अनखबर काठमाडौं, १३ पौष । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची कोशी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउप्रति आपत्ति जनाउनुभएको छ ।

ऊहाँले जनयुद्धमा गोरखा जेलब्रेककी नायिका भूजेललाई जेलहाल्न तम्सिनु इतिहासको मजाक भएको टिप्पणी गर्नु भएको छ ।
समाजिक सञ्चालमा डा. भट्टराईले लेख्नुभएको छ, ‘उहिले खड्गप्रसाद गृहमन्त्री छँदा सिंहदरबार अगाडि खुकुरीको मार खाएर जनयुद्धमा लाग्नेहरू ऐले उनै खड्गप्रसाद प्रम हुँदा उनकै गृहमन्त्री बनेर जनयुद्धमा गोरखा जेलब्रेककी नायिका उमा भूजेललाई जेलहाल्न तम्सिनु इतिहासको कत्रो मजाक !’


प्रहरीले शनिबार बिहान नेतृ उमा भुजेललाई सुनसरीबाट पक्राउ गरेको थियो। अन्तरिम व्यवस्थापिकामा सांसद्‌समेत रहेकी भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिला समूहको कमाण्डर हुनुहुन्थ्यो। भुजेलसहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो।