अनखबर
सिन्धुपाल्चाेक, २९ मंसिर । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यू भएको  छ ।
दोलखाकाे कालिन्चोक दर्शन गरेर काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलो माेडबाट खसेकाे थियाे । दुर्घटनामा  ज्यान गुमाउने १५ मध्य १४ जनाको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का अन्दाजी २७ वर्षीय सुकबहादुर तामाङ,  ३० वर्षीया रेश्मा तामाङ र ७ वर्षीया सबिना छन्। दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ, सोही नगरपालिका ९ की २८ वर्षीया मञ्जु तामाङ र ४२ वर्षीया लक्ष्मी श्रेष्ठको पनि  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रामेछापको उमाकुण्ड गाउँपालिका ५ का २८ वर्षीय मेहेश तामाङ, भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय चिनु बस्नेत, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती मैया खत्रीको पनि दुर्घटनामा ज्यान गएको छ।

त्यस्तै लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षकी गङ्गामाया लामा र १५ महिनाकी रोशनी तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको दुर्घटनामा परी मृत्यु भएको छ। एक जनाको पहिचान हुन बाँकी छ ।


१७ जना घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।