अमेरिकाको वासिङ्टनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलन सुरू भएको छ। बिहीबारदेखि सुरू भएको सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापा पनि सम्मेलनमा सहभागी छन्।

सम्मेलनको उद्घाटन क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्परले गरेका छन् भने विश्वका ५५ देशका राजनीतिक दलका नेताहरू सो सम्मेलनमा सहभागी छन्।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा हुनेछ। परम्परागत मूल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा पनि छलफल हुनेछ। साथै, राप्रपा अध्यक्ष थापाले क्यानडाका पूर्वप्रधानमन्त्री हार्परलाई भेटेका छन्।

विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा भेटवार्तामा कुराकानी भएको राप्रपा नेपालका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।