अनखबर

काठमाडौं, १५ पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नक्सा नाप्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताउनुभएको छ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले भारतीय अवरोधबारे जानकारी गराउनुभएको हो । भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ।

कुटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने उहाँको भनाई थियो । मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको उल्लेख गर्नुभयो। कालापानी र लिपुलेक नेपाली नक्सामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उहाँको भनाई छ।

समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताउनुभयो । अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको रावलले बताउनुभयो । रावलले भन्नुभयो, ‘उहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ। नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नी त। नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिने।’