नेपालकी संगीता राईले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन्।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन्। यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन्। श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन्।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ।