निम्न वर्गीय नेपाली जनताको दमित आवाजलाई पत्रकारिता र साहित्यका माध्यमबाट शङ्खघोष गर्ने व्यक्तित्व हुन् कृष्ण सेन ‘इच्छुक’ । उनले साहित्यका माध्यमबाट वर्गीय विभेदविरुद्ध सशक्त आवाज उठाएका छन् । ‘इच्छुक’ नेपाली जनयुद्धका समयमा नेकपा माओवादीको मुखपत्र जनादेशमा कार्यरत थिए । २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा सार्वजनिक भएका उनी विद्यार्थी कालदेखि नै मार्क्सवादी विचारधाराबाट प्रभावित थिए ।
शोषित पीडित जनताका पक्षमा वकालत गर्दै गर्दा २०३६ सालमा पञ्चायती प्रशासनले उनलाई जेलको कालकोठरीमा राख्यो । त्यहाँबाट छुटेपछि पनि महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भई विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटेका थिए । २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका उनको दाङदेउखुरीको भालुबाङमा सानो झुपडी थियो । २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा रहेका बेला उनको हत्या भएको थियो ।
शुक्रबार परेको ‘इच्छुक’को स्मृति दिवसको सन्दर्भमा ‘कवि इच्छुक स् कविताका सन्दर्भमा’ पुस्तकका लेखक प्राडा सुकुम शर्मा तथा इच्छुक प्रतिष्ठानका सदस्य डा। ताराकान्त पाण्डेयको विचार यहाँ प्रस्तुत गरिएको छ ।
वैचारिक र साङ्गठानिक रूपले प्रतिबद्ध लेखकः सुकुम शर्मा
साहित्य सिर्जनाका दृष्टिले कृष्णसेन इच्छुक प्रगतिवादी साहित्यकार हो । उहाँको जीवन सधैँ सङ्घर्षमय रह्यो । पञ्चायतकालमा पनि लामो समय जेल बस्नुभयो । बहुदल आइसकेपछि केही समय खुला हुँदा उहाँको पारिवारिक जीवन र लेखनको पनि केही प्रकाशन गर्ने अवस्था आयो । २०५२ साल फागुन १ मा माओवादीको जनयुद्ध सुरु भएपछि फेरि जनादेशको सम्पादक, पछि जनदिशाको सम्पादक, कलम भन्ने साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन पनि गर्नुभयो । उहाँ वैचारिक र साङ्गठानिक रूपले एकदम प्रतिबद्ध लेखक हुनुहुन्थ्यो । प्रतिबद्ध मात्र होइन, उहाँ कलात्मक रूपमा पनि सचेत लेखक हो ।
उहाँका कविताले परिवर्तनप्रति सन्देश बोकेका छन् । सर्वाहारा वर्गीय जीवनदृष्टिबाट अभिप्रेरित भएर नेपाली समाजमा त्यो चेतना जागृत गराउने खालको सन्देशमूलक कविता रहेका छन् । आन्दोलनका क्रमा उहाँ थुनिनुभयो । पत्रकार, मानवअधिकारवादीहरुको प्रयासपछि छुट्नु भएको थियो । पछि फेरि थुनिनुभयो । जेलभित्रै उहाँको रहस्यमय मृत्यु भयो । त्यो खबर एकै पटक ‘कृष्ण सेन इच्छुक पशुपतिमा खरानी’ भनेर जनआस्थाले त्यतिखेर लेखेको थियो ।
उहाँको पहिलो कृति शोकाञ्जली हो । यो विद्यार्थी आन्दोलनमा नेत्रमणि आर्चायको निधनका सन्दर्भमा लेखिएको छ । सहिदलाई सम्मान गर्दै उहाँले महान् कृति लेखेर आफैँ सहिद बन्नुभयो ।
यसपछि ‘इतिहासको यस घडी’ उहाँको दोस्रो कविता सङ्ग्रह आयो । त्यसपछि ‘बन्दी र चन्द्रागिरि’ भन्ने लामो कविता आयो । यो काव्यस्तरको लामो कविता हो । चन्द्रागिरिलाई हेरेर आफ्नो आत्मालापसहित सम्बोधन गर्दै २०५२ सालपछिको देशको समग्र परिस्थितिलाई प्रस्तुत गरिएको छ । यस विषयलाई एकदमै कलात्मक र खरो ढङ्गले प्रस्तुत गरेका छन् । यिनै कृतिहरुमा उहाँ अब स्मरणीय हुनुभएको छ ।
