अनखबर डेस्क, २६ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माथिल्लो-कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा बम आक्रमण गरेको छ।
शुक्रबार साँझ कार्यालयमा आक्रमण भएको हो। अछामको तुर्माखाद गाउँपालिकाबाट गएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दैलेखको आठबिस नगरपालिका-२ मा रहेको कार्यालयमा वम प्रहार गरेका हुन्।
ने.क.पाका अछाम जिल्ला सेक्रेटरी भरत मल्लले घटना आफ्नो तर्फबाट भएको बताएका छन्। उनले आयोजना राष्ट्रकाे हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन्। घटनाबारे अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारतीले जानकारी आएको र घटनाबारे थप साेधिखाेजी भएकाे बताएका छन्।
चार जिल्लामा एनसेल टावरमा आगजनी
स्याङ्जामा एनसेलको टावरमा आक्रमण भएको छ । गल्याङ नगरपालिका अन्तर्गत तुलसीभङ्ज्याङमा रहेको टावरमा गएराती आक्रमण भएको हो।
अपरिचित समूहले गरेको आक्रमण टावर ध्वस्त भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
कास्की पोखराको मास्टन र रेयालेमा रहेको दुईवटा टावरमा आगजनी भएको छ । अगजनीबाट टावरमा क्षति पुगेको छ । आगजनीको जिम्मा कसैले लिएको छैन ।
यस्तै म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए।
आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीको अनुमान छ। आगजनीपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
धादिङको निलकण्ठ नगरपालिका दरबारकोटमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