काठमाडौ, २३ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उपत्यका बिशेष ब्युरोले नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल’अशोक’लाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिरोध गरेको छ ।

ब्युरो ईन्चार्ज मिलनले विज्ञप्ति निकाल्दै सिलवाललाई विना सर्त रिहा गर्न माग गरेका छन् ।
ईन्चार्ज मिलनले विज्ञप्तिमा भनेका छन्, बिश्वका ठूला ठूला तानशाहहरु जनताको शक्तिसँग धुलो चाटेको स्मरण गराउँदै राज्यको यसप्रकारको षडयन्त्रको गतिविधिलाई तत्काल नरोके त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं केपी सरकार हुनेछ ।’
सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिएका छन् ।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अारोप सेक्रेटरी सिलवालमाथि लगाएको छ ।