अनखबर काठमाडौं, पौष २९ । परमेश्वरको डर  देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा ललितपुरमा क्रिस्चियन धर्मका एकजना गुरुलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरीय प्रहरी परिसरले ध्रुवबाबु जोशीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

आइतबार साँझ पक्राउ परेका जोशीले चर्चमा प्रार्थना गर्न जानेक्रममा एक महिलालाई परमेश्वर र पापको त्रास देखाई ३ महिनादेखि बलात्कार गरेको आरोप छ।

रोग निको हुने विश्वासमा परेर ललितपुरकाे मण्डली चर्चमा प्रार्थना गर्न गर्न जाने क्रममा पास्टर भनिने ध्रुवबाबु जोशीले  पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर बलात्कार गरेकाे पीडितले प्रहरीमा दिएकाे उजुरीमा उल्लेख गरेकी छन्।

पहिलोपटक ललितपुर महानगरपालिकाअन्तर्गत चापागाँउमोडको एक गेस्ट हाउसमा बोलाएर जबर्जस्ती करणी गरेको पिडित महिलाको अारोप छ ।

दोस्रोपटक आफैंले सञ्चालन गरेको पसलमा आएर पास्टर जोशीले जबर्जस्ती करणी गर्न खोज्दा आफूले अस्वीकार गरेकाे तर पहिला शारीरिक सम्पर्क भइसकेकाे कुरा परिवार/साथीभाइ सबैलाई हल्ला गरिदिने धम्की दिँदै जबर्जस्ती करणी गरेकाे पीडितकाे भनाइ छ।

पछिल्लोपटक यही पुसको पहिलो हप्तातिर पुनः आफ्नै पसलमा आएर विभिन्न डरत्रास देखाई जोशीले जबर्जस्ती करण गरेको पीडित महिलाले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा उल्लेख छ।

उजुरीका आधारमा जोशीलाई आइतबार साँझ पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको   छ ।