दाङ, २३ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन युवा संगठन नेपालका दाङ जिल्ला सदस्य अर्जुन शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तुलसीपुर–५ रानीजरुवा निबासी शाहीलाई शान्तिनगर गाउँपालिका–४ भलानेटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटेको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका–४ भलानेटीमा शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि पश्चिम दाङमा एनसिएल टावरमा आगजनी र २०७४ मंसिर १२ गते तुलसीपुरमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान जानेगरी भएको भएको बम विस्फोटको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले बताएकाे छ ।