रुपन्देही-३०
कोरोना भाइरस महामारीका कारण भैरहवाको शान्तीनगर बस्ने वर्ष ३४ की तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । लामो समयदेखि अँगालेको पेशा नहुँदा यौनिक तथा अल्पसख्यक समुदायकी गुरुङलाई छाक टार्न निकै सकस भएको छ । पेट पाल्नका गुरुङ अहिले कामको खोजीमा छिन्। तर, कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु । तेस्रो लिङ्गी भनेर समाजले गर्ने फरक व्यवहारले झन पीडा थपेको छ’, गुरुङ भन्छिन् ।

परिवार र समाजले स्वीकार नगर्दाको पीडा एकातिर छ नै कोरोनाले भोकभोकै मर्ने स्थिती नआओस भनेर जस्तोसुकै काम गर्न पछि नपर्ने गुरुङको भनाइ छ । ‘हामीलाई देख्ने वित्तिकै कुनै कार्यालय काम दिन तयार हुँदैनन् त्यसैले ग्राहक कुर्दै सडकमा उभिनुको विकल्प छैन’, बाध्यताले यौन व्यवसाय गर्नुपरेको पीडा सुनाउँदै गुरुङ भन्छिन् । रोगको भन्दा भोकको चिन्ताले राति–राति भैरहवाका गल्लीमा ग्राहक कुर्दै बस्दाको पीडा असह्य छ गुरुङलाई । तर, कतैबाट राहत नपाएकाले गर्जो टार्न सहरका सडक गुरुङका साथी जस्तै बनेका छन् ।

रुपन्देहीको देवदहकी सायरा गुरुङको पनि पीडा उस्तै छ । सानैमा बुवा गुमाएकी सायरालाई आमाले मजदुरी गरेर हुर्काए । पढाइमा अब्बल सायराले विद्यालयमा राम्रो व्यवहार नभएकै कारण कक्षा १२ पुगेपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् । ‘कोरोनाले गर्दा घरको स्थिती नाजुक छ, आमाको कमाइले परिवारका तीन सदस्यको गुजारा चल्ने अवस्था छैन, तेस्रो लिङ्गी भएकै कारण मैले काम पाउदिन” एक्लोलाई साहारा दिने वृक्ष समुह र ओपन सोसाइटी फाउण्डेशनले शंकरनगरमा गरेको कार्यक्रममा दुखेसो पोख्दै सायराले भनिन्, ‘परिवार र समाजको लाञ्छनाको घरभित्र एउटा र बाहिर अर्को जीवन जिउँदै आएका छौँ ।’ तीनवटा सरकार भएर पनि भोकै बस्नुपर्ने अवस्था आउनु बिडम्बना भएको सायराको भनाई छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने आशिका थापा पनि कोरोनाको मारले समस्यामा हुनुहुन्छ । यौनिक तथा अल्पसंख्यक समुदायको भएकै कारण शान्ती नमूना माविमा कक्षा ११ मा पढ्दै गर्दा बिचमै छाडेकी थापाको कुनै रोजगारी छैन । थापाले भनिन्, ‘मैले स्कुलमै पनि यौनहिंसा भोगे, समाजले मलाई तिरस्कार मात्रै गर्छ, आखिर म पनि यही देशको नागरिक हुँ भनेर कहिले स्वीकार गरिन्छ ?’ तमन्ना, आशिका र सायरा त प्रतिनिधि पात्र मात्रै हुन् । यौनिक तथा अल्पसंख्यक समुदायको भएका कारण परिवार र समाजबाट अपहेलित भएका उनीहरुलाई कोरोनाले झनै समस्या थपिदिएको छ ।

कोरोना महामारीका समयमा स्थानीय तहले राहतका कार्यक्रम ल्याए पनि यो समुदायले भने केही पनि नपाएको गुनासो गर्छन् । ‘प्रदेशका सबै स्थानीय तहले राहात वितरण गरे तर, हामीले पाएनौ, हामीलाई राहतमा पनि विभेद गरियो’ एक्लोलाई साहारा दिने वृक्ष समूहका प्रदेश संयोजक रेशम न्यौपाने भन्छन्। सरकारले दिने राहत लगायत विभिन्न सुविधाका लागि परिचयपत्र वा नागरिकताको आवश्यकता हुन्छ तर, यो समुदायका धेरै नागरिक नागरिकताबाट बञ्चित छन् । यसो हुँदा सरकारले दिने सेवा सुविधाबाट समेत आफूहरु बञ्चित हुनुपरेको एक्लोलाई साहारा दिने वृक्ष समुहका अध्यक्ष अवान्तिका घर्तीको गुनासो छ ।

‘पछिल्लो समय सरकारले नागरिकता विधेयकर्मा लिङ्ग परिवर्तन र चिकित्सकबाट प्रमाणीत हुनुपर्ने’ भन्ने गलत प्रावधान राखेको छ । यसलाई हटाएर स्व–घोषणाको आधारमा नागरिकता दिने व्यवस्था गर्नुपर्छ’, अध्यक्ष घर्ती भन्छिन्। यो समुदायलाई गास, बास र कपासको सुनिश्चित गर्नु तीन तहका सरकारको दायित्व हो । प्रत्येक पालिकामा रोजगारीका अवसर सृजना गर्न सके तेसा्रे लिङ्गीले पनि सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण बन्छ भन्छिन्, ब्लु डाइमण्ड सोसाइटीका राष्ट्रिय दिशा निर्देश तथा परिचालन अधिकृत आनिक राना । ‘हामीले तिरेको कर चल्छ, भोट चल्छ तर हामीले भनेको किन चल्दैन ?’ राना प्रश्न गर्छिन् ।

कोरोना महामारीका कारण रोजगारीका अवसर नहुँदा र भएको रोजगारी गुमाउनु पर्दा कतिपय तेस्रो लिङ्गीहरुले आत्महत्याको बाटो रोजेको राना बताउँछिन्। रानाका अनुसार कोरोना महामारी शुरुभएदेखि साउन २२ गतेसम्ममा नेपालमा २३ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले आत्महत्या गरेका छन् भने १३ जनाले आत्महत्याको प्रयास गरेका छन् । रुपन्देहीमा दुई जनाले आत्महत्या गरेका छन् । नेपालमा समलिङ्गि विवाहलाई कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकमा मानसिक समस्या समेत देखिने गरेको छ ।

हरेक महिला पुरुषलाई जस्तै तेस्रो लिङ्गिसमुदायलाई पनि आफूले चाहेको जिवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित भए यो समस्या समाधान हुन्छ भन्छन्, अभियान्ता विनोद विसी । महिला र पुरुष बीचको विवाह मान्य हुने तर हाम्रो विवाह मान्यता नपाउने भएकाले एउटै देशका नागरिकबिच पनि ठूलो विभेद देखिएको उनको भनाई छ ।