– श्रीराम स्वरुप

लुम्बिनी प्रदेशको १२ जिल्लामध्येकै एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाल्पा जिल्लामा १० वटा स्थानीय निकाय रहेका छन। जसमा ८ वटा गाउँपालीका पर्छन भने बाँकी दुईमा रामपुर नगरपालिका र तानसेन नगरपालिका हुन। पाल्पामा रामपुर नगरपालिका पछि थपिन आएको हो भने सदरमुकाम तानसेन नगरपालिकाको रुपमा जनसंख्या, भुगोल एवं आर्थिक अवस्थाको आधारमा पहिलेदेखि नै कायम रहेको थियो। यश जिल्लाको सदरमुकाम बुटवल देखि उत्तर दिशातर्फ करिब ४२ किलोमिटर दुरीमा रहेको छ भने समुद्री सतहबाट १३५० मिटर उचाइमा रहेको छ। तानसेन नगरपालिका भित्रमा प्रति वर्ग किलोमिटर ४५९.१ जना मानिस बसोबास गर्ने गरेको तथा यसको कुल क्षेत्रफल १०९.८ किलोमिटर रहेको र जनसंख्या ५०,४०५ जना रहेको वि.सं. २०६८ को जनगणना अनुसार उल्लेख छ।

समग्रतामा नगरपालिका वरिपरि हरेक कुराले सुविधा सम्पन्न मान्ने प्रवित्ति रहेतापनि नगरपालिका भित्रकै कतिपय क्षेत्रहरु अझै पनि विकासका दृष्टिले निकै विमुख भएको पाउँछौँ। स्थानीय चुनावको सन्दर्भलाई जोड दिएर गराईएको स्थानिय सिमाङ्कन कत्तिको बैज्ञानिक एवं जनपक्षीय थियो त्यो अर्को विषय वस्तु बन्न सक्ला तर सिमाङ्कन भित्रका हाम्रा भुगोल एवं सामाजिक रहनसहन हामीले नगरपालिकाको रुपमा गर्व गर्न सक्ने अवस्थामा छन कि छैनन, सोच्नुपर्ने बेला आएको छ। पाल्पा भनेर समग्र जिल्लालाई बुझिने गरिए तापनि बाहिरी जिल्ला हुनेहरुले भने सदरमुकाम क्षेत्रलाई मात्र पाल्पा भनेर बुझ्ने गरेको पाइन्छ।

तानसेन बजारलाई मोटामोटी रुपमा सिमांकन गरेर हेर्ने हो भने बसपार्क भाग, बतासे भाग सरकारी अस्पताल र मिसन अस्पताल भाग बिचको भूभाग लाई लिन सक्छौं। यहि भूभाग भित्र करिब 20 वटाको हाराहारीमा शैक्षिक संस्था तथा चारवटा उच्चशिक्षाका विद्यालय छन। त्यसबाहेक झण्डै दर्जनको हाराहारीमा विभिन्न कोचिङ सेन्टरहरु सन्चालनमा छन भने केही उच्च सुविधा युक्तका होटल, लज हरु समेत सन्चालन नभएका होइनन् । यस्तै किराना पसल, कपडा पसल, हार्डवेयर सामाग्री, स्टेसनरी पसल, जुत्ता पसल, मदिरा पसल इलेक्ट्रोनिक तथा साइवर क्षेत्रका पसलहरु, मेडिकलहरु छरिएर सन्चालित छन। सहारा कला केन्द्र, छमछम कला केन्द्र, सारेगम कला केन्द्र लगायतका केही साँस्कृतिक संघ संस्थाहरु सन्चालित छन भने साहित्य क्षेत्रमा पाल्पा साहित्य समाजको उपस्थिती छ। सिनेमाको रुपमा एकमात्र चलचित्र हल भनेको सन्तोष चलचित्र मन्दिर विशाल बजारमा सन्चालित रहिआएको छ।
स्वास्थ क्षेत्रमा जिल्लामा खास गरेर युनाइटेड मिसन अस्पताल र सरकारी अस्पताल हुन त्यसबाहेकको हेर्ने हो भने प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल हो यी बाहेक आफ्नो तरिकाले नियम कानुनको परिधिभित्र रहेर सन्चालनमा रहेका मेडिकल कलेजहरु त हुने भई नै हाले। त्यस्तै मिडिया क्षेत्रमा श्रीनगर टेलिभिजन, सुर्योदय टेलिभिजन, झण्डै आधा दर्जन एफ एम स्टेसन र आधा दर्जनकै सेरोफेरोमा पत्रपत्रिका सन्चालित छन।

यसरी पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारलाई हेर्ने हो भने आज भन्दा बर्षौँ अघि र अहिलेमा हामीले खासै फरक भेट्न सक्दैनौं । केही गल्ली भित्रका मोटरबाटो पिच भए होलान, केही घरहरु निर्माण भए होलान, घरको भित्ताका रङहरु बदलिए होलान तर पछिल्लो समय तानसेन बजारभित्र निर्माण भएको गर्व गर्न सक्ने कुनै चिज छ ? श्रीनगरमा भ्यु टावरको निर्माण, टुँडिखेलमा होटेल ताजको स्थापना, नगरपालिकाले तोकेको पार्किङ शुल्क, केही महँगीएको कोठाभाडा यो बाहेक नि ? एक घण्टा पैदल लगाएर पुर्वको धर्मशाला बाट मिसन अस्पताल हुँदै गैरागाउँ, नारायण स्थान, लहरे पिपल हुँदै पेट्रोल पम्पबाट तेस्रो सडक, ठाडो गल्ली, शितलपाटिबाट भगवती टोल, बिशाल बजार हुँदै कैलाश नगर तथा यता सितलपार्टी बाट होटेल अन्नपूर्ण गार्डेन आइपुग्दा लगभग तानसेन बजार सकिन्छ। तानसेन बजार यति सानो एवं फुर्सदिलो छ कि मानौँ एउटा सानो घटना भयो,घट्यो भनेपनि पूरा टोल,बजार भरि फैलिन्छ। हरेक गल्लीमा, हरेक टोलमा जतिसुकै बेला पनि आफुले नचिनेको मान्छे हुँदैन यसले पनि तानसेन बजारको आकारलाई सजिलै प्रमाणित गर्छ।

