अनखबर कैलाली, १६ पौष ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीको बर्दगोरिया गाउँ कमिटी र घोडाघोडी नगर कमिटीले  अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  को विरोधमा प्रदर्शन गरेको छ ।

नेपालको संघीय संसदबाट एमसीसी पारित गरेर नेपालला अमेरिकी सेनाको क्रीडास्थल बनाउन खोजेको भन्दै विरोध गरेको नेपाल कम्युनिष्ट पार्टी बर्दगोरिया गाउँ कमिटी ईन्चार्ज अनमोल रावलले बताउनुभयो ।

अमेरिकी साम्राज्यवादले हिन्द- प्रशान्त रणनीति अन्तर्गत नेपाललाई हिन्द प्रशान्त सैन्य गठबन्धनमा  राखेर अमेरिकी सेनाको परेड स्थल बनाउन खोजेकाले आफ्नो पार्टीले कदापी सफल हुन नदिने रावलको भनाई  छ  ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग एनसीसी परियोजना नेपालको हितमा नभएको भन्दै विरोध गर्दै आएको छ । परियोजना राष्ट्रघाती भएको भन्दै देशव्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत बर्दगोरियामा समेत विरोध कार्यक्रम गरेको उक्त पार्टीले जनाएको छ ।