अनखबर पौष ११, दार्चुला । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले सत्तारूढ दलका मान्छे आफ्नो पार्टीलाई बदनाम गर्न लागिरहेको भन्दै त्यसो नगर्न चेतावानी दिएको छ ।
शैल्यशिखर नगरपालिका ९ मा सत्तारूढ दलका कार्यकर्ताले सर्वसाधारणको घर र कुन्युमा आगजनी गरेर आफ्नो पार्टीको नाम जोडेको भन्दै ने.क.पा.ले आपत्ति जनाएको छ ।
इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मणले निकालेको विज्ञप्तिमा भनिएको छ,’ केहीदिन अघि शैल्यशिखर नगरपालिका- ९ बास्केटमा सत्तारुढ पार्टीका केही ब्यक्तीहरुले नेपाल कम्युनिष्ट पार्टीको नाम जोडेर गाँउमा जनताको घर र जनताका कुन्युमाहरुमा आगो लगाएका छन् । तसर्थ, नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कुनै कारवाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको कुनै नीति नभएकोले जनताको बीचमा भ्रम छरेर हाम्रो पार्टीलाई बदनाम गराउन केही व्यक्ति सक्रिय भएको सूचना हामीसँग पार्टीमा पुगेको छ ।’
नेकपाले यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता समेत जनाएको छ ।