Banner News अर्थ प्रमुख समाचार राजनीति समाचार

बुटवललाई नेपालको ‘बम्बई’ बनाउँछौं : मुख्यमन्त्री पोखरेल

सुरु भयो ‘लुम्बिनी एक्स्पो’

अनखबर
पुस ५, बुटवल ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को मुकाम बुटवललाई आर्थिक वित्तको राजधानी बनाउने बताएका छन् । भारतको बम्बईलाई विम्बात्मक उदाहरण दिदैं, बुटवल भैरहवालाई भारतको बम्बईजस्तै आर्थिक वित्को राजधानी बनाउने बताए । पोखरेलले मेला महोत्सवले उद्यमशिलताको विकास गर्न सक्नुपर्ने भन्दै समय–समय हुने मेला महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्याम मात्र बन्ने दावी गरे ।

‘मेला÷महोत्सवहरूले उद्यमशिलताको विकास गर्न सकेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्नका उद्यमशिलता आवश्यक छ । होइन भने यस्ता कार्यक्रम अरू कसैका सामग्री विकाउने माध्याम मात्र बन्न सक्छन् ।’

आजदेखि बुटवलमा सुरु भएको ‘लुम्बिनी एक्स्पो’ अर्थात अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, ‘एकै वर्ष यस्ता महोत्सवहरू धेरै ठाउँमा गरेर उपभोक्तालाई बोझ बनाउन हुँदैन ।’ व्यापारको विस्तार गर्न पहिला ग्रामीण क्षेत्रको विकास गर्न आवश्यक रहेको पोखरेलले औलाए । नेपालको उद्योग र व्यापार निर्वाहमूखी भएको भन्दै त्यसलाई प्रतिष्पर्धी बनाउन आवश्यक रहेकोमा जोड दिए । मुलुकको विकास गर्नका लागि सपना देख्न आवश्यक रहेको बताए ।

‘कुनै पनि कुरा गर्छु भनेर पहिला सपना देख्न आवश्यक छ । तबमात्र विकास हुन्छ । त्यसैले अब हरेक क्षेत्रहरू उद्योग, पर्यटन, कृषि वित्त जस्ता क्षेत्रमा नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै नेतृत्व गर्न सक्ने क्षमतावान मानिसहरू जन्मिन आवश्यक छ’ मुख्यमन्त्री पोखरेलले भने । संघीय सरकारले यसै वर्षदेखि पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खन्न सुरू गर्ने दावी गरे ।

‘नेपालमा रेल आउछ पानी जहाज आउछ भन्दा काजगका बनाएर उडाइयो’ पोखरेलले भने, ‘यसै वर्ष पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खनिने छ । भने चिनिया रेल काठमाडौं हुँदै लुम्बिनी सम्म बनाउने आयोजनको डिपिआर पनि हुन्छ ।’ उनले भने, ‘अविश्वासहरूलाई तोडेर यही सरकार । यिनै नेताहरू नेपाललाई समृद्ध बनाएर छाडनेछन ।’

पोखरेलले प्रदेश नम्बर पाँचलाई समृद्धि बनाउने योजनाका साथ आफूहरू अगाडि बढेको जानकारी गराए । प्रदेश पाँच अहिले औषत अवस्थामा रहेको भन्दै मिनि नेपालको रूपमा रहेको प्रदेशलाई समृद्ध बनाएर छाडने संकल्पका साथ प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रदेश नम्बर पाँचको राजधानी बुटवल नै बन्नुपर्ने बताए । यहाँका जनताको त्याग र संघर्षबाट प्रदेश पाँच पहाड र तराईलाई अलग्याउने प्रयत्नबाट जोगिएको भन्दै प्रदेशको स्थानीय राजधानी बुटवल नै हुनुपर्ने बताए । त्यसको लागि मुख्यमन्त्रीले पहलकदमी लिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि श्रीलंकका राजदुत स्रोन परेराले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामको प्रवद्र्धन गर्न सके नेपालले पर्यटनको माध्यामबाट ठूलो समृद्धि हासिन गर्न सक्ने बताइन् ।

मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष पद्मप्रसाद श्रेष्ठले प्रत्येक वर्ष बुटवलमा हुने मेला महोत्सव गर्दा अस्थायी संरचना निर्माणमा ठूलो धनराशी खर्च भएको भन्दै छिट्टो स्थायी संरचना बनाउने सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिए । बुटवल मण्डपमा स्थायी प्रदर्शनी स्थल बनाउने प्रक्रिया अगाडि बढेको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाको रूपन्देही अध्यक्ष बद्रे आलम, नेपाल चम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली कांग्रेस बुटवल नगर सचिव ज्योति भण्डारी, रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिलाल ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसी लगायतले बोल्दै मेला महोत्सव उपयोगी बन्नुपर्नेमा जोड दिए ।

‘स्वरोजगार आत्मनिर्भरताको आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नाराका साथ सुरु भएको मेला यहीँ मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शक र ४० करोड रूपैयाँ बराबरको कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् ।