अनखबर संवाददाता
आज भन्दा २६ बर्ष अगाडि भारतबाट नेपाली काङ्ग्रेसको सदस्यता लिएका वालिङ १२ कोखेका कुल बहादुर गुरुङले २६ बर्षपछी एमाले रोजेका छन् । स्याङ्जाको वालिङ् मा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा गुरुङलाई एमाले नेता टोप बहादुर रायमाझीले एमाले प्रवेश गराएका हुन ।
लामो समयसम्म साविकको सिर्सेकोट गाविसका काङ्ग्रेस गाविस सभापति समेत रहेका गुरुङ हाल क्षेत्रीय प्रतिनिधि समेत थिए।
यस्तै एमाले वालिङ र चापाकोटमा आयोजना गरेका कार्यक्रममा ७५ जना विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा समाजसेवी एमाले प्रवेश गरेको पुर्व मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभएको छ ।
संघीय सांसद समेत रहनु भएकी अर्यालले सामाजिक सञ्जालमा एमाले स्याङ्जामा जनलहर बढेको बताउदै
वालिङ र चापाकोटमा ७५ जना समाजसेवी पार्टी प्रवेश गरेको बताउनुभयो ।
स्याङ्जाको वालिङ नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई एमाले नेता टोपबहादुर रायमाझी,पुर्व मन्त्री पद्मा कुमारी अर्याल,एमाले जिल्ला अध्यक्ष पारस गैह्रे,प्रदेश सांसद मोहन रेग्मी,किशोर विक्रम मल्ल लगायतका नेताले सम्बोधन गरेको एमाले वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रेले बताउनुभयो ।
डुम्रेको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगर सचिव शोभाकान्त पौडेलले गर्नुभएको थियोे भने स्वागत अनन्तराज गैरेले गर्नुभएको आयोजकले बताएको छ ।