, अरु क्षेत्रका अस्पतालमा पनि नेतृत्वको मूल्यांकन र विश्लेषको आधारमा नियमित प्रक्रिया अनुरुप नै नेतृत्व परिवर्तन हुने हो,’ उनले भने।

उनले अस्पतालको नेतृत्वमा लोकसेवाबाट छनोट भएका चिकित्सक नै हुने भएकोले निजीमा छ भनेर आरोप(प्रत्यारोप गर्नु उचित नहुने बताए। ‘निजी र सरकारी भन्ने हुँदैन, लोकसेवाबाट छनोट भएका व्यक्ति नै नेतृत्वमा जाने हो, सरकारी नीति नियम अनुसार हुने भएकोले व्यक्ति विशेषलाई आरोप(प्रत्यारोप गर्ने कुरा राम्रो होइन,’ श्रेष्ठले भने। (सेतोपाटीको सहयोगमा)