सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण स्थगित गरेको बताएका छन्।

बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग चीन भ्रमण हालका लागि स्थगित गरिएको बताए।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालमा रहेका बेला अध्ययनका लागि चीन जानु आफैंलाई रमाइलो नलागेको प्रचण्डको भनाइ छ।

‘एउटा अध्यक्ष बिरामी भएको बेला अध्ययन भ्रमणमा जान रमाइलो लागेन,’ प्रचण्डले भने, ‘म अहिले कुनै कूटनीतिक कारणले चीन जान रोकेको होइन। प्रष्ट कुरा के हो भने प्रधानमन्त्री अस्पतालमा भएको र घाउ नै सञ्चो हुन एक महिना लाग्ने भएकोले हाललाई स्थगित गरेको हो।’

प्रधानमन्त्री ओली एक-दुई दिनमा अस्पतालबाट डिस्चार्ज हुने उनले बताए। डिस्चार्ज भए पनि घाउ निको हुन समय लाग्ने उनको भनाइ छ।

‘प्रधानमन्त्री केही दिनमा डिस्चार्ज हुनुहुन्छ। डाक्टरहरूले मलाई बताएअनुसार घाउ सञ्चो हुन समय लाग्छ,’ उनले भने।

प्रचण्ड मंसिर २४ गते चीन जाने तयारी भए पनि स्थगित भएको थियो।

यसअघि प्रचण्ड मंसिर २४ गते पाँच दर्जन नेकपाका नेता/कार्यकर्ता लिएर चीन जाने कार्यक्रम तय भएको थियो।