अनखबर ८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  कैलालीले बर्दगोरिया वडा नं. २ का मधु रिजाललाई पत्र लेख्दै एनसेलको टावर हटाउन अनुरोध गरेको

छ ।

जिल्ला पार्टीका तर्फबाट लेखिएको पत्रमा भनिएको छ, ‘यहाँलाई अवगत नै छ, जनताको श्रम र पसिनामाथि ब्रह्मलुट मच्चाउने भ्रष्ट तथा दलाल सङ्घसंस्था, पात्रहरू र यसका संरक्षकहरूविरुद्ध हाम्रो पार्टी निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै क्रममा एक दर्जनको हाराहारीमा उच्च बलिदानसमेत भइसकेको छ । यस्तै भ्रष्ट, ठग र राष्ट्र नै लुट्ने दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यो देशका भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशसमेतलाई घूस दिएर अर्बौं रुपैयाँ करछली गरी नाङ्गो रूपमा लुटपाट मच्चाइरहेको कुराप्रति पनि तपाईं जानकार हुनुपर्छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘हाम्रो स्पष्ट बुझाइ के छ भने नेपालमा विद्यमान दलाल संसदीय व्यवस्था तथा यसैको संरक्षणमा भ्रष्ट, दलाल तथा देश लुटेराहरूको राज्यसत्ता कायम रहँदासम्म र यसलाई वैज्ञानिक समाजवादी व्यवस्थाले विस्थापन नगर्दासम्म शान्ति, स्थिरता र जनताको समृद्धिको कल्पना किमार्थ गर्न सकिँदैन । अतः तत्काललाई तपाईंको भवनमा जडान गरिएको एनसेल टावर यथाशीघ्र हटाउन लगाएर हाम्रो अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

कर नतिरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले  एनसेल टावरहरूमा आगजनी गर्दै आएको छ । कर नतिरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालयमा बम बिस्फोट समेत गराएको थियो ।