अनखबर
धनुषा, २८ मंसिर । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । बम विस्फोटमा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक दाहालसहित ४ जना गम्भीर घाइते थिए ।

विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उहाँका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको प्रहरीको भनाई छ ।  इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुगेर बम भए नभएको जाँच गर्ने क्रममा  विस्फोट भएको थियो।

विस्फोटमा परि प्रहरी जवान रिजन महतो,  मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते  छन्। घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। अनुसन्धान तीव्र पारिएकाे धनुषा प्रहरीले जनाएको छ।