काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।
पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो।
सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताए।
उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले हिजो कार्यतालिका सार्वजनिक गर्नुभएको छ। रोक्न माग गर्दै हामी अदालत जाने तयारी गरेका छौँ। साथीहरूले त्यसका लागि काम गरिराख्नुभएको छ।’
उनले सम्भव भएसम्म आजै जानसक्ने उनले बताए। उनले थपे, ‘आजै पनि हुनसक्छ, नभए एक दुई दिनमा हुनपनि सक्छ।’
देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।
यसअघि इतर पक्षका नेता डा। शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र सानेपालाई पत्र पठाएका थिए।
तर सभापति थापाले भने महाधिवेशन निर्धारित मितिमा तलमाथि नहुने अडान लिइरहेका छन्। असन्तुष्ट समूहलाई समेट्न महाधिवेशन कार्यतालिका पछि धकेलेका थिए।