अनखबर डेस्क
रुपन्देही ।
पछिल्लो समय राजनीतिक बृतमा चर्चाको शिखरमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाह अहिले प्रदेश न ५ का विभिन्न धार्मिकस्थलहरुमा धार्मिक भ्रमण तथा दर्शन गर्न भन्दै हिडिरहेका छन । केही दिन अगाडीदेखि रुपन्देहीका विभिन्न धार्मिक क्षेत्र, कपिलवस्तु हुदै नवलपरासीका मन्दिरहरुमा पुगेका उनको यात्रा के को लागि भन्ने चर्चाले अहिले बजार तातेको छ ।
एकातिर घन्टौं लगाएर मन्दिरहरुमा गरिने धार्मिक पुजापाठ र अर्कोतिर धर्मका नाममा आएर ठुला ठुला रिसोर्टहरुमा गरिने गोप्य भेटघाटले राजाको भ्रमण के धार्मिकमात्रै हो त भन्ने बिषयमा बहस भैराखेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गरेका छन्। पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गरेका थिए ।
पाल्हीनन्दन गाँउपालीका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गरेको बताईएको छ ।
पुजाआजा पछि संक्षिप्त भनाई राख्दै पुर्वराजा ज्ञानेन्द्रले सबै नेपाली एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। झन्डै एक मिनेट मात्रै बोलेका पूर्व राजाले सबै नेपालीको एकतामा जोड दिए । उनले भने – ‘उपस्थित सबै महानुभावलाई धन्यवाद दिन चाहान्छु, नेपालीहरु सबै एकतावद्ध हुनुपर्छ, होस्टेमा हैसे गर्दे अगाडि बढ्नुपर्छ।’
पुर्व राजा आउने भएपछि राजा सर्मथकहरुले शुक्रबार देखिनै गेट निर्माण देखि नगर राजा आउ देश बचाउ लेखिएका व्यानर पनि ठाँउ ठाँउमा टासिएको थियो ।
उनको स्वागतमा राप्रपा संयुक्तका नेताहरु, शिवसेना नेपालका युवा, स्थानीय लगायत सयौँको उपस्थिति रहेको थियो । पूर्व राजाले पुजाआजा गर्दा र बाहिरिने क्रममा सर्मथकहरुले राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने जस्ता नारा लगाएका थिए । पुर्वराजालाई हेर्न उपस्थित भएको भिडका कारण शाहलाई मन्दिरबाट बाहिरिन समेत समस्या भएको थियो । शाह शनिबार नै भलुहीमा रहेको गाई फार्मको पनि अवलोकन गरी फर्किएका थिए।
केही दिन अगाडि उनी पाल्पाको तानसेनस्थित भगवती मन्दिर, रुपन्देहीको परोर्हा धाम, मर्चवारी माई, कपिलवस्तको गोरुसिङ्गेस्थित पसुपती मन्दिर लगायत केही धार्मिक क्षेत्रहरुमा पुगेका थिए । उनी यसरी धार्मिक कार्यक्रममा निस्कनु नयाँ कुरा होईन, बेलाबेलामा निस्किरहने पुर्वराजाको यो बानिलाई अहिलेभने असामान्य मान्न सकिन्न । एकातिर राजाको स्वागतको तामझाम र स्वागतमा एमाले, माओवादी, काङ्ग्रेस देखि मधेसबादी दलहरुबाट लागेको लर्को र कार्यक्रमहरुमा लगाईएका नाराले यसको प्रष्ट पार्छ ।
रुपन्देहीमा रहदा बुटवलको महाराजा रिसोर्टमा बसेर उनले केही गोप्य भेटघाट गरेका थिए भने, भोलिपल्ट कोटिहवाको टाईगर रिसोर्टमा बसेर उनले राजनीति भेटघाट देखि केही पुर्व राजदुतहरु, काङ्ग्रेसका केही नेता देखि हिन्दु धर्मका अभियान्ताहरुसग परामर्शमा थिए, यस्तै उनको कपिलवस्तुमा पनि गोप्य रुपमा भारतिय अधिकारीहरुसग भेट भएको बुझिएको छ भने उनी अझ केही दिन धर्मको नाममा भेटघाटतिरै हुनेछ्न । पुर्वराजाको मन खासगरी भक्ती वा धर्ममा भन्दा नि भेटघाट र राजनीतिक बढी देखिएको छ, कम बोल्ने र कुटनैतिक पहलमा प्रखर मानिने राजाको यो यात्राले धर्मभित्र लुकेको राजनीति र हिन्दु धर्म सहित राजतन्त्रको पुनरावलोकनको दृश्य देखिने हो कि भन्ने संशय राजनीतिक बृतमा देखा परेको छ ।
एकातिर संसदीय व्यवस्थाको विकल्पको स्वरहरु आईरहेको र अर्कोतिर दुईतिहाईको सरकारले पनि जनतामा विकास र परिवर्तनको आभास दिन नसकिरहेको बेला यसरी राजाको भ्रमण हुनु र भेटघाट बढ्नुले अस्वभाविक संकेत गरिरहेको त छैन ?