एजेन्सी, १८ पौष । इराकको राजधानी बगदादस्थित अन्तर्राष्ट्रियमा विमानस्थलमा भएको रकेट आक्रमणमा इरानी सेनाका जनरल कस्सिम सोलेमानीको मृत्यु भएको अलजजिराले जनाएको छ। सोलेमानी ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ का प्रमुख समेत हुनुहुन्थ्यो।

सुरक्षा अधिकारीहरुका अनुसार आक्रमणमा इराकी ह्यास्ड समूह पपुलर मोबिलाइजेशन फोर्सका सहायक कमान्डर अबु महदी अल मुहानदिश, विमानस्थलका प्रोटोकल अफिसर मोहम्मद रेडन लगायतको  पनि ज्यान गएको छ ।

आक्रमणको जिम्मा अमेरिकाले लिएको छ ।अमरीकी रक्षा विभागको तर्फबाट भनिएको छ ‘अमेरिकी राष्ट्रपतिको निर्देशन अनुसार विदेशमा रहेका अमेरिकी सैनिकको रक्षाका लागि सोलेमानीलाई मार्ने कदम उठाइएको हो, किनभने अमेरिकाले उनलाई अातंककारी घोषित गरेको थियो।’

अमेरिका र इराकबीच बढ्दो तनावबीच भएको यस आक्रमणले दरगामी प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुबै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ। त्यसपछि ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’लाई ‘आतंकवादी संगठन’ घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो। रकेट आक्रमणमा मृत्यु हुने सोलेमानी त्यही ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ का मेजर जनरल हुनुहुन्थ्यो।

जनरल सुलेमानीको हत्या  मध्य-पूर्व क्षेत्रको ठूलो घटना भएको भन्दै ईरान तथा तथा यसका समर्थकहरुले अमेरिकाको बिरुद्दमा जवाफी कारबाहीको जोडदार माग उठाउने आशंका  छ ।