अनखबर बुटवल, १५ पौष । प्रदेश ५  को प्रदेशसभाको अधिवेशन माघ ५ गते सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा (१) बमोजिम आगामी माघ ५ गते आइतबार दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

भदौ २२ गते वर्षे अधिवेशन स्थगित भएको थियो ।
आगामी अधिवेशनमा प्रदेशको स्थायी राजधानी
र नामाकरणको विषय प्रवेश पाउने अपेक्षा गरिएको छ ।