काठमाडौं, १८ पौष । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट अाउने सहयोगबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले दुतावासमा गरेको पत्रकार सम्मेलनमा आर्थिक क्षेत्रमा मात्र हुने भए सहयोग लिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो,’ नेपाल अति कम विकसित मुलुक भएकाले नेपालमा अन्तर्राष्ट्रिय लगानी र सहयोग चाहिन्छ तर त्यो सहयोग आर्थिक विषयमा मात्र केन्द्रित हुनुपर्छ,आर्थिक क्षेत्रमा मात्र हुने भए उक्त लगानी स्वागतयोग्य नै हो ।’
नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने उहाँको धारणा थियो । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले होउले भन्नुभयो, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’