अनखबर
बुटवल, १२ पौष । बुटवलको सिद्देश्वरी विद्यालयको प्राङ्गणमामा आयोजना गर्ने भनेर ठूलो तामझाम गरिएको एनसेल मेलामा आएका कलाकारहरु स्टेजमै नचढी फर्केको खबर प्राप्त भएको छ ।
एनसेल प्रालिले इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवल गरी देशका विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गरेको थियो, अन्य ठाउमा बिशेष कारण देखाएर कार्यक्रम स्थगित गरेपनी बुटवलमा भने कार्यक्रमको तयारी भव्य थियो ।
तर कार्यक्रमको तयारी भैरहेकै ठाउमा झन्डै २ दर्जन सिसिक्यामेरा जोडिएको स्थलमा अघिल्लै दिन ११ गते रातिबाटै शृङ्खलाबद्द बम बिस्फोट हुन थालेपछि आयोजक त्रसित बनेको थियो । ‘शुक्रबार राती ९ बजे शक्तिशाली बम बिस्फोट भयो, त्यसपछि प्रहरीले सुचना पाउन नपाउदै अर्को साढे १० बजे फेरि पड्क्यो, त्यसपछि सुरक्षाको लागि बसेका सुरक्षागार्डहरु भागाभाग गरे, बिहान ४ बजेपनी अर्को ठूलो विस्फोटको आवाज आयो, प्रहरीले बम बिस्फोट नभएको भनेपनी त्यत्रो आवाज बमको नै हो’ स्थल नजिकै फेन्सि व्यवसाय गर्दै आएका एक स्थानीयले भने ।
त्यसपछि कार्यक्रम नगर्ने मानसिकतामा पुगेको एनसेललाई प्रदेश प्रहरिसहित सेना र सशस्त्रको टोलीले कडा सुरक्षा दिने र कार्यक्रम गर्ने निर्णय गरे । सुरक्षा सतर्कता बढाईयो, कार्यक्रम नजिक झोला र बाईकसमेत चेक गरियो, तर कार्यक्रम हलभित्र भने मान्छे छिर्नै खोजेनन, निशुल्क कार्यक्रम थियो, तर ग्राउन्डमा कोहि छिर्न नखोजेपछी एनसेलको सिम निशुल्क बाड्न थालियो, त्यसपछि कम्तीमा ४०/५० जना ग्राउन्डमा पुगे । त्यत्रो सुरक्षाबीचमा पनि जनताको उपस्थित शुन्य रहेपछि कार्यक्रम स्थगित गर्नुको विकल्प रहेन ।
कार्यक्रम १ बजे औपचारिक सुरु भयो, २ बजे नपुग्दै सबै सामान उठाईयो । कार्यक्रममा सहभागी हुन हिजो नै फ्लाइटमा आएर स्टार होटेलमा बास बसेकाहरु कार्यक्रम स्थलमा जादा पुरै स्थल खाली थियो ।
एनसेलले मेला बिहान १० बजेबाट कन्सर्टसहित साँझ ७ बजे सम्म चल्ने भन्दै प्रचार गरेपनि रातिको बिस्फोट, मौसम र बुटवलमै अर्को मेलाले कार्यक्रम प्रभावित भएको देखिन्छ ।
मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईँ, कलाकार प्रियंका कार्की लगायत कार्यक्रमको लागि पुगेर स्टेज नै नचढी फर्केका हुन ।
अघिल्लो दिनमात्र जनतामारा एनसेल भन्दै विप्लव नेकपाले विज्ञप्ति जारी गरेर कार्यक्रम नगर्नु भनेको थियो तर त्यसलाई वास्तै नगरी कार्यक्रमको तयारी गरेको एनसेलको कार्यक्रम स्थल नजिकै शक्तिशाली बमहरु बिस्फोट भएपछि आयोजना हतास र त्रसित मानसिकतामा देखिन्थे ।