रूपन्देही, २० पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देही जिल्ला समितिले संगठन विस्तार तथा सुदृढीकरण अभियानको सुरुवात गरेको छ ।
अभियानको उद्दघाटन गर्दै नेकपाका जिल्ला इन्चार्ज संगम पुनले अभियानले संगठनलाई मजबुत बनाउने र विकास गराउने बिश्वास व्यक्त गर्नुभयो । ‘संगठनको सुरुवाती अभियानकै निरन्तरतामा यो अभियान रहेको र यसले जनतामा जाने र नयाँ उर्जा मिल्ने हुँदा सबै नेता कार्यकर्ता जनताका समस्यासग जोडिनुपर्छ ।’ नेता पुनले पार्टीलाई लगाइएको प्रतिबन्ध र सरकारले अमेरिकासँग गर्न खोजेको एमसिसी सम्झौता राष्ट्रियता बिरुद्ध रहेको समेत जनतामा लैजानुपर्ने र पार्टीलाई बलियो बनाउन जनताको साथ चाहिने बताउनुभयो ।
यस्तै जिल्लाका नेता नविनले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्युनिस्टहरु जनतामा जाने, जनतासग घुलमिल हुने र जनताको समस्याका पहरेदार बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेकपाका जिल्ला नेता प्रेम भुषालले संचालन गरेका थिए । नेकपाले रुपन्देहीमा २ क्षेत्र बिभाजन गरि अभियानको सुरु गरेको नेकपाका सेक्रेटेरि समेत रहेका विजयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी पार्टीको केन्द्रिय योजनाबमोजिम नै अभियानमा जुटेका छौं ।’ पुर्वी कमाण्ड र पश्चिमी कमाण्ड नाम दिएर अभियानमा नेता कार्यकर्ताहरुलाई खटाईएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार अभियानभर नेता कार्यकर्ता परिचालन, जनदिशा लागू गर्ने, पुराना कार्यकर्ताहरुलाई भेटघाट, सहिद, बेपत्ता तथा घाईते परिवारजनलाई भेटघाट गर्ने, भेला, सम्मेलन तथा बैठकहरु गर्ने, प्रतिबन्धको प्रतिरोध तथा राष्ट्रघाती सम्झौताहरु र सरकारको गलत कदमको भन्डाफोर गर्ने, जनताका समस्याहरुसग प्रत्यक्ष जोडिने देखि पार्टीको प्रचारात्मक र संघर्षका कार्यक्रमहरु अभियानकै क्रममा रहेको नेकपा रुपन्देही स्रोतले बताएको छ ।
सो पार्टीले यसअघि पनि यस्तै प्रकृतिको अभियान चलाएको थियो, भने पार्टीलाई प्रतिबन्ध लगाएपछि पुन:अभियानको सुरुवात गरेको छ ।