एजेन्सी, २२ पौष । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य जनरल कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी बेस क्याम्प अाक्रमण गरेको छ ।

अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदैं इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ।

‘यी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्दनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छ’,  अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्तव्यमा भनेका छन्। ‘हामीले प्रारम्भिक क्षतिको अध्यन गरिरहेका छौं’, उनले भनेका छन् ।
एउटा मिसाईल ईरबिल अन्तराष्ट्रिय बिमानस्थलको परिसरमा खसेपनि बिष्फोट भने भएन । अर्को मिसाईल ३३ किलोमिटर टाढा ईरबिल शहरमा खसेको थियो ।

उनले इरानी सरकारले अमेरिकी सुरक्षाफौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए।