काठमाडौं, १८ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले उम्मेदवार हरुको टुङ्गो लगाएको हो ।
छानिएका उमेद्वार मध्य प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार बन्ने भएका छन् ।
राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट बाँडेका छन्।
प्रवक्ता श्रेष्ठ प्रतिनिधि सभाको चुनावमा गोरखा क्षेत्र नं. २ मा डा.बाबुराम भट्टराइसँग पराजित हुनुभएको थियो । बामदेव गौतमको नाम भने उम्मेदवारको लिष्टमा छैन ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।