तानसेनमा मात्र नभई पाल्पामै त्यस्तो धेरै क्रियासिल संघ संगठनहरु छैनन। पाल्पामा सबैभन्दा क्रियासिल संगठन भनेको ‘एन बि आर’ जसमा युवा पुरुष वर्गको उपस्थित रहने हिसाबले कार्यक्रम हुँदै आएका छ भने कतिपय सन्दर्भमा डब्लू आर आर संग संयुक्त प्रयासमा समेत सामाजिक कार्यक्रम गर्दै आएको छ। एन बि आरले सामाजिक संस्था फेसबुक मार्फत आफ्नो सन्जाल बिस्तार गरेर विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। उक्त संगठन देशभित्र मात्र नभएर बिदेशमा समेत नेपाली युवाहरु उत्तिकै क्रियासिल रहि आएका छन। यश बाहेक श्रीनगर लायन्स क्लबले पनि विभिन्न सन्दर्भमा विभिन्न कार्य गर्दै आएको छ। यी बाहेक आम जनमानसमा प्रभाव पार्न सक्ने गरि अन्य संघ संगठनले कार्य गरेको पाईदैन। राजनीतिक सन्दर्भमा हुने एउटा पाटो भयो नत्रभने पाल्पामा आन्दोलनको मोर्चा उठाउने गरि कुनै किसिमको जुलुस, सभा सम्मेलन भएको कमै देख्न पाइन्छ ।

पहिले पहिले तानसेनमा स्थायित्व तरिकाले डेरामा बसेर पढ्ने विद्यार्थीहरु प्रशस्त मात्रामा देखिए तापनि अहिले भने त्यसमा समेत कमि देखिन्छ। कतिपय ग्रामीण क्षेत्रबाटै आउने जाने गर्छन भने कतिपय रोजगार र विभिन्न अवसर समेत पाइने भन्दै तानसेन भन्दा बुटवल आसपासका क्षेत्रतिरै झर्नेको सङ्ख्या बढि देखिन्छ । त्रिभुवन बहुमुखी क्याम्पसमा पुग्ने हो भने दुई तिहाइ छात्रा देख्दा एक तिहाइ छात्र पनि मुस्किलले देख्न सकिन्छ। केही व्यापार व्यवसाय गर्ने र जागिरे बाहेक अरुमा चलायमान शैली भएको सहजै अनुमान लगाउन सकिन्छ। एक त भौगोलिक हिसाबले पनि यहाँ यो भन्दा बढी निर्माण संरचना निर्माण गर्न कठिन छ। यो भन्दा बजार बिस्तार हुने अवस्था पनि कम देखिन्छ भने स्थानीय निकायहरुको उपस्थित, गाउँ गाउँमा सहजै मोटरको पहुँचले पनि तानसेन बजारको क्षेत्र साँघुरिएको हुन सक्छ। तानसेन बजारको रौनकतामा कमि आउनुका केही कारणहरु निम्न हुन सक्छन।

१. तानसेनमा रोजगारीको अभाव,
२. अवसरहरुको कमि,
३. भौगोलिक जटिलता,
४. स्थानीय निकायको अधिकार सम्पन्नता,
५. गाउँगाउँमा मोटरको पहुँच,
६. बुटवल आसपास क्षेत्रमा बढ्दो आकर्षण,
७. सिमित ब्यक्तिहरुको प्रभाव एंव उपस्थिति,
८. पानीको अभाव,
९. सिमित बिकल्पहरु,
१०. गाउँ घरमा समेत सुचना प्रविधिको बिकास एवं प्रचारप्रसार,
११. बजार विस्तारिकरण हुन नसक्नु,
१२. प्रतिस्पर्धात्मक क्रियाकलापहरुको कमि,
१३. प्रशस्त उद्योग कलकारखाना सन्चालनमा आउन नसक्नु,

यिनै विविध कारणहरुले तानसेन बजार साँघुरिदै गएको अनुमान लगाउन सकिन्छ। पछिल्लो सन्दर्भमा बजार आसपास भित्रै समेत घरघडेरी बिक्रीबितरण कारोबार ठप्प भएको छ। आज भन्दा पाँच- दश बर्ष अघि किनेको घडेरी अहिले उत्तिकै भाउमा बेच्न खोज्दा समेत बिक्री हुन नसकेको गुनासो सुनिनुले भविष्यमा तानसेन बजारको भविष्य कता जाला ? अनि सदरमुकाम बजार भित्रै विकास विस्तारको यो हैसियतले नगरपालिकाका कुना काप्चामा बिकासको आसा के ? गाउँपालिकाका क्षेत्रहरु नगरपालिकाको रुपमा घोषित हुन सक्ने बनाउन सरकारी स्तरबाटै पहल हुन्छ या त गाउँ अझै मधेसतिरै ओरालो लाग्छ भविष्यले बताउला अनि यहाँको नेतृत्वले कत्तिको काँध थाप्न सक्ला ? या त गाउँमा राजनीति सहरतिर दरबार ठड्याउन तल्लीन रहला, खबरदारी जरुरत भईसकेको छ ।

सन्दर्भ सामाग्री
– विकिपिडिया
– स्थलगत अध्ययन
– अन्तर्वार्ता
– अनुभव