अनखबर
जनकपुरधाम / पुस ७ । जनकपुरधामको शुक्रबारे बजार नजिक एकाबिहानै भेटिएको शंकास्पद बस्तु बम नभएर राक्षसको टाउको भेटिएको छ ।
राती १२ बजे भेटिएको सो शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय गर्दा चाडपर्वको बेला प्रयोग गरिएको माटोको बनाइएको आकृति भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताएका छन ।
तिरहुतिया बजारमा बीच तथा जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजारको छेउमा सो शंकास्पद वस्तु भेटिएको थियो ।
सो शंकास्पद बस्तु धनुषाको महेन्द्रनगर स्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे निष्क्रिय गरेको छ । स्थानीयलाई तर्साउने उद्देश्यले बम जस्तै तार झुण्डिएको सो पुत्लाको डेन (टाउको) राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताएका छन ।
नेपाली सेनाको टोलीले निष्क्रिय गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरिक्षक कार्कीले बताएका छन् । स्थानीय र प्रहरीलाई झुक्याउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने  बताउँदै उनले घटना बारे अनुसन्धान भइरहेको बताए ।
बीच बाटोमै सो शंकास्पद बस्तु रहेको छ कारण रातिदेखि नै घटना स्थालमा व्यापक रुपमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो । (न्युज२४)