अनखबर
काठमाडौं,२३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिले  प्रशासन समक्ष आत्मसमर्पण गरेका पदम काफ्लेलाई यसअघि नै संगठनले कारवाही गरिसकेकाले फेरी नाम जोडेर भ्रम सिर्जना नगर्न चेतावनी दिएको छ ।

अखिल (क्रान्तिकारी)का सेती महाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इमान्दारीपूर्वक देश र राष्ट्रका निम्ति कार्यक्रममा जुटिरहेको सङ्गठनका सम्पूर्णलाई आत्मसमर्पणवादी र अराजक तत्वको भ्रममा नपरी आन्दोलनको मोर्चामा सशक्त रुपमा डटिरहन विशेष अनुरोध गर्नुभएको छ ।

शाहले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दलाल राज्यको प्रशासन र प्रहरी समक्ष आफू स्वतन्त्र हुने निवेदन सहित सरकारी नेकपाको संरक्षणमा आत्मसमर्पण गरेर रिहा भएका पदम काफ्लेलाई मिति २०७६ साल कात्तिक ८ गतेका दिन सङ्गठनको कैलाली जिल्ला अध्यक्ष र सम्पूर्ण जिम्मेवारीबाट अनिश्चित कालकालागि निलम्बन गरिएको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इमानदारीपूर्वक सङ्गठनको कारवाही भोग्न र सङ्गठन विरोधी क्रियाकलापमा नलाग्न सचेत गराउदा पनि सङ्गठनको अध्यक्ष नै रहेको प्रचार गर्ने, जिल्ला स्तरका विद्यार्थी नेताहरुको बीचमा भ्रम सिर्जना गर्ने र भडाउने गतिविधिमा रहेका थिए र हाल आएर अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्ष भनेर सरकारी नेकपामा प्रवेश गरेको कुरा आएको छ साथै फर्जी नामावली तयार गरी भ्रम सिर्जना गर्न खोजिएको छ ।’

संङ्गठनले कार्वाही गरेका पदम काफ्ले र एकदुई जना अराजक तत्व बाहेकअरु कोई कहिकतै नगएको कुरा सम्प्रेषण गर्दै पदम काफ्लेको सङ्गठनबाट साधारण सदस्यता समेत खारेज गर्दै निष्काशन गरिएको  विज्ञप्तिमा उल्लेख छ।