काठमाडौं । उमा भुजेल ‘शिलु’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने पहलस्वरूप माओवादी धारासहित विभिन्न कम्युनिस्ट घटकसँग संवाद र एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

पार्टी एकताका लागि गठित वार्ता तथा संवाद समितिको बैठक पार्टी महासचिव उमा भुजेल ‘शिलु’को प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न भएको हो। बैठकको अध्यक्षता वार्ता तथा संवाद समितिका संयोजक वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ले गरेका थिए।

बैठकले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक, राजनीतिक तथा सांगठनिक विभाजनका अनुभवबाट शिक्षा लिँदै नयाँ सैद्धान्तिक, वैचारिक, राजनीतिक, सांगठनिक, आर्थिक तथा सामाजिक आधारमा कम्युनिस्ट शक्तिहरूबीच एकताको पहल गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।

विशेषगरी नेपाली कम्युनिस्ट पार्टी र माओवादी धाराका विभिन्न घटकहरूसँग संवाद अघि बढाउँदै पार्टी एकताको सम्भावना खोज्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा एकता र विभाजन समानान्तर रूपमा अघि बढेको देखिन्छ। २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भएर नेकपा (एमाले) बनेदेखि माओवादी धाराभित्र पनि विभिन्न चरणमा पार्टी एकता र विभाजन हुँदै आएका छन्। २०६५ सालमा तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र–मसाल) बीच एकता भएको थियो भने त्यसपछि पनि माओवादी धाराभित्र विभिन्न समूह निर्माण र पुनःएकताको क्रम चलिरह्यो।

यसक्रमको सबैभन्दा ठूलो राजनीतिक प्रयोगका रूपमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र त्यसपछि २०७५ जेठ ३ गते भएको पार्टी एकतालाई लिन सकिन्छ। दुई दलको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। संसदमा झण्डै दुई तिहाइको शक्ति प्राप्त गरेको उक्त एकता नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै महत्वपूर्ण घटनाका रूपमा स्थापित भयो।

तर नेकपाभित्रको आन्तरिक राजनीतिक तथा सांगठनिक विवाद चर्किँदै गएपछि २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए। त्यसपछि एमालेबाट नेकपा (एकीकृत समाजवादी) समेत गठन भयो। यसले नेपालको कम्युनिस्ट आन्दोलनमा एकताको आवश्यकता र विभाजनका कारणबारे पुनः बहस सिर्जना गरेको देखिन्छ।

यही पृष्ठभूमिमा उमा भुजेल नेतृत्वको नेकपाले अघि सारेको पछिल्लो एकता पहललाई कम्युनिस्ट शक्तिहरूलाई एउटै राजनीतिक प्रक्रियामा ल्याउने प्रयासका रूपमा हेरिएको छ। बैठकले विगतका एकता प्रक्रियाबाट प्राप्त अनुभव तथा विभाजनका कारणहरूलाई समेत ध्यानमा राख्दै नयाँ आधार निर्माण गरेर अघि बढ्ने धारणा अघि सारेको छ।

बैठकमा वैचारिक तथा राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना, आर्थिक नीति, सामाजिक सवाल र जनजीविकाका विषयमा साझा आधार पहिचान गरेर मात्र एकताको प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको जनाइएको छ।

पार्टीका लागि अहिलेको मुख्य चुनौती भनेको विभिन्न कम्युनिस्ट समूहबीच केवल संगठनात्मक एकता गर्नेभन्दा पनि वैचारिक तथा राजनीतिक आधारमा साझा दृष्टिकोण निर्माण गर्नु हुनेछ। विगतमा भएको एमाले–माओवादी एकताले ठूलो राजनीतिक शक्ति निर्माण गरे पनि लामो समय टिक्न नसकेको अनुभवले आगामी एकता प्रयासमा नेतृत्व, संगठन, कार्यदिशा र शक्ति बाँडफाँटजस्ता विषय महत्वपूर्ण बन्ने देखिन्छ।

उमा भुजेल नेतृत्वको नेकपाले भने विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ आधारमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित संवाद अघि बढाउने बताएको छ। अब वार्ता तथा संवाद समितिले कुन–कुन कम्युनिस्ट तथा माओवादी धाराका समूहसँग संवाद अघि बढाउँछ र ती समूहबीच वैचारिक तथा राजनीतिक सहमति निर्माण गर्न कस्तो आधार प्रस्ताव गर्छ, त्यसले यो पहलको आगामी दिशा निर्धारण गर्नेछ।