यूएई, असार १५ – शितगंगा सम्पर्क समिति यूएईको आयोजनामा असार १५ को अवसर पारेर दही–चिउरा खाने तथा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रोजगार तथा अन्य विभिन्न सिलसिलामा यूएईका विभिन्न शहरमा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष जे.पी. पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले विदेशी भूमिमा रहे पनि नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको दायित्व भएको बताउनुभयो। कार्यक्रममा शितगंगा सम्पर्क समिति यूएईका अध्यक्ष गणेशप्रसाद पौडेलले व्यस्त कार्यतालिकाका बाबजुद कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, राष्ट्रिय तथा स्थानीय कलाकार, पत्रकार तथा यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको विशेष आकर्षणका रूपमा राष्ट्रिय कलाकार सम्झना रणपालको सशक्त सांगीतिक प्रस्तुति रहेको थियो। उहाँको प्रस्तुतीले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो। साथै स्थानीय कलाकारहरूले नृत्य, गायन, हास्यव्यंग्यलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। यस अवसरमा राष्ट्रिय कलाकार सम्झना रणपाललाई शितगंगा सम्पर्क समिति यूएई र अर्घाखाँची सम्पर्क समाज यूएईले आ–आफ्नो तर्फबाट मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सम्पर्क समाज यूएईका अध्यक्ष नारायणप्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो। साथै भूमिकास्थान (अर्घाखाँची) सम्पर्क समाज यूएई, बलकोट सम्पर्क समिति यूएई तथा यूएईमा सक्रिय विभिन्न सामाजिक अभियन्ताहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष हरि बि.सी.को संयोजकत्वमा सम्पन्न कार्यक्रममा सविता खनाल चुदालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव लेखनाथ पौडेल र रामप्रसाद भुषालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा यूएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
