बुटवलमा अन्तराष्ट्रिय स्तरको सभाहलको उद्घाटन भएको छ । शनिबार एक समारोहका विच नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तराष्ट्रिय स्तरको मापदण्डमा बनेको उक्त सभाहलको उद्घाटन गरेको हुन् ।
संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता सभाहलहरु निर्माणलगत्तै सञ्चालन हुनुपर्ने र आर्थिक गतिविधिमा जोडिनुपर्ने बताए । उनले राज्यको विकास र समृद्धिमा खर्च भएका प्रोजेक्टलाई उत्पादनसँग जोड्दै लैजानुपर्ने जोड दिए ।
साना ठूला गरी एउटै छानोमुनि दुई हजार सात सय जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ।
सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ।
सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक संरचना देखिएको सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीन वटै भवन एक आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिएको छ।
पहिलो चरणमा १ हजार १ सय १४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्। त्यस्तै, दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुई वटा ५०÷५० र दुई वटा १÷१ सय क्षमताका हल रहेका छन्।
भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरिए पनि रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वार लगायतका संरचना दोस्रो चरणमा निर्माण गरिएकोले लागत रकम पनि बढी छ।
दोस्रो चरणमा सभाहल परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीहरूको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्।
त्यसैगरी सम्मेलन केन्द्रभित्र कुर्ची, साउण्ड सिस्टम, कार्पेट एचभिएसी लगायतको काममा गरी १ अर्ब ११ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।
यी १ सय क्षमताका छन्। त्यसबाहेक २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रीन हाउस, ६ जना बस्न मिल्ने कर्मचारी आवासका लागि भवन निर्माण भएको छ। त्यस्तै, ४ वटा सुरक्षागार्ड हाउस बनिसकेका छन्। २ वटा प्रवेशद्वार र १ वटा निकास द्वारसँगै भिआइपी र सर्भिसद्वार गरी ५ वटा गेट तयार भएका छन्। २ वटा टिकट काउन्टर निर्माण भइसकेका छन्।
लिफ्ट सहितको सम्मेलन केन्द्र परिसरमा ग्रिनरी सहितको बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्। सम्मेलन केन्द्रमा हेलिप्याड र चार सय गाडी र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाइएको छ।
त्यसैगरी विद्युतका लागि छुट्टै सव–स्टेशन र ६३० केभिए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ। सभाहल अगाडि पोखरी निर्माण गरिएको छ भने बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर निर्माण गरिएका छन् ।