अनखबर
काठमाडौं, २३ मंसिर । नेपाललाई ४ वटा स्वर्णपदक जिताउने गौरिका तिनै बालिका हुन जस्ले १३ बर्षकै उमेरमा रियो ओलम्पिकमा सहभागी भएर नेपालको नाम रोशन गरिन । नेपाली जलपरी गौरिका सिंहले सनसनी मच्चाउँदै दक्षिण एसियाली खेलकुद सागको एउटै संस्करणमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् ।
जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
यस स्पर्धामा भारतकी शिवांगी शर्माले ५८ दशमलव १५ सेकेण्डमा दूरी छिचोल्दै रजत र भारतकै एन्नी जैनले ५९ दशमलव ०४ सेकेण्डमा पूरा गरी काँस्य पदक जित्न सफल भइन ।
गौरिकाले यस अघि ४ सय मिटर फ्रिस्टाइल, दुई सय मिटर फ्रि–स्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।
लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यस अघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा रजत पदक दिलाएकी थिइन ।
रियो ओलम्पिकमा सहभागी खेलाडी मध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी थिइन् ।
गौरिका एएसलसीमा बोर्ड फस्ट ल्याउन सफल गरिमा राणा तथा पारस सिंहकी पुत्री हुन् ।