अनखबर/खेलकुद डेक्स
मंसिर २१
१३औं दक्षिण एसियाली खेदकुल (साग)मा नेपालले अहिलेसम्म ४३ स्वर्ण जितेको छ । बिहीबार नेपालको स्वर्ण पदक संख्या ३६ थियो भने शुक्रबार ५ स्वर्ण थपिएसँगै ४१ पुगेको थियो। शनिबार नेपालले दुई स्वर्ण जितेसँगै नेपालको स्वर्ण पदकको संख्या ४३ पुगेको छ । नेपालले शनिबारसम्म ३२ रजत, ६२ कास्यसहित कुल १ सय २३ पदक जितेको छ । ९७ स्वर्ण, ६८ रतज र ३४ कास्यसहित भारत पहिलो स्थानमा छ ।
शनिबार नेपालले एथ्लेटिक्सको म्याराथनमा स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे ।
किरणको यो ट्रयाक एण्ड फिल्डमा पहिलो व्यक्तिगत स्वर्ण हो । भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयसहित रजत जिते । भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्डसहित कास्य जिते ।
त्यसैगरी कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । ५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् ।
सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो ।
यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।
नेपालले शुक्रबार गल्फ, पौडी, भारोत्तोलन र एथ्लेटिक्समा गरी थप पाँच स्वर्ण जितेको हो । पुरुष भारोत्तोलन ८९ केजी तौल समूहमा विकास थापाले स्वर्ण पदक उम्किन दिएनन् ।
गल्फको पुरुष एकलतर्फ नेपाललाई १७ वर्षीय सुभाष तामाङले स्वर्ण दिलाए । गल्फकै पुरुष टिम इभेन्टमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जित्यो ।
एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले नेपालको नाममा स्वर्ण थपे । नेपालकी गौरिका सिंहले महिला २ सय ब्याक स्ट्रोक पौडीमा स्वर्ण जितिन् ।
कुल ३ सय १८ स्वर्णमा नेपालले न्यूनतम ५० स्वर्ण जित्दै १३ औं सागमा दोस्रो हुने लक्ष्य राखेको छ । नेपालबाट आश गरिएका अधिकांश खेल सकिए पनि अन्य खेलबाट नेपालले स्वर्ण जित्ने अपेक्षा गरिएको छ ।
अझै एक सयभन्दा बढी स्वर्णका लागि प्रतिस्पर्धा हुन बाँकी नै छ । समग्रमा नेपालले लिएको लक्ष्यअनुसार कम्तिमा ५० स्वर्ण हात पार्ने सम्भावना देखिएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले ५० स्वर्ण नाघ्ने दाबी गरेका छन् । सन् १९९९ मा भएको आठौं सागमा ३१ स्वर्ण जित्दै नेपाल दोस्रो भएको थियो