अनखबर ७ पुस, काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्ध एकताबद्ध हुन विभिन्न राजनीतिक दलका नेताहरुले अपिल गरेका छन् ।

राष्ट्रिय जागरण मञ्चले काठमाण्डौंमा गरेको कार्यक्रममा सत्ता पक्ष, प्रतिपक्ष लगायतका दलका नेताहरुले आफ्ना मतभेद र सिद्धान्तहरुलाई एक ठाउँमा राखेर राष्ट्रियताको बिषयमा एकजुट पाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले भारतीय अतिक्रमणका विरुद्ध साझा धारणा बन्न नसक्नु दुखद भएको बताए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम कार्कीले भारतसँग छलफल गर्नका लागि बलियो आधार तयार गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियका विषमा सबै ठाउँमा आउनुपर्नेमा  जोड दिँदै लिम्पियाधुरा नेपालको हो भन्ने विषयमा ठोस प्रमाण तयार गरेर  भरतसँग छलफलमा बस्नुपर्ने मा  जोड दिनुभयो । उहाँले भारतीय शासक वर्गलाई हेरेर मात्रै धारणा बनाउन नहुने समेत उल्लेख गर्नुभयो ।

कार्कीले भारतीय प्रगतिशील जनताको समर्थन पनि आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’ हामीले समस्या मार्क्सवादी दृष्टिकोणबाट पनि समाधान गर्न आवश्यक छ, भारतमा कैयौं प्रगतिशील जनताहरु छन् उनीहरूको साथ लिन आवश्यक छ।’ उहाँले जनयुद्धकालमा भारतीय जनताका तर्फबाट भएको समर्थन स्मरण गर्दै भारतीय शासक वर्गलाई मात्रै हेरेर धारणा बनाउन नहुनेमा जोड दिनुभयो ।

नेता कार्कीले अहिलेको अवस्थाप्रति सन्तुष्ट नरहेको भन्दै बाध्यात्मक अवस्थामा चुप लाग्नु परेको समेत संकेत गर्नुभयो । उहाँले भन्नुभयो,’ हामी अहिलेको अवस्थाबाट सन्तुष्ट छैनौं संघीयतालाई संगीतालाई समाजवादको विकल्पका रुपमा प्रस्तुत गरिएको छ जुन खतरनाक छ, यो वाहियात हो,संघीयता कति दिन टिक्ने हो टुंगो छैन।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले अहिलेको सरकारमा राष्ट्रप्रतिको भावना नदेखेको बताउनुभयो । उहाँले अहिले सरकारसँग सुगौली सन्धीको मूल दस्तावेज नभएको भन्दै असन्तुष्टी जनाउनुभयो । उहाँले भन्नुभयो,’ अहिले सरकारसँग सुगौली सन्धीको मूल दस्तावेज छैन अनि केको आधारमा र कुन आधारमा अर्को देशसँग छलफल गर्न सक्छ ।’
भारतले  वार्ता गर्न तयार छौं भन्दा पनि नेपाल सरकार मौन रहनु आफैमा अनौठो विश्व भएको नेता खडकाको टिप्पणी छ । सरकारले कुरा उठाए आफूहरु पूर्णरुपमा साथ दिन तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो । नेता खड्काले अहिलेसम्म सीमा अतिक्रमणका विषयमा दलहरुबीच एउटै धारणा बन्न नसक्नु अाश्चर्यको बिषय  भएको उल्लेख
गर्नुभयो । उहाँले राष्ट्रियताका विषयमा सबै दलहरु एक ठाउँमा आउन पनि आग्रह गर्नुभयो ।


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भारतले हडपेको नेपाली भूमि फिर्ता ल्याउन नेपाल सरकारले आलटाल गरेको आरोप लगाउनुभयो  । अध्यक्ष कट्टेलले भारतले विधिवत रुपमै नेपालको भूमि आफ्नो नक्सामा पारेको बताउनुभयो । ‘इतिहासमा पहलो चोटी भारतीय विस्तारवादले जबरजस्ती हडप्दै बसेको नेपाली जमिनलाई अहिले आएर विधिवत रुपमै आफ्नो नक्साभित्र पारेको छ,’ उहाँले भन्नुभयो , ‘यो विषय नेपालीको लागि अत्यन्तै गम्भीर र पेचिलो विषय बनेको छ।’


नेपालको भूमीमा भारतीय अतिक्रमणका सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रम नेकपा क्रान्तिकारी माअाेवादीका नेता हरिभक्त कँडेल, नेकपा माओवादी केन्द्रकस गोपाल किराती, तथा राष्ट्रिय जागरण मन्चका अध्यक्ष गुणराज लोहनी लगायतले बोलेका थिए ।