फुटकर कविताको सन्दर्भ छोडेर हेर्दा उहाँको बन्दी र चन्द्रागिरि साह्रै कलात्मक लाग्छ । नेपाली साहित्यमा नै तुलना गर्दा औँलाभित्र गन्दा पर्ने कृतिभित्र पर्छ । विभिन्न कविहरुको समग्र साहित्यभित्रबाट पनि हेर्यौँ भने पनि लेखनको कलात्मक उचाइ र प्रतिबद्ध भएको प्रगतिवादी क्षेत्रको कोसेढुङ्गाका रूपमा रहेको छ–
बन्दी र चन्द्रागिरि ।
विजयको अन्तिम दिनसम्म
सबै रहौँला नरहौँला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद् मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहन सक्छ ।
तर गेस्टापोको ग्याँस च्याम्बरजस्तो
यस सन्त्रासमय समयमा जसले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलासाहरू
सधैँ सधैँ जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म,
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन्
किनकि ती जति बाँचे
र तिनका असल स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन्
वास्तविक जीवनमा
को मर्नेछन् र को बाँचिरहने छन्
त्यसको अन्तिम फैसला समयले गर्नेछ,
र भन्नेछ –
जो देश र जनताको लागि बाँचे
ती मातृभूमिका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन् ।
९बन्दी र चन्द्रागिरि काव्यबाट०
।।।।।
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद १ भन्न किन नपाउनू रु
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुठ्ठी उठाएर मूर्दावाद १ भन्न किन नपाउनू रु
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार्न किन नपाउनू रु
डम्पिङ साइटका फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरूलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू रु
९बन्दी र चन्द्रागिरि काव्यबाट ।०
यस्ता खालका कृति ‘गङ्गा कादरी एक्सप्रेसलाई चिठी’ भन्ने मोहनविक्रम सिंहको छ । उनले पनि एउटा राजनीतिक जीवन र आप्रवासको सन्दर्भमा सम्झना गरेर लेखेका थिए । यस्तै मोदनाथ प्रश्रितको ‘गोलघरको सन्देश’ भन्ने थियो यो क्षेत्रमा । गोलघरको सन्देशमा पनि बन्दी जीवनभित्रको विषयवस्तु भएको एउटा उत्कृष्ट कृतिमा दरिएको थियो । यही परम्पराभित्रबाट रहेर हेर्दा ‘बन्दी र चन्द्रागिरि’ त्योभन्दा पनि कलात्मक छ । प्रगतिवादी सौन्दर्यका दृष्टिबाट उत्कृष्ट कृति हो ।
यसपछि पनि उहाँका छरिएका केही फुटकर रचनाहरु रहे । ती रचनाहरु इच्छुक प्रतिष्ठानले इच्छुक रचनावली भनेर सङ्कलन गरेको छ । उहाँका जीवनकालमा यिनै ३ वटा कृति प्रकाशित भए– शोकाञ्जली, इतिहासको यस घडीमा र बन्दी र चन्द्रागिरि ।
उहाँका कृति प्रगतिवादी दृष्टिले उच्च छन् । प्रगतिवादमा माक्र्सवादी जीवनदृष्टिमा केन्द्रित भएर, त्यसैमा प्रतिबद्ध भएर लेखिने हो । त्यो सौन्दर्य र उचाइ दिन कृष्णसेन इच्छुक सफल छन् । प्रगतिवादी साहित्यका लेखकहरुलाई हेर्दा तीन जना सिर्जनामा जीवन आहुति दिने तीनतारे जस्ता कविहरु छन्, एउटा गोकुल जोशी, नेत्रलाल अभागी र कृष्णसेन इच्छुक हुनुहुन्छ । यीमध्ये कृष्ण सेन इच्छुक चाहिँ माथि हुनुहुन्छ ।
जनवादी आन्दोलनका विशिष्ट अभियन्ताः ताराकान्त पाण्डेय
नेपालको समाज रूपान्तरणको आन्दोलन भनौँ या जनवादी आन्न्दोलनका विशिष्ट अभियन्ताका रूपमा इच्छुकलाई सम्झन्छौँ । नेपाली समाजलाई बदल्ने महान अभियानका योद्धा हुनुहुन्छ उहाँ । आफ्नो आदर्शप्रति कहिल्यै विचलित नहुने र सम्झौता पनि नगर्ने साहित्यिक योद्धाका रूपमा हामी ठान्छौँ । प्रतिक्रियावादी सत्ताबाट उहाँले लामो समय जेलमै जीवन विताउनुभयो । तर यी सबैका बाबजुद पनि आफ्नो आस्था, आफ्नो विश्वासप्रति कहिल्यै घात नगरी अविराम ढङ्गले निरन्तर रूपले अगाडि बढ्नुभयो, त्यो उहाँको पछिसम्मका लागि अनुकरणीय कार्य हो । उहाँको यस्तो कार्यले हामी सबैलाई बाटो देखाउँछ, ऊर्जा पनि दिन्छ ।
अहिले हामीमा त्यो आस्थाबाट जुन किसिमको विचलन भएको, स्थगित भएको पलायन भएको अवस्था भोगिरहेका छौँ, त्यो आस्था जोगाउनका लागि, निष्ठापूर्वक क्रान्तिकारी बाटोमा अगाडि बढ्नका लागि लागिरहन र टिकिरहन उहाँ ऊर्जाको स्रोत हो । यो आम नेपाल र नेपालीप्रतिको देन हो ।
गणतान्त्रिक आन्दोलनमा उहाँको भूमिका बहुआयामिक छ । उहाँको पत्रकारका रूपमा उत्तिकै योगदान छ । जनपक्षीय पत्रकारका क्षेत्रमा उहाँ निर्भीकतापूर्वक नेपाली जनताको वर्ग सङ्घर्षको चेतनाका गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्ने, जनतालाई एकत्रित गर्ने, सुसूचित गराउने काममा निरन्तर लागिरहनुभयो । पत्रकारिताकै कारणबाट गिरफ्तार पनि गरियो ।
मुख्य क्षेत्र त उहाँको साहित्य हुँदै हो । पार्टीकै केन्द्रीय सदस्यका रूपमा प्रस्ताव आउँदा पनि स्वीकार्नुभएन । उहाँले आफ्नो क्षेत्र साहित्य र संस्कृति हो भन्नुभयो । यसै भित्रबाट योगदान दिने भनेर पार्टीमा लाग्नु भएन ।
मूलतः कविता उहाँको मुख्य साहित्य क्षेत्र हो । जनताको प्रिय कविका रूपमा विचार र कला क्षेत्रमै उत्कृष्ट योगदान गरेर नेपालको आन्दोलनलाई ठूलो योगदान दिनुभयो । त्यस क्षेत्रबाट उहाँले नेपालको समग्र क्रान्तिकारी आन्दोलनमा योगदान पुर्याउनु भयो । साथै साहित्यिक क्षेत्रमा पनि उहाँको ठूलो योगदान रह्यो ।
तर उहाँ समग्र संस्कृतिकर्मीका रुपमा र पार्टीको प्रतिबद्ध सङ्गठकका रूपमा उहाँ प्रतिबद्ध हुनुहुन्थ्यो । जनयुद्ध हाँकिरहेको पार्टीको विचारप्रति प्रतिबद्ध भएका कारणले उहाँलाई तत्कालीन राज्यसत्ताले नियन्त्रणमा लिएको थियो । उहाँ खालि कविता लेखेकै भरमा कलमसँग, लेखनीसँग सत्ता डराउने, त्रसित हुने कुरा अहिले पनि चलिआएकै छ ।
बन्दी र चन्द्रागिरि उहाँको महत्वपूर्ण काव्य हो । यसमा समग्र नेपालको सामाजिक परिवर्तनको प्रक्रिया, नेपालको सामाजिक रूपान्तरणको खाँचो, आवश्यकता बारेमा छ । मुख्य रूपमा नेपालको राष्ट्रियताका पक्षमा लेखिएको छ । राष्ट्रघातका प्रक्रियाहरु पटक पटक विभिन्न रुपले घटेका छन्, त्यसविरुद्धको विचार त्यसमा छ । राष्ट्रियता, राष्ट्रप्रेमको चेतना, राष्ट्रघातविरुद्धको आवाज, जनजीविकाको क्षेत्रमा नेपाली जनताले दुःख, कष्ट भोगिरहेको कुरा छ । यसले जनजीविकाको सवाललाई उत्तिकै रुपमा उठाएको छ ।
समग्रमा नेपाली समाजमा रहेका शोषण, उत्पीडनहरुविरुद्ध जागरण ल्याई नेपाललाई आम परिवर्तनमा लैजानुपर्छ, आमूल परिवर्तन आवश्यक छ भन्ने चेतनाका साथ जनयुद्धको प्रक्रियालाई र जनयुद्धको सौन्दर्य र आदर्शलाई स्थापित गर्ने दृष्टिकोण महत्वपूर्ण थियो ।
समग्रमा नेपाली सामाजिक रुपान्तरणका लागि जनयुद्धको सौन्दर्य, विचार र मूल्यलाई स्थापित गर्न उहाँको योगदान महत्वपूर्ण छ । अहिले हामी देखिरहेका छौँ, जनताका विचार र सपनालाई व्युझाएर लैजानुपर्ने चुनौतीपूर्ण घडीमा इच्छुकको योगदानले हामीलाई ऊर्जा दिन्छ । यो उहाँको अनुकरणीय देन हो । तर ऊर्जावान इच्छुक गुमनाम हुँदैछन् । (शिखर मोहनको यो आलेख रातोपाटीबाट लिईएको हो । – सम्पादक